सामाजिक अभियन्ता क्रिस्टल युएन शुक यान हरेक महिना हङकङका पुराना टेनिमेन्ट भवनहरूमा पुग्छिन्। वृद्धवृद्धालाई सहयोग गर्छिन्।
१५ वर्षदेखि एक्ला वृद्धवृद्धाको लागि काम गरिरहेका ४१ वर्षीय उनी आवश्यक भएकालाई खाद्यान्न सहयोग गर्छन्, रोगले थलिएकाहरूलाई वृद्धाश्रमसम्म पुर्याउन मद्दत गर्छिन्। उनले सामुदायिक संगठनका लागि समाज (सोको) नामक एनजीओमार्फत् यस्तो काम गरिरहेका छन्। उनी आफ्ना सहकर्मीका साथ यस्ता वृद्धवृद्धालाई खोज्न निस्किन्छन्।
उनी हङकङमा धेरै वृद्धवृद्धा एक्लै बस्ने गरेको र उनीहरूलाई परिवार र समुदायको साथको खाँचो रहेको बताउँछिन्।
सोकोमा १२ सदस्य छन्, उक्त टिमले ७ सय बढी वृद्धवृद्धालाई सहयोग गरिरहेको छ। उनीहरूले दैनिक कलमार्फत वृद्धवृद्धाको जानकारी लिन्छन्, घरमा पुगेर अवस्था बुझ्छन्, दैनिक आवश्यक सामग्री र खाद्यान्न घरसम्म पुर्याउँछन्। सक्रियताका लागि कक्षा पनि दिन्छन्।
उक्त संस्थाका अनुसार हङकङमा ६५ वर्षमाथिका करिब १ लाख ८८ हजार वृद्ध एक्लै बस्छन्। दम्पत्तिसहित बस्ने उक्त उमेर समूहका मानिसको संख्या ४ लाख बराबर रहेको छ। तीमध्ये धेरै 'लुकेका वृद्ध' छन्, जसलाई परिवार र समुदायको साथ नभएको सोकोले बताएको छ।
सन् २०२१ को हङकङको जनगणना अनुसार कुल जनसंख्याको १३ प्रतिशत वृद्ध हङकङमा एक्लै बस्ने गरेका छन्।
अभियन्ता र विज्ञहरूले उक्त समूहको सुरक्षाका लागि आवश्यक नीतिको अभाव रहेको बताएका छन्। वृद्ध आमाबुवालाई सन्तानले छाडेर गएकाले उनीहरूको अवस्था दयनीय बनेको तर राज्यले उनीहरूका लागि कुनै पहलकदमी नगरेको आरोप अभियन्ताको छ।
हालै हङकङमा एक्लै बस्ने वृद्धहरू घरमा मृत भेटिन थालेको घटनाले चर्को बहस निम्त्याएको थियो।
जुन १३ मा ह्याप्पी भ्यालीस्थित एक फ्ल्याटमा लिम्फोमा बिरामी ७५ वर्षीया वृद्धाको शव ओछ्यानमा पल्टिरहेको अवस्थामा अग्नि नियन्त्रकहरूले एकदमै दयनीय अवस्थामा फेला पारेका थिए। उनका ७१ वर्षीय दाजु बाथरुममा मृत भेटिएका थिए।
मे १५ मा शा टिनको एक घरमा ६९ वर्षीय पुरुषको कंकाल भेटिएको थियो। प्रहरीका अनुसार ती व्यक्ति एक्लै बस्थे।
गत मे १५ मा, आवास प्राधिकरणका कर्मचारीहरूले युनिटको भ्रमण गरेपछि शा टिनको सार्वजनिक आवासको फ्ल्याटमा ६९ वर्षीय पुरुषको कंकाल फेला परेको थियो। प्रहरीले ती व्यक्ति लामो समयसम्म कसैको सम्पर्कमा नरहेको र कसैसँग लामो समयदेखि बातचित समेत गर्न नपाएको बताएको थियो।
मे १२ मा ५९ वर्षीय महिला र उनका ८६ वर्षीय बुवा घरमा मृत भेटिएका थिए। मदर्स डेको दिन भेट्न पुगेका छोराछोरीले भित्रबाट कसैले आवाज नदिएपछि सहयोगका लागि छिमेकीलाई गुहारेका थिए। भित्र हेर्दा उनीहरू बितिसकेको अवस्थामा भेटिएका थिए।
'यी त्रासदीपूर्ण घटनालाई रोक्न सकिन्थ्यो। यी घटना राज्यको सेवा प्रदानमा असफलताको परिणाम हो,' हङकङ विश्वविद्यालयका सामाजिक तथा प्रशासन विभागका प्रोफेसर सिसिलिया चान वानले बताएकी छन्।
वृद्धवृद्धाको मृत्यु हङकङमा 'टाइम बम' जस्तै बनेको बताउँदै उनले उनीहरूको उद्धार गरी एक्लै नछाड्न र सुरक्षाको सुनिश्चित गर्न आग्रह गरेकी छन्।
-साउथ चाइन मोर्निङ पोस्टबाट
Shares
प्रतिक्रिया