ad ad

छापा खबर


राजधानीमा भीड बढ्यो, अब जोगिने कसरी?

राजधानीमा भीड बढ्यो, अब जोगिने कसरी?

नेपालखबर
असार ४, २०७७ बिहिबार ०:४६,

राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ?जताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ।

अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ। यससँगै चुनौती थपिएको छ– अब जोगिने कसरी? यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन्।

संक्रमणको जुन उचाइमा लकडाउन गरिनुपथ्र्यो, खोल्नुपर्ने बाध्यता आयो। जति बेला खोल्दा पनि फरक पर्दैनथ्यो, पूर्ण लकडाउन गरियो। अर्थात्, जोखिमपूर्ण समयमा बजार खचाखच हुँदै गएका छन्। तर, सर्वसाधारणमा त्यसको कुनै परवाह नभएको आभास हुन्छ।

इन्द्रचोकका व्यापारी हरि श्रेष्ठ बुधबार ग्राहक कुरिरहेका थिए। किनमेल गर्ने कम भए पनि ओहोरदोहोर गर्ने टन्नै देखिन्थे। साँघुरो गल्लीमा आपसमा ठोक्किँदै बढिरहेका थिए। ‘हाम्रो ठाउँ नै साँघुरो छ’, उनले भने, ‘बाटो पनि सानो छ। हामीलाई दूरी कायम गर्न एकदम मुस्किल छ। पसलमा किनमेल गर्न आउनेहरू पनि सचेत भइदिए कम जोखिम हुन्थ्यो।’

असन, इन्द्रचोक, न्युरोडलगायत ठाउँमा पुरानै अवस्थाजस्तो मानिसको चाप देखिन थालेको छ। सरकारले असार १ गतेदेखि लकडाउन केही खुकुलोे बनाएसँगै उपत्यकाका प्रायः पसल खुल्न थालेका छन्।

केही दिनयता असनका कपडा, भाँडाकुँडा, गहना, खुद्रालगायत सबै पसल खुलेका छन्। कामदार पनि आउन थालेका छन्। भारी बोक्ने मजदुर पनि पसलका सामान ओसार्ने कामको खोजीमा हिँडिरहेका देखिए।

सडकमा हिँड्नेको चाप पनि बढेको देखियो। किनमेलमा आउनेभन्दा हिँडडुल गर्ने धेरै भएको पसले बताउँछन्। ‘चहलपहल त बढ्यो’, व्यापारी सोमनाथ तिवारीले भने, ‘तर, किनमेल गर्ने कम छन्। अन्य हिँडडुल गर्नेकै भीडभाड छ।’

अधिकांशले मास्क नलगाएको, दूरी कायम नगरेको देख्दा लाग्थ्यो– अब कोरोनाले केही गर्दैन। कोही सहजै पसलमा भित्र छिरेर दूरी कायम नगरी सामान सोधखोज गरिरहेका थिए। केही साथीहरूसँग पुरानै अवस्थामा जस्तो अँगालो हालेर हिँडिरहेका थिए।

अधिकांश पसले पनि असुरक्षित अवस्थामा थिए। ग्राहकलाई निश्चित दूरीमा राख्ने व्यवस्था छैन। पसलेले पनि मास्कलगायत सुरक्षाका उपाय अपनाएको देखिएन।

बढ्दो असुरक्षित भीडलाई जनस्वास्थ्यविद्ले चिन्ताका रूपमा लिएका छन्। राजधानीका साँघुरा ठाउँमा धेरै भीडभाड हुनु जोखिमपूर्ण भएको जनस्वाथ्यविद् डा। समीरमणि दीक्षितले बताए। उनका अनुसार यस्ता ठाउँमा दूरी र मास्कको एकदम जरुरी हुन्छ।

लकडाउन खुकुलिएको त हो। तर, स्वास्थ्य सुरक्षा आफ्नै लागि हो। त्यसलाई वास्ता नगरी हिँड्दा ठूलो समूहलाई संक्रमणको जोखिम हुने डा। दीक्षितको सुझाव छ। ‘लकडाउन खुलाउनै पर्ने थियो। ठीकै हो’, उनले भने, ‘तर, मास्क नलगाई हिँड्नु, दूरी कायम नगर्नु नागरिकको गैरजिम्मेवारीपन हो। यस्तो व्यवहारले सबैलाई असुरक्षित बनाउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .