सुस्ताएको विश्व अर्थतन्त्र र राजनीतिक अस्थिरताले गाँजेको हङकङको व्यवसाय जोगाउन चर्चित व्यवसायी लि का शिंगले १ अर्ब हङकङ डलर दान गरेका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार लीले हङकङको साना र मझौला उद्यमीहरुलाई सहयोग गर्ने हेतुले उक्त सहयोग गरेका हुन्। लि का शिंग फाउन्डेसनले शुक्रबार हङकङ सरकारलाई राहतमा सघाउन उक्त सहयाेग गरेकाे बताएको हो।
विश्व अर्थतन्त्रमा आएको सुस्तता र हङकङमा बढेको राजनैतिक अस्थिरताले हङकङको अर्थतन्त्रलाई चुनौतीपूर्ण बनाएको थियो। लिले एक वक्तव्यमा भने, ‘फाउन्डेसनले दिएको १ अर्ब डलरले ठूलो भूमिका निर्वाह गर्ने आशा लिएको छु। म अरुलाई पनि सँगै सहयोग गर्न आह्वान गर्छु।’
गत महिना मात्रै सरकारले हङकङका साना व्यवसाय जो सहरको विरोध र अमेरिका–चीन व्यापार तनावको मारमा परेका थिए, उनीहरुलाई ३५ अर्ब डलरको कोषमा पहुँच दिने बताएको थियो। पछि अगष्ट १५ मा १९ अर्ब डलरको राहत प्याकेज घोषणा गरिएको थियो।
यो सहरको वार्षिक आर्थिक वृद्धिदर शून्यदेखि एक प्रतिशतको बीचमा रहने बताएपछि उक्त प्याकेज घोषणा गरिएको थियो। यसअघि २ देखि ३ प्रतिशतसम्म वृद्धिदर रहने अनुमान गरिएको थियो।
प्रतिक्रिया