ad ad

छापा खबर


कहिले सम्पन्न होला काठमाडौं-तराई फास्ट ट्रयाक?

कहिले सम्पन्न होला काठमाडौं-तराई फास्ट ट्रयाक?

नेपालखबर
पुस १२, २०७६ शनिबार ६:९,

देशको राजधानी काठमाडौं र तराई-मधेसलाई सबैभन्दा छोटो दूरीमा जोड्ने, ढुवानी खर्चलाई न्यून गर्ने, पेट्रोलियम खपतलाई घटाउने तथा पहाड र तराईबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई बलियो बनाउने गौरवको आयोजनाका रूपमा काठमाडौं–तराई फास्ट ट्रयाक (द्रुत मार्ग)लाई लिइएको छ।

यस आयोजनाले जुगौँदेखि प्रत्यक्ष नजोडिएको र न्यानो आत्मीयता अनुभव गर्न नपाएको पहाड र तराईलाई जोड्नेछ। त्यति मात्र होइन, बर्सेनि देशले भोगिरहेको भारतसँगकोे व्यापार घाटालाई न्यूनीकरण गर्न पनि मद्दत गर्नेछ। यी तमाम कारण गर्दा यो आयोजना कहिले सम्पन्न होला भन्ने ज्ञिज्ञासा लाग्नु स्वाभाविक हो।

यति महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने जिम्मेवारी अहिले नेपाली सेनासँग छ। सेना आयोजनालाई सफल बनाउन आफैँले गर्ने काम दिनरात नभनी गरिरहेको छ भने बाँकी व्यवस्थापनमा ठेक्का दिएर काम लगाइरहेको छ। यस्ता ठेक्का ३० वटा रहेको द्रुत मार्ग (फास्ट ट्रयाक) आयोजना कार्यान्वयन तथा अपरेसन महाशाखा प्रमुख विश्वबन्धु पहाडीले बताए।

द्रुतमार्गमा मुख्य गरी सुरुङ र विशेष पुल निर्माण गर्न सक्ने क्षमता सेनासँग छैन। त्यसका लागि सेनाले विश्वव्यापी (ग्लोबल) बोलपत्र आह्वान गरिसकेको छ। सुरुमा परामर्शदाता र त्यसपछि निर्माण कम्पनी छनोट गरी ०७७ असारदेखि सुरुङ र पुलको काम थाल्ने तयारीमा सेना छ। यो खबर आजको नयाँ पत्रिकामा जीवन बस्नेतले लेखेका छन्।

परामर्शदाता र निर्माण कम्पनी छनोट भए पनि पुल र सुरुङको काम तत्काल थालनी हुने सम्भावना देखिँदैन । किनकि, सेनाले पुल र सुरुङको नक्सांकन र निर्माण (डिजाइन एन्ड बिल्ट) अवधारणामा अघि बढाउँदै छ। यसकारण नक्सांकन तयार भई स्वीकृत हुन नै लामो समय लाग्न सक्नेछ।

०८१ वैशाखमा सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य
०८१ वैशाखमा फास्ट ट्रयाक सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने सेनाको लक्ष्य छ। यो सरकारले तोकेको समयावधिभन्दा ३ वर्ष ढिला हो। २१ वैशाख ०७४ मा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट ४ वर्षमा सक्ने गरी सेनालाई आयोजना निर्माणको जिम्मा दिएको थियो। त्यसपछि १४ जेठ ०७४ मा शिलान्यास गरी आयोजना भौतिक पूर्वाधार मन्त्रालयले २७ साउन ०७४ मा सेनालाई हस्तान्तरण गरेको हो।

के काम भइरहेका छन्?
सेनाले अहिले आयोजनाको विश्वप्यापी बोलपत्र गरी परामर्शदाता नियुक्त गर्दै छ । परामर्शदाताले आयोजनाको डिजाइन नक्सालाई सुपरिभिजन गर्ने काम गर्नेछ । रूख कटानको काम भइरहेको छ। आयोजनामा पर्ने कुल सडकखण्ड ५५ दशमलव ४८९ किलोमिटर छ। यसमध्ये ३१ किलोमिटर खण्डमा ढुंगा, माटो, टेवा–पर्खाल तथा नाली निर्माणको काम भइरहेको छ । त्यस्तै, ३० वटा निर्माण कम्पनी संलग्न रहेकामा ६ वटाले काम सम्पन्न गरेको आयोजना कार्यान्वयन तथा अपरेसन महाशाखा प्रमुख विश्वबन्धु पहाडीले बताए।

सुरुङमार्ग रहने तीन ठाउँहरू महादेवटार, धेद्रे र लेनडाँडामा अहिले भौगोलिक र प्राविधिक अध्ययन भइरहेको छ। त्यस्तै, सुरुङमार्ग निर्माणका लागि इच्छुक कम्पनीलाई छनोट गर्ने कागजात तयारीको कामसमेत सँगसँगै भइरहेको सेनाले जानकारी दिएको छ । साधारण पुुल निर्माणका लागि ठेक्का बन्दोबस्तको काम थालिएको छ। पुसभित्र ठेक्का सम्झौता गर्ने सेनाको तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .