ad ad

छापा खबर


एम्बुलेन्स चालकको पीडा : पानी किन्छु भन्दा पनि पसलेले दिँदैनन्

एम्बुलेन्स चालकको पीडा : पानी किन्छु भन्दा पनि पसलेले दिँदैनन्

नेपालखबर
जेठ २४, २०७७ शनिबार १:२९,

‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्या‍‍उँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो।

लकडाउनमा जनकपुरबाट बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्स चालकले खानाको त कुरै छाडौं, पानी समेत किनेर खान नपाएको चालक मन्सुर राईनले बताए।

‘बाटोमा अन्य सवारी साधनका चालकले खाना खाइरहेका हुन्छन्। एम्बुलेन्स चालक भनेपछि एम्बुलेन्स रोक्न समेत दिँदैनन्’, राईनले भने, ‘खानाका लागि कि त घरबाट टिफिन वा चाउचाउ बिस्कुट, दालमोठ, भुजिया बोकेर हिँड्नुपर्छ। बाटामा खुलेका पसलले एम्बुलेन्स रोक्ने बित्तिकै छिः छि दुरःदुर गर्छन्।’

रात्रिकालिन सुनसान राजमार्गमा एम्बुलेन्स चालकले किराना पसलमा पानी माग्दा नपाएको गुनासो उनले सुनाए। साहुँजी दुई बोत्तल पानी दिनुस न। पसलेले पानी दिँदैनन्। पुनः एम्बुलेन्स चालक भन्छन्, प्लिज पानी दिनुस न। पसलेले भित्रैबाट पानीको बोत्तल फालिदिन्छन्। यस्ता दृश्य आफूहरुले भोगिरहेको राईनले जानकारी दिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा जनकपुरबाट गोविन्द महतोले लेखेका छन्।

उनले भने, ‘दिन–रात, गर्मी–जाडो, हावाहुरी नभनी बाह्रै मास सेवाका लागि फोनको घण्टीसँगै तुरुन्त सेवामा हाजिर हुने हाम्रो चरित्र हो, तर छरछिमेकी तथा इष्टमित्रबाट समेत अपहेलित र अपमानित हुनुपरेको छ।’

विगत पाँचवर्षदेखि एम्बुलेन्स चलाउँदै आएका जनकपुरका विमलेश चौधरीले समयमा खाना, पानी र सुत्न नपाए पनि कोरोनाबाट लड्न सुरक्षित उपकरण नहुँदा भयभित रहेको बताए। उनले भने, ‘हामी बिरामीको सेवाका लागि हरपल तयार छौं, तर आवश्यक पूर्वाधार तथा अस्पतालले बिरामीलाई भर्ना नलिँदा साह्रै पीडा हुन्छ।’

एम्बुलेन्स चालक दिनरात बिरामीसँग सम्पर्कमा बस्नु परे पनि राज्यले आफूहरूका लागि सुरक्षाका सामग्री समेत उपलब्ध नगराएको गुनासो गर्छन चौधरी। उनले भने, ‘हामीलाई एम्बुलेन्स मालिकदेखि सरकारसम्म कसैले हेरेन, सामान्य ज्वारो, रुघा खोकीको बिरामीलाई समेत अस्पतालले भर्ना नलिँदा अस्पतालै अस्पताल धाउनुपर्ने समस्याबाट गुज्रिनु परेको छ।’

चिकित्सकले एम्बुलेन्स चालकलाई घरपरिवार भन्दा टाढा बस्न सुझाए पछि आफूहरू अझ बढी संकटमा फसेको चालक रामबाबु महतो बताउँछन्।

उनले भने, ‘सधै बिरामी बोक्नुपर्छ, कस्ता–कस्ता बिरामी हुन्छ, कोरोना संक्रमण हामीमा समेत फैलिन सक्छ, तर यही संक्रमण लिएर श्रीमती छोरा–छोरीलाई रोग सार्न कसरी जानु? जीवनको जोखिम उठाएर खाली हतियार हतिदिन लडाई लडनु!’

‘महामारीका बेलाहामी घरमा थन्किन चाहँदैनौं, जनकपुरको बाह्रविघामा भेटिएका एम्बुलेन्स चालक प्रेमकुमार साहले भने, ‘तर हाम्रो सेफ्टी भएन, चालकलाई सुरक्षित नगराउँदा बिरामी झनै जोखिममा छ।’

यो अवस्था एम्बुलेन्स चालकलाई मात्र होइन। अग्रस्थानमा रहेर काम गरिरहेका एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले समेत भोगिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .