जब हङकङका एमटीआर प्रमुखले भनेः गोर्खा सुरक्षाकर्मी भाषा बुझ्दैनन् ...

जब हङकङका एमटीआर प्रमुखले भनेः गोर्खा सुरक्षाकर्मी भाषा बुझ्दैनन् ...

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार ११:४३,

हङकङको रेल सेवा संचालक संस्था एमटीआर कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृतले गोर्खा सुरक्षाकर्मीले क्यान्टोनिज भाषा नबुझ्ने भएकाले उनीहरूलाई रेल स्टेसनहरूमा तैनाथ गरिएको बताएपछि उनको आलोचना भएको छ।

हङकङमा सय दिन यता जारी सरकार विरोधी प्रदर्शनका क्रममा आन्दोलनकारीले रेल स्टेसनहरूमा घुसेर तोडफोन गर्न थालेपछि सुरक्षाका लागि गोर्खा सुरक्षाकर्मी तैनाथ गर्न थालिएको छ।

यसअघि प्रदर्शनकारीले आवागमनमा अवरोध पुर्याएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा गोर्खा सुरक्षाकर्मी खटाइएको थियो। विमानस्थलमा सुरुमा करिब सय जना गोर्खा सुरक्षाकर्मी तैनाथ गरिए लगत्तै रेल स्टेसनमा पनि दुई सय गोर्खा परिचालन गरिएको हो।

एमटीआरका प्रमुख ज्याकोब काम चक–पुइले गत शुक्रबार रेल स्टेसनहरूमा सुरुमा दुई सयभन्दा बढी गोर्खा सुरक्षाकर्मी तैनाथ गरिएको बताउँदै उनीहरूले स्थानीय क्यान्टोनिज भाषा नबुझ्ने भएकाले आन्दोलनकारीसँग तनाव नहुने दावी गरेका थिए।

‘नेपाली सुरक्षागार्डले क्यान्टोनिज भाषाको गाली बुझ्दैनन्, भाषाको समस्याका कारण उनीहरुले गाली नबुझ्ने भएपछि त्यहाँ प्रतिक्रिया कम हुन्छ’, साउथ चाइना मर्निङ पोष्टले ज्याकोबको भनाइ उद्धृत गरेको छ।

हङकङको सुरक्षा क्षेत्रमा विश्वसनीय र भरपर्दो सेवा दिएकाले गोर्खा ब्राण्डको माग उच्च रहेको छ। हङकङका सरकारी अड्डा, कर्पोरेट हाउस र धनाढ्य व्यवसायीहरूको अंगरक्षकका रुपमा गोर्खा सुरक्षाकर्मी तैनाथ छन्।

हङकङमा हाल करिब ४० हजार नेपाली बसोबास गर्छन् र, विमानस्थल तथा रेल स्टेसनमा तैनाथ गरिएका नेपाली यहाँका स्थायी बासिन्दा हुन्।

ज्याकोब आफैले पनि सुरक्षाको मामिलामा अनुभवी हुने भएकाले एमटीआरले विशेषगरी भूतपूर्व गोर्खा सैनिकलाई रेल स्टेसनहरुमा तैनाथ गर्ने योजना बनाएको बताएका छन्।

mtr

तर ‘क्यान्टोनिज भाषा नबुझ्ने भएकाले तनाव कम हुन्छ’ भन्ने ज्याकोबको टिप्पणीले तिनै गोर्खा सुरक्षाकर्मी र नेपाली समुदायको समेत अपमान भएको टिप्पणी भएको छ।

यसैपनि हङकङमा नेपाली सहितका जातीय अल्पसंख्यक समुदायलाई सरकारले समान व्यवहार नगरेको भन्दै आलोचना भइरहेको छ। अल्पसंख्यक समुदायका आवाज सुनेर उनीहरूलाई अवसर सिर्जना गर्ने उद्देश्यले सरकारले समान अवसर आयोग बनाए पनि त्यो केही परियोजनाहरू चलाउने गैरसरकारी संस्थाको चरित्रभन्दा माथि उठ्न सकेको छैन।

हङकङका सबै नेपाली क्यान्टोनिज भाषा बोल्दैनन्, बुझ्दैनन्, तर सुरक्षा, निर्माण होटल रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने अधिकांश नेपाली धेरै थोरै क्यान्टोनिज बुझ्छन। धेरै त अहिले बोल्न पनि सक्छन्।

के गोर्खा सुरक्षाकर्मी खोज्ने एमटीआरका प्रमुख ज्याकोबलाई हङकङका नेपालीको वास्तविक अवस्था थाहा थिएन? एमटीआरकी प्रवक्ताले पनि ज्याकोबकै कुरा दोहोर्याएबाट उनीहरू गोर्खा समुदायको अवस्थाबारे अनविज्ञ छन् भन्ने देखिन्छ।

ज्याकोबको भनाईलाई पुष्टि गर्दै प्रवक्ताले भनेकी छिन्, ‘हो, यदि नेपालीलाई शाब्दिक रुपमा गाली गरिए उनीहरुको भावनामा सजिलै ठेस पुग्ने छैन।’

हङकङमा अल्पसंख्यक समुदायको अधिकारका लागि सक्रिय फर्मी वङले एमटीआर प्रमुखले गोर्खालीमाथि गरेको टिप्पणी ‘जातिवादी’ र ‘संवेदनशील’ भएको बताएकी छन्।

‘गोर्खामाथि गरिएको यो भेदभावपूर्ण व्यवहार हो’, उनले भनिन्।

हङकङका नेपाली संगीतकार दिनेश सुब्बाले पनि केही दिन रेलवे स्टेसनमा सुरक्षागार्डका रुपमा काम गरे। तर उनले भाषा नबुझ्ने भएपनि त्यहाँ गोर्खा सुरक्षाकर्मीमाथि खतरा हुन सक्ने बताएका छन्।

‘आन्दोलनकारीले एमटीआरका सहयोगी भन्दै नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न सक्ने सम्भावना छ’, सुब्बाले नेपालखबरसँग भने, ‘एमटीआर स्टेसनमाहरुमा प्रहरीको उपस्थिति नगन्य रहेकाले त्यस्तो खतरा हुन सक्छ।’ 

यो पनिः
हङकङमा भन्न थालियोः ओहो गोर्खा!
हङकङका रेल स्टेसनमा पनि गोर्खा सुरक्षाकर्मी परिचालन
हङकङ विमानस्थलमा पहिलो पटक गोर्खाली सुरक्षाकर्मी तैनाथ

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .