ad ad

छापा खबर


१४ औं महाधिवेशन : सिटौला, निधि, शशांक र थापाले अघि सारे यस्तो प्रस्ताव

१४ औं महाधिवेशन : सिटौला, निधि, शशांक र थापाले अघि सारे यस्तो प्रस्ताव

नेपालखबर
भदौ २०, २०७७ शनिबार १:५४,

कोरोनाका कारण पछिल्लो पटक संशोधित कार्यतालिकामा पनि महाधिवेशन नहुने अवस्था बन्दै गएपछि कांग्रेस वृत्तमा महाधिवेशनलाई विकेन्द्रीकरण गर्न आवाज उठ्न थालेको छ।

कांग्रेसले कोरोनाकै कारण केन्द्रको महाधिवेशन मितिबाहेकका तल्ला तहका अधिवेशनको कार्यतालिकालाई दुई पटक संशोधन गरिसकेको छ।

पछिल्लो पटक संशोधन गरेको तालिकासमेत कोरोनाकै कारण प्रभावित भएपछि महाधिवेशनलाई विकेन्द्रीकरण गरेर भए पनि गरिनुपर्ने विकल्पको आवाज उठ्न थालेको हो।

कांग्रेसको विधानतः गत वर्षको फागुनमै निर्वाचित केन्द्रीय समितिको म्याद सकिएको थियो । तर, विधानअनुसार सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेका थिए । थप समयसमेत आगामी फागुनमा सकिँदै छ।

यस अवधिमा समेत महाधिवेशन हुने अवस्था नभएपछि कांग्रेसका वर्तमान पदाधिकारीसहित पूर्वपदाधिकारीले महाधिवेशन गर्ने तरिका बदल्नुपर्ने भन्दै विकल्प अघि सारेका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

यस्तो विकल्पसहितको प्रस्ताव अघि सार्नेमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र युवा नेता गगन थापा छन्।

उनीहरूले एक भर्चुअल कार्यक्रमको छलफलमार्फत संघीय संरचनाअनुसार वा जिल्ला तहमै महाधिवेशनका लागि मतदान गर्न सकिने गरी निजी प्रस्ताव अघि सारेका हुन्।

सिटौलाले अब फागुनमा महाधिवेशन हुने सम्भावना आफूले नदेखेको र कोरोनाकै कारण महाधिवेशन नगर्ने हो भने अझै तीन–चार वर्ष महाधिवेशन गर्न नसकिने भन्दै तरिका बदलेर भए पनि महाधिवेशन गरिनुपर्ने बताए ।

‘कोरोनाकै कारण महाधिवेशन नगर्ने हो भने अझै तीन चार वर्ष महाधिवेशन हुँदैन त्यसले निर्वाचनमा असर गर्छ, अब पुरानै तरिकाबाट नभए तरिका बदलेर भए पनि महाधिवेशन गर्नुपर्छ,’ सिटौलाले भने।

संविधानअनुसार अझै पनि केन्द्रीय समितिको म्याद ६ महिना थप्न सकिने भन्दै निधिले त्यसरी अघि बढ्दा थपिएको समयभित्र पनि महाधिवेशन हुन नसके पार्टीका लागि वैधानिक प्रश्न आउने धारणा भर्चुअल छलफलमा राखेका थिए ।

महामन्त्री डा.शशांक कोइरालाले महाधिवेशन गर्न ढिलाइ भए आगामी निर्वाचनमा पार्टीलाई फेरि पनि क्षति पुग्ने बताए । उनले फागुनमा सम्भव नभए चैतसम्ममा भए पनि महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।

महामन्त्री कोइरालाले समेत सो समयभित्र महाधिवेशन नहुने स्थिति आए विकेन्द्रीकृत रूपमा महाधिवेशनमा जानुपर्ने बताए ।

‘फागुनमा सम्भव नभए चैतसम्ममा महाधिवेशन गर्न सकिन्छ, त्यो समयमा पनि नसकिने हो भने विकेन्द्रीकृत प्रणालीबाट निर्वाचन गराउन सकिन्छ, हामीसँग त्यो विकल्प पनि छ,’ महामन्त्री कोइरालाले संवादमा भने ।

युवा नेता थापाले महाधिवेशनको तरिका बदलेर केन्द्रमा हुने अधिवेशन वडावडामा गर्न सकिने धारणा राखे । उनले कोरोनाको अवस्था जस्तो भए पनि यही तरिकाबाट अघि बढ्दा वैशाख–जेठसम्म पनि महाधिवेशन नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .