ad ad

छापा खबर


कस्तो रहला अब प्रधानमन्त्री ओलीको दिनचर्या?

कस्तो रहला अब प्रधानमन्त्री ओलीको दिनचर्या?

नेपालखबर
चैत १, २०७६ शनिबार १:१७,

त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा प्रधानमन्त्री केपी ओलीले हरियो ज्याकेट पहिरे। कटराइजको पाइन्ट लगाए। कालो टोपी मिलाए। डिस्चार्ज भई निस्कँदा उज्यालो मुहारमा शुभेच्छुकप्रति हात उठाए। र भने, ‘धन्यवाद!’

६९ वर्षको उमेरमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट सरकारी निवास बालुवाटार फर्केका छन्।

उनी फागुन १९ गते अस्पताल भर्ना भएका थिए। उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बुवा मोहनप्रसादले स्वागत गरेका थिए। बालुवाटारमा दैनिक काम गर्न सकिने र संक्रमणबाट जोगिन सक्ने गरी कक्ष निर्माण गरिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार भएपछि बिहीबार हिँडडुल र नियमित व्यायाम गरेका थिए। ‘दाह्री आफैंले काट्नुभएको थियो’, थापाले भने।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहका अनुसार डिस्चार्जपछि पनि समयसमयमा फलोअपमा रहनुपर्ने हुन्छ। बालुवाटारमा चिकित्सकको नियमित निगरानी रहनेछ। ‘उहाँले सतर्कतासाथ नियमित काम गर्न सक्नुहुनेछ’, डा. शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

डा.शाहका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौलाले राम्रोसँग काम गर्न थालिसकेकाले समस्या हुने सम्भावना न्यून छ। संक्रमणबाट जोगिने चुनौती छ। एक महिनासँग क्लोजली फलोअप गर्नुपर्ने हुन्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। संक्रमण भएका व्यक्तिसँग धेरै नजिक बस्नु हुँदैन।

प्रधानमन्त्री ओलीको आत्मबल बलियो छ। दिनचर्या भने अनुशासित हुँदैन। उनी मध्यरातसम्म काम गर्छन्। संक्रमणको डर नमानी सार्वजनिक कार्यक्रममा पुग्छन्। एक चिकित्सक भन्छन्, ‘त्यही बानीले गर्दा परिवारबाट पनि केही दिन अस्पतालमै राखेर स्वास्थ्य लाभ गर्न आग्रह भएको थियो।’

निजी चिकित्सक डा. शाहले खाने र सुत्ने समयमै गर्नुपर्ने सुझाव दिइन्। उनले भनिन्, ‘दिनचर्या अनुशासित बनाउनुपर्छ। औषधि सेवन र नियमित परीक्षणमा ध्यान दिनुपर्छ।’

प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले शरीरमा साथ दिइरहनका लागि प्रधानमन्त्रीले जीवनभर इम्युनोसप्रेसिभ औषधि खानुपर्ने अर्का एक मिर्गौला रोग विशेषज्ञले बताए। उनले भने, ‘प्रत्यारोपित नयाँ मिर्गौलाले अस्वीकार नगरोस् र खराब एन्टिबडी निष्कासन नगरोस् भन्नका लागि औषधि नियमित खानुपर्छ।’

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। कल्पना श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली नियमित फलोअपमा रहनुपर्छ। संक्रमणबाट जोगिन आइसोलेसन अर्थात् छुट्टै कोठामा बस्नुपर्ने हुन्छ। रगतपिसाबलगायत नियमित जाँच गरिरहनुपर्छ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेले स्वस्थ मिर्गौला भएमात्र शरीर स्वस्थ हुने बताए। उनले भने, ‘प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा सहभागी हुने, नेताकार्यकर्ता भेटघाट गर्ने तथा जो पायो त्यहीसँग घुलमिल गर्नु हुँदैन।

शाहले भनिन्, ‘एकदमै सक्रिय हुनचाहिँ ६ महिना लाग्छ। त्यसपछि साधारण मान्छेजसरी सक्रिय दिनचर्या बिताउन सक्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .