ad ad

छापा खबर


‘कोरोनाको भयबाट मुक्त हुन आधिकारिक सूचना पछ्याउँ’

‘कोरोनाको भयबाट मुक्त हुन आधिकारिक सूचना पछ्याउँ’

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार २:२३,

संसार नै यतिबेला कोरोना भाइरस (कोभिड-१९) को सन्त्रासमा छ। नेपालमा पनि केही व्यक्तिमा सङ्क्रमण देखिएपछि यतिबेला देश बन्दाबन्दीमा छ।

बन्दाबन्दीका कारण बाहिर हिँड्डुल गर्न नपाएका बेला रोग सङ्क्रमणको डर पनि मानिसको मनमा छ । मनोविज्ञान अध्येताका अनुसार हरेक मानिसमा डर हुनु स्वाभाविक हो, अझ असुरक्षाका बेला डर हुनु आवश्यक पनि हो।

मनोविश्लेषक वासु आचार्य आगलागी भइरहेको बेला, बाघ आइरहेको बेला, हमला भइरहेको बेला डराउनुपर्छ। मानिसको मनमा डर हुनु आवश्यक छ किनभने डर भएपछि मात्र सुरक्षाको उपाय अपनाउन सकिने उनी बताउँछन्।

डरको मात्रा बढ्न थाल्यो र डरले नै व्यक्तिको दिनचर्या प्रभावित पार्न थालेको अवस्था भने राम्रो होइन। यो खबर आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेकी छन्।

उनका अनुसार डर स्थायी हुन थाल्यो र सहनै नसक्ने भएमा मनोरोग भएको आभाष हुन थाल्छ । विशेष गरी महामारी जस्ता भौतिक, शारीरिक असुरक्षाको स्थितिमा मानिसको मनमा भएको डर व्यवस्थापन गर्नु जरुरी हुन्छ।

मनमा रोग लाग्ला भन्ने डर भइहाल्ने, केही छोइहालेमा रोग लागिहाल्यो कि? भन्ने पीर भइरहने, शरीरमा सानो बिसञ्चो भए पनि सङ्क्रमणको आशङ्काले चिन्ता सिर्जना गर्ने जस्ता लक्षण बेलैमा चिनेर व्यवस्थापन गर्नु जरुरी रहेको मनोविश्लेषक आचार्यको सुझाव छ।

रोगको महामारीको बेला हुने यस्ता डर र चिन्ता हटाउन व्यक्ति स्वयंले प्रयास गर्नुपर्ने उनको सुझाव छ। रोग लाग्ने डरले हुने चिन्ता र बेचैनीबाट बच्न सबैभन्दा ठूलो उपाय सुरक्षाको उचित व्यवस्था रहेको आचार्यको भनाइ छ।

उनले रोग लाग्नबाट बच्न सुरक्षा सावधानी अपनाइएको अवस्थामा मनको डर कम हुने स्पष्ट पारे। कोरोना भाइरस र यसको डरबाट बच्न साबुन पानीले पटकपटक हात धुने, घरका सरसामान सफा राख्ने, मास्क, पञ्जा जस्ता सुरक्षा सामग्री प्रयोग गर्नुपर्छ।

कोरोना रोग बारेको आधिकारिक स्रोतबाट आएका सूचना तथा विश्वसनीय सञ्चार माध्यमका समाचार मात्र पछ्याउन विज्ञ सुझाउँछन्। उनीहरूका अनुसार अफवाहबाट बच्न सकेमा पनि धेरै हदसम्म मनको डर र चिन्ताबाट टाढा रहन सकिन्छ।

हतोत्साही हुने, चिन्ता लाग्ने, चिड्चिडाहट हुने जस्ता समस्या हटाउन परिवारका सदस्यसँग निकट रूपमा सञ्चार गर्नु पनि आवश्यक रहेको मनोविश्लेषक आचार्य बताउँछन्।

परिवारमा एकापसमा खुसी हुने र खुसी राख्ने प्रयास गर्दा सकारात्मक वातावरण सिर्जना हुने उनको भनाइ छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीको बेला हुन सक्ने मनोसामाजिक स्वास्थ्यका लागि ध्यान दिनुपर्ने कुराको सूची तयार पारेको छ।

जसमा भय र चिन्ता उत्पन्न गराउने खालका कोरोना भाइरस सम्बन्धी समाचार सुन्न, हेर्न र पढ्न कम गर्न सुझाव दिइएको छ । दिनको कुनै निश्चित समयमा मात्र सूचना लिने बानी बसाल्नु उपयोगी हुने सुझाव दिइएको छ।

नेपालको सन्दर्भमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रकार सम्मेलन, मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट प्रसारित प्रकाशित सूचना आधिकारिक मान्न सकिन्छ।

त्यस्तै डब्लूएचओको वेबसाइटका सूचनालाई पनि पछ्याउन सकिन्छ । अफवाह र गलत सूचनाबाट बच्नु रोगबाट बच्नु जत्तिकै महत्त्वपूर्ण रहेको कुरा डब्लूएचओको सूचनाले पनि जनाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .