बेलायतमा आयोजित पिपल नेपाल कप टी–२० क्रिकेटको छैटौँ संस्करणको प्रतियोगितामा क्विन्स गोर्खा सिग्नल क्रिकेट टिम विजयी भएको छ।
बेलायतको रिडिङ सहरस्थित रिडिङ क्रिकेट मैदानमा गत आइतबार भएको फाइनल खेलमा हिमालयन क्रिकेट क्लबलाई ३ रनको झिनो अन्तरले हराउँदै क्विन्सले उपाधि जितेको हो।
२० ओभरको खेलमा ब्याटस्म्यान अमोलको ३० र लक्ष्मणको २४ रनको योगदानमा ५ विकेट लिँदै कूल ११८ रन जोडिएको थियो भने गत सालका डिफेन्डिङ च्याम्पियन हिमालयले ११५ रनमा चित्त बुझाउनपरेको थियो।
प्रतियोगिता जुन २५ र जुलाई २ गरी २ चरणमा भएको थियो। कूल ६ टिमको सहभागिता रहेको प्रतियोगिता २ समूहमा विभाजन गरी पहिलो चरण लिगका आधारमा खेलाइएको थियो। समूहमा उच्च अंक जोड्ने टप टु टिम सेमिफाइनलमा प्रवेश गरेका थिए। जुलाई २ मा दोस्रो चरणको खेलमा सेमिफाइनल र फाइनल खेल भएका थिए।
प्रतियोगिता विजेता क्लबले नगद १५ सय पाउन्डका साथमा रनिङ सिल्ड पायो भने उपविजेता हिमालयनले नगद ७ सय पाउन्डसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्यो।
त्यसैगरी हिमालयनका मनोज गुरुङ उत्कृष्ट खेलाडी घोषणा भई नगद रु १ सय ५० पाउन्ड र ट्रफी हात पारे भने हिमालयनकै विकास गुरुङ उत्कृष्ट बलर तथा नवयुवा क्रिकेट क्लबका सचिन शर्मा उत्कृष्ट ब्याट्स्म्यान भए। उनीहरुले जनही नगद १ सय २० पाउन्डसहित ट्रफी पाए।
प्रतियोगिता पोख्रेली मञ्च युकेले आयोजना गरेको हो। पिपल मोर्टगेजको टाइटल स्पोन्सर रहेको प्रतियोगिता सन् २०१६ देखि सञ्चालन भइरहेको हो। कोभिडका कारण सन् २०१९-२० मा भने प्रतियोगिता स्थगन गरिएको थियो।
प्रतियोगितामा विजेता टिमका खेलाडीहरुलाई रिडिङका काउन्सिलरलगायत विभिन्न नेपाली संघसस्थाका पदाधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए।
बेलायतमा छरिएर रहेका नेपालीलाई एकत्रित गरी स्पोर्टिङ कल्चर विकास गर्न प्रतियोगिता आयोजना गर्ने गरिको कुरा आयोजक पोख्रेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले नेपालखबरलाई बताए। साथै सबै समुदायसँग घुलमिल गराउन आगामी वर्षदेखि बेलायतकै स्थानीय विभिन्न टिमलाई समेत सहभागी गराइने अध्यक्ष गुरुङले जानकारी दिए।
साथै मञ्चले यही जुलाई २८-३० का दिन वेल्स राज्यको क्याम्पसाइड क्षेत्रमा ३ दिने पदयात्रा ‘हाइक फर नेपाल’समेत आयोजना गर्ने गुरुङले बताए।
Shares
प्रतिक्रिया