ad ad

छापा खबर


नेकपा विवादमा कांग्रेसको प्रवेश, प्रचण्ड-नेपाल र पौडेलबीच भेट

नेकपा विवादमा कांग्रेसको प्रवेश, प्रचण्ड-नेपाल र पौडेलबीच भेट

नेपालखबर
पुस ३, २०७७ शुक्रबार २३:२५,

सत्तारुढ दल नेकपाको आन्तरिक विवादमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको समूहगत चासो प्रवेश गरेको छ।

नेकपाका दुई समूहले कांग्रेसका दुवै समूहसँग संवाद गरेका खबर नयाँ पत्रिकाले छापेको छ।

शुक्रबार नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । नेकपाभित्रको विवाद दिनदिनै जटिल बन्दै गएको तथा प्रधानमन्त्री केपी ओलीले थप कदम चाल्न सक्ने आशंकाबीच नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले कांग्रेसका वरिष्ठ नेता पौडेलसँग संवाद गरेका हुन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको पार्टीको स्थायी कमिटी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँगको सल्लाहमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दाबी गरेका थिए ।

देउवाको भूमिकालाई लिएर नेकपा अध्यक्ष र वरिष्ठ नेता नेपाल सशंकित भएकै वेला शुक्रबार पौडेलसँग संवाद भएको हो । नेकपा प्रवक्ता श्रेष्ठले नेकपाको आन्तरिक राजनीतिलाई लिएर प्रधानमन्त्रीले अध्यादेश ल्याएजस्तै थप अलोकतान्त्रिक र गैरसंवैधानिक कदम चाल्न सक्ने सम्भावनालाई ध्यान दिएर संविधान र लोकतन्त्रका पक्षधरको सहकार्यबारे छलफल भएको बताए।

‘हाम्रो पार्टीमा अहिले देखिएको विवादलाई लिएर प्रधानमन्त्रीबाटै अलोकतान्त्रिक र गैरसंवैधानिक कदम चाल्ने खतरा पनि देखिएको छ । यस्तो कदम चाल्न दिनुहुँदैन भनेर हिजो लोकतन्त्रका लागि लडेकाहरूबीच संविधान र लोकतन्त्रको रक्षाका लागि सहकार्य गर्नुपर्छ भन्नेमा छलफल भएको हो । नयाँ समीकरण र सरकारबारे छलफल भएको होइन,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

तर, पौडेलनिकट स्रोतले एक घन्टा लामो संवादमा सम्भावित समीकरणको विषयमा समेत छलफल भएको थियो । भेटमा प्रचण्ड–नेपालले प्रधानमन्त्री ओलीले हठात् अध्यादेश ल्याएर संवैधानिक परिषद् बैठक बोलाउनुको पछि कांग्रेस सभापति देउवाको भूमिकामाथि प्रश्न उठाएको पौडेलनिकट स्रोतले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .