ad ad

छापा खबर


लडकडाउनकाबीच विकास निर्माणका आयोजनामा प्रगति

लडकडाउनकाबीच विकास निर्माणका आयोजनामा प्रगति

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ०:४८,

कोभिडको त्रास र जनशक्तिको अभावबीच विकास आयोजनाको काम अघि बढेको छ । मन्त्रालयहरूले आयोजनालाई र आयोजनाले ठेकेदारहरूलाई काम अघि बढाउन निर्देशन दिएपछि औसतमा ३० प्रतिशत मजदुर काममा फर्किएका छन् ।

लकडाउन खुकुलो हुँदै जाँदा आयोजनाले गति लिने सरकारी अधिकारीहरूले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन्।

लकडाउनले रोकिएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण पुनः सुचारु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको सूचीमा रहेको नौ सय ४६ किलोमिटर लामो यस आयोजनाको बर्दिबास–निजगढ (७० किमि) खण्डमा पुनर्निर्माण थालिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

अहिले यस खण्डमा पर्ने पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ । ‘धेरै मेसिनको प्रयोग हुने र थोरै जनशक्तिबाट पनि काम हुने भएकाले यस खण्डमा पर्ने १६ वटा पुल निर्माण पनि तीव्र गतिमा भइरहेको छ,’ उनले भने।

राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा पनि ठाउँठाउँमा काम भइरहेको आयोजनाका निर्देशक रोहितकुमार बिसुरालले जानकारी दिए । उनका अनुसार लकडाउन सुरु हुनुअघि करिब दुई हजार मजदुर कार्यरत थिए । तर, अहिले पूर्वदेखि पश्चिमसम्म करिब पाँच सयजना मात्र काममा छन् । ‘लकडाउनको यो वेला सामान्य अवस्थामा हुने कामको ३० प्रतिशत मात्र भइरहेको छ,’ बिसुरालले भने।

लकडाउनअघि मध्यपहाडी राजमार्ग आयोजनाको एक सय ३८ ठेक्कामा काम भइरहेको थियो । प्रत्येक ठेक्कामा ७० देखि ८० जना कामदार कार्यरत थिए । अहिले त्यो संख्या आधा मात्र छ । केही निर्माण कम्पनीले कामदारलाई लकडाउनलगत्तै घर पठाएकाले पनि कामदारको अभाव छ । काम पूर्ण क्षमतामा हुन सकेको छैन ।

‘सानोतिनो काम त भइरहेको छ,’ प्रमुख दीपक केसीले भने, ‘ठूलो स्केलमा गर्न सकिएको छैन ।’ जलविद्युत् वा विमानस्थलको जस्तो एकै ठाउँमा रहेर काम गर्न नसकिने भएकाले सडकमा काम गर्न कठिन भएको केसीको बुझाइ छ।

त्यसैगरी मेलम्ची खानेपानी आयोजना, उत्तर–दक्षिण जोड्ने कोसी, कालीगण्डकी र कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग आयोजना लगायतका विकास निर्माणका आयोजनाको काम पनि धमाधम भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .