जीवनस्तर सुधार हुने सम्बन्धमा नेपाली महिलाभन्दा पुरुष बढी आशावादी देखिएका छन्।
१५ देखि ४९ वर्ष उमेर समूहका साढे ५२ प्रतिशत पुरुषले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तर हुने अपेक्षा गरेको देखिएको छ। सोही उमेर समूहका ४५.४ प्रतिशत महिलाले मात्रै यस्तो अपेक्षा गरेका खबर आजको गोरखापत्र दैनिकले छापेको छ।
केन्द्रीय तथ्याङ्क विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वे क्षण २०७५/७६ प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको छ।
त्यसैगरी १५–२४ वर्ष उमेर समूहका युवती ५०.१ प्रतिशत र युवक ५६.४ प्रतिशतले पनि गत वर्षभन्दा आगामी वर्ष अझ राम्रो जीवनस्तर हुने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै १५–४९ वर्ष उमेर समूहका ६२.४ प्रतिशत महिला र सोही उमेरका पुरुष ६४.७ प्रतिशतले आफू खुसी रहेको बताएका छन्। त्यसै गरी १५ देखि २४ वर्ष समूहका महिला ६८ प्रतिशत र पुरुष ६९.६ प्रतिशत खुसी देखिएका छन्।
सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रयोगमा पनि महिलाको तुलनामा पुरुष अगाडि देखिएका छन्। १५–४९ वर्ष उमेर समूहका ४५.१ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ भने महिलाको सङ्ख्या ६.१ प्रतिशत मात्रै छ। १५ वर्षअघि नै चुरोट खाने पुरुष ५.५ प्रतिशत छन् भने महिला २.२ प्रतिशत छन्।
नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीय स्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचक उपलव्ध गराउने उद्देश्यले यो सर्वेक्षण गरिएको हो। यो यसप्रकारको तेस्रो सर्वेक्षण हो।
प्रतिक्रिया