ad ad

छापा खबर


बाजुराकाे एउटा सिंगै गाउँ रुघाखोकीको चपेटामा, कोरोना हो कि भन्ने त्रासमा स्थानीय

बाजुराकाे एउटा सिंगै गाउँ रुघाखोकीको चपेटामा, कोरोना हो कि भन्ने त्रासमा स्थानीय

नेपालखबर
चैत १९, २०७६ बुधबार १:३४,

बाजुराका खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ।

सातादिनअघिदेखि फैलिएको रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्।

हरेक घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोकोका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए। यो खबर आजको नागरिक दैनिकमा बाजुराबाट कृष्ण ओलीले लेखेका छन्।

सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिँगटा लाग्ने, खानमन नलाग्ने र शरीर थकित हुनेजस्ता लक्षण देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए। परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छोडेका छन्।

कोरोना संक्रमण हो कि भन्ने त्रास गाउँलेमा छ। गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले भने मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए।

बिरामीमध्ये अधिकांशको अवस्था सामान्य भए पनि केहीलाई गाह्रो भएको छ। साँझको समयमा बढी गाह्रो हुने गरेको बिरामी सुन्तला मिजारले बताइन्।

गाउँ नै रुघाखोकीको संक्रमणले थलापरेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर आधारभूत स्वास्थ्य एकाइ सञ्चालन गरेको छ। एकाइ सञ्चालन गर्ने निर्णय केही पहिले नै भए पनि सञ्चालनमा ढिलाइ भएको थियो।

स्थानीय उपचारका लागि छिमेकी बुढीगंगा नगरपालिकाका निजी मेडिकल र टाँटे स्वास्थ्यचौकीमा जाने गरेका थिए। लकडाउनले हिँडडुल रोकिएपछि स्वास्थ्य एकाइ स्थापना गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए। एकाइमा अहेब भगत धामी र अनमी ईश्वरी रावतले सेवा उपलब्ध गराउनेछन्।

गाउँको स्वास्थ्यसमस्याबारे गाउँपालिकाले अन्य निकायलाई भने खबर गरेको छैन। यसबारे कुनै जानकारी नआएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। पन्तले तत्काल जानकारी लिएर रोग नियन्त्रणका लागि पहल गर्ने बताए।

गाउँपालिकाले बाह्रबीस बेतालमाडौंको बाटोहुँदै भारतबाट आउनेहरु सहजै गाउँपालिका प्रवेश गर्न थालेपछि निगरानी र सुरक्षाका लागि हेल्थ डेक्स सञ्चालन गरेको र बाहिरबाट कसैलाई पनि प्रवेशमा पूर्ण रोक लगाइएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .