ad ad

छापा खबर


ओलाङचुङसँग यसरी जोडिँदैछ चीनकाे सिगात्से

ओलाङचुङसँग यसरी जोडिँदैछ चीनकाे सिगात्से

नेपालखबर
साउन १६, २०७६ बिहिबार ३:५६,

उत्तरी छिमेकी देश चीनको प्रमुख व्यापारिक केन्द्र सिगात्सेसँग ताप्लेजुङको ओलाङचुङगोला नाका सडक सञ्जालले जोडिने भएको छ।

ताप्लेजुङको फुङलिङ नगरपालिका ६ सुकेटारबाट विस्तार भइरहेको उत्तर–दक्षिण लोकमार्गको रानीपुल–ओलाङचुङगोला खण्ड निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभीले सडकको ट्र्याक खोल्ने कार्यलाई गोला र लेलेप दुवै खण्डबाट अघि बढाउन ऐतिहासिक सहमति जुटाएको छ।

अहिले लेलपको लुङथुङसम्म ट्र्याक खुलेको छ। यो खबर आजको नागरिक देनिकमा ताप्लेजुङबाट खगेन्द्र अधिकारीले लेखेका छन्।

‘अब दुवैतर्फबाट ट्र्याक खोल्ने कार्य अघि बढ्ने छ’, एसडी एलाइट जेभी निर्माण कम्पनीका मुख्य प्रतिनिधि पेम्बा शेर्पाले भने।

लुङथुङबाट गोलासम्मको करिब २२ किलोमिटर ट्र्याक खोज्न बाँकी छ। सुकेटारबाट–ओलाङचुङगोला ९२ किलोमिटरमध्ये ७० किलोमिटरको ट्र्याक खुलिसकेको छ। यो सडकखण्डको नियमन गर्ने सडक योजना कार्यालयका डिभिजनल इन्जिनियर रामबहादुर गुरुङले गोला र लेलेप दुवैतर्फबाट ट्र्याक खोल्ने निश्चित भएकाले अब पूर्वको समृद्धिको ढोका खुल्न लागेको जानकारी दिए।

उनका अनुसार गोलाबाट लुङथुङतर्फ १० किलोमिटर र लुङथुङबाट गोलातर्फ १२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम अघि बढाउने गरी योजना तयार भएको छ।

‘गोलाबाट लुङथुङतर्फको सडकको ट्र्याक खोल्न चीनको स्वशासित क्षेत्र तिब्बतको रिउ बजारस्थित तिउकान्टीका स्थानीयसँग भएका निर्माण उपकरण प्रयोग गरिनेछ। त्यसका लागि रिउ प्रशासनको संयोजनमा तिउकान्टीका स्थानीयसँग समझदारी बनिसकेको छ’, इन्जिनियर गुरुङले भने।

सात महिनामै नेपाल–तिब्बत सीमानाका टिपतालाबाट करिब २५ किलोमिटर दूरीमा रहेको ओलाङचुङगोलासम्मको ट्र्याक खोलेर ख्याति कमाएका तिउकान्टीका स्थानीय निर्माण व्यवसायीलाई नै गोलाबाट लुङथुङतर्फको ट्र्याक खोल्न जिम्मा दिइएको छ।

टिपतालाबाट तिब्बती बजार रिउसम्मको ८ किलोमिटर सडक तिब्बतले बनाइसकेको छ। टिपताला–गोला सडकखण्डको करिब २५ किलोमिटर दूरीमा पनि ट्र्याक खुलिसकेको छ।

लुङथुङबाट गोलासम्म सडक सञ्जाल जोडिनेबित्तिकै नेपाली भूमिबाट सबैभन्दा छोटो दूरीमै दक्षिण एसियाकै प्रमुख व्यापरिक सहर सिगात्सेसँग व्यावसायिक सम्बन्ध स्थापित हुने फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङ बताउँछन्। उनका अनुसार सिगात्से रिउ बजारबाट ६५ किलोमिटर टाढा पर्छ।

रिउको अञ्चल प्रशासनिक एकाइ नै सिगात्से हो, जसलाई तिब्बतीले तोन्छी भन्छन्। यस्तो अवस्थामा सिगात्सेबाट रिउ ६५ किमि, रिउबाट टिपताला ८ किमि, टिपतालाबाट गोला २५ किमि र गोलाबाट ताप्लेजुङ ९२ किमि गरी जम्मा १ सय ९० किमि दूरी पर्छ।

ताप्लेजुङबाट विराटनगरसम्मको दूरी १ सय १४ किलोमिटर छ। यो मदन भण्डारी मार्ग नाम दिइएको बहानन्दे–दोभान–साँघु–गुफा–वसन्तपुर–हिले–धनकुटा हुँदै जाने रुट हो।

विराटनगर–धरान–मूलघाट हुँदै दोभानसम्म पुग्ने तमोर करिडोरको बाटो योभन्दा छोटो पर्छ। तमोर करिडोरमार्फत सिगात्से पुग्न ३ सय ३१ किलोमिटर र मदन भण्डारी मार्ग हुँदै सिगात्से पुग्न ३ सय ७७ किलोमिटर दूरी छिचोल्नुपर्नेछ। अहिले दुवै सडक सरकारको उच्च प्राथमिकतामा परेर निर्माण भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .