हङकङमा १४ हप्तादेखि चलिरहेको सरकार विरोधी आन्दोलनका कारण यहाँ फेरि गोर्खा सुरक्षाकर्मीको माग बढेको छ।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थल र रेल स्टेसनमा पहिलो पटक क्रस खुकुरी भएको लोगो भिरेका नेपाली सुरक्षाकर्मीहरू देखेपछि स्थानीय चिनियाँले भन्न थालेका छन्, ‘ओहो गोर्खा!’
तर हङकङ अन्तर्राष्ट्रिय विमानस्थल र एमटीआर (मेट्रो रेल) स्टेसनमा गोर्खा सुरक्षाकर्मीहरू तैनाथ भएसँगै उनीहरू र नेपाली समुदायको सुरक्षा चासो बढेको छ, यहाँका करिब ४० हजार नेपालीबीच।
आन्दोलनकारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध पुर्याएपछि आवागमन सहज बनाउन गोर्खा सुरक्षाकर्मी पनि परिचालन गरिए लगत्तै अहिले मेट्रो रेल स्टेसनहरूमा गोर्खाहरू तैनाथ गरिएको हो।
आन्दोलनकारीहरुले निशाना बनाएका रेलवे स्टेसनहरुमा प्रति स्टेसन ४ जना गोर्खा सुरक्षाकर्मी खटाइएको छ। विमानस्थलमा सुरुमा करिब सय जना र रेलवे स्टेसनमा अहिले एक सय ५० जति गोर्खा सुरक्षाकर्मी तैनाथ गरिएको हो।
हङकङका नेपालीबीच सरकारले प्रहरीबाट आन्दोलनकारी नियन्त्रण गर्न सम्भव नभएपछि गोर्खा सुरक्षाकर्मी तैनाथ गरेको, उनीहरू आन्दोलनकारीको निशाना बन्न सक्ने जस्ता चासो व्यक्त भएका छन्।
अर्कोतिर सरकारले गोर्खा ब्राण्डलाई महत्व दिएर गोर्खा सुरक्षाकर्मी तैनाथ गर्न थालेको र यसबाट नेपालीले रोजगारीको क्षेत्रमा थप अवसर पाएको चर्चा पनि चलेको छ।
दिनेश सुब्बा भन्छन्ः खतरा पनि छ
शुक्रबार पहिलो पटक परिक्षणका रुपमा रेलवे स्टेसनमा केही गोर्खा सुरक्षाकर्मी तैनाथ गरिएको थियो, जसमध्ये एक थिए हङकङबासी नेपाली संगीतकार दिनेश सुब्बा। उनी चुङ क्वान ओ रेल लाइनको हाङ हाउ स्टेसनमा तीन दिनसम्म गोर्खा सुरक्षाकर्मीका रुपमा खटिएका थिए।
हङकङका नेपाली संगीतकार दिनेश सुब्बा आकर्षक ज्यालाको कारण हार्मोनियम थन्क्याएर सुरक्षामा खटिएका थिए।
‘१० घन्टा ड्यूटी गर्दा १५ सय हङकङ डलर पाउनु भनेको आकर्षक ज्याला हो’, सुब्बा भन्छन्, ‘त्यसले निर्माण क्षेत्रमा काम गर्ने नेपाली समेत उता ब्रेक लिएर एमटीआर स्टेसनको सुरक्षातिर आकर्षित भइरहेका छन्।’
तर एमटीआर स्टेसनको सुरक्षामा सुब्बाको तीन दिने अनुभवले भन्छ, गोर्खा सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा खतरा पनि छ।
‘आन्दोलनकारीले रेल सञ्चालकका सहयोगी भन्दै नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न सक्ने सम्भावना रहन्छ’, सुब्बा भन्छन्, ‘एमटीआर स्टेसनमाहरुमा प्रहरीको उपस्थिति नगन्य रहेकाले त्यस्तो खतरा हुन सक्छ।’
सुब्बाको भनाइमा नेपाली सुरक्षाकर्मीलाई उनीहरूले गर्ने काम बारे राम्रो निर्देशन दिइएको छैन। गोर्खा सुरक्षाकर्मी उपलब्ध गराउने नेपाली ठेकेदारहरुले नयाँ र चुनौतीपूर्ण कामका लागि आफुले पठाएका सुरक्षाकर्मीलाई कर्तव्य र जिम्मेवारी बारे यथेष्ट ब्रिफिङ नगरेको सुब्बाको भनाइ छ।
‘काम खोज्दै अफिसमा आएका नेपालीलाई फारम भराउँछन् अनि सिधै यो ठेगानामा जाउ भन्दै पठाउँछन्’, सुब्बा भन्छन्, ‘तर त्यहाँ पुगेपछि गर्नु पर्ने काम, व्यक्तिगत सुरक्षाका उपाय, संकटबाट आफुलाई जोगाउने तरिकाहरु बारे खासै निर्देशन हुँदैन, जसले गर्दा कामदारहरु अन्योलमा रहेको अवस्था छ।’
ओहो गोर्खा!
वोङ ताई सिन स्टेसनमा खटिएका गोर्खा सुरक्षाकर्मी चिजकाजी गुरुङका अनुसार काउलुन बे स्टेसनमा तैनाथ भएका नेपाली सुरक्षाकर्मीलाई आन्दोलनकारीले गाली गरेका थिए।
‘बाध्यताले जागिर खानु परेको छ, कतिबेला के हुन्छ ठेगान हुँदैन’, चिजकाजी गुरुङ भन्छन्, ‘तैपनि केही दिन यो काम गरियो भने दशैं खर्चको जोहो हुन्छ भनेर काममा आएको हो।’
वोङ ताई सिन स्टेसनमै खटिएका हरि गुरुङले चाहिँ बाटो हिंड्नेहरुले आफुलाई नोटिस गरेको पाएका छन्।
‘कतिपयले क्रस खुकुरीको ब्याज देखेर, ओह गोर्खा! भन्छन्’, गुरुङले नेपालखबरसँग भने, ‘गोर्खा सुरक्षाकर्मी रेलवे स्टेसनमा देखेपछि भाडा नतिरी भाग्नेहरुको संख्यामा निकै कमी आएको छ।’
गोर्खा भन्दै पाकिस्तानी र अफ्रिकी हाल्दै
गोर्खा ब्राण्डका कारण नेपाली ठेकेदारहरुले गोर्खा सुरक्षाकर्मी सप्लाई गर्ने ठेक्का पाएका छन् तर उनीहरूले पाकिस्तानी, अफ्रिकी लगायत अन्य मूलका सुरक्षाकर्मी पनि पठाइरहेका छन्। यसले गोर्खा ब्रान्डमै खिया लाग्न सक्ने सुब्बाको ठहर छ।
‘त्यस्ता गैर गोर्खाले कुनै काम बिगारे भने त्यसको अपजस हामी गोर्खाकै थाप्लोमा आउँछ, जसले हाम्रो बदनाम समेत गर्न सक्छ।’
गोर्खाको कोटामा भर्ना भएका पाकिस्तानी मूलका एक जना सुरक्षाकर्मी ईफरान आफुले तीन वटा रेलवे स्टेसनमा काम गरिसकेको बताउँछन्।
‘अहिलेसम्म तीन वटा स्टेसनमा काम गरिसकें, कहिले काहीँ आन्दोलनकारीहरु निहुँ खोज्छन् तर हामी नसुने झैं गर्छौं’, ईफरान भन्छन्, ‘चिनियाँ भाषामा गाली दिन्छन्, एक कानले सुन्छौं, अर्को कानले उडाउँछौं।’
गोर्खा ब्राण्ड
सन् १८१५ देखि गोर्खा सैनिकले बेलायती राजमुकुटका लागि धेरै युद्ध लडेका थिए र उनीहरूमध्ये सयौं जनाले शाहदात प्राप्त गरेका थिए।
ती युद्धहरूमा सहभागी हुने क्रममा गोर्खा सैनिकले ‘आफ्नो कर्तव्यबाट कहिल्यै पछि नहट्ने र डरपोक हुनुभन्दा मर्नु निको ठान्ने’ आदर्श बनाएका छन्।
त्यसो त गोर्खाका अनेकौं किस्साहरु बनेका छन् यो दुई सय वर्षको इतिहासमा। भारतका सेनाध्यक्ष फिल्ड मार्सल साम मानेकशले एक पटक भनेका थिए, ‘यदि कुनै व्यक्ति गर्नबाट डराउँदिन भन्छ भने कि ऊ झूट बोल्दै छ कि त ऊ गोर्खा हो।’
गोरखाहरू आफ्नो अतुलनीय बहादुरी र बफादारीका लागि विश्वव्यापी रूपमा प्रख्यात छन्। हङकङमा चार दशक अगाडिबाट गोर्खाहरूले गरेको योगदान प्रशंसायोग्य रहेको छ, यहाँका रैथाने नागरिकका लागि पनि।
त्यसैले हङकङका पुराना पुस्ताका चिनियाँहरु समेत यहाँको खासगरी सुरक्षा क्षेत्रमा पुर्याएको योगदानका लागि गोर्खाहरु प्रति कृतज्ञ छन् र सम्मानका साथ व्यवहार गर्छन्।
सुरक्षा क्षेत्रमा विश्वसनीय र भरपर्दो सेवा दिएकाले गोर्खा ब्राण्डको माग उच्च रहेको छ। हङकङका सरकारी अड्डा, कर्पोरेट हाउस र धनाढ्य व्यवसायीहरूको अंगरक्षकका रुपमा गोर्खा सुरक्षाकर्मी तैनाथ छन्।
हङकङमा अहिले किन गोर्खाको माग बढ्यो?
गोर्खालीहरु आफ्नो ड्युटीमा सचेत भएकाले पनि अहिले विमानस्थलपछि रेलवे स्टेसनमा तैनाथ गर्न खोजिएको देखिन्छ। आन्दोलनकारी वा कानुन उल्लंघन गर्नेहरुलाई गोर्खाको नाममा मनोवैज्ञानिक प्रभाव पार्ने, लडाकु स्वाभावका भएकाले शारीरिक प्रतिरोध पनि गर्न सक्ने रेलवे प्रशासनको आसय हुन सक्छ।
तर दिनेश सुब्बाको भनाइमा केही गरि आन्दोलनकारीहरुले आवेशमा आएर गोर्खा सुरक्षाकर्मीलाई छिसिक्क छोइदिए भने त्यसले नराम्रो दुर्घटना निम्त्याउन पनि सक्ने भएको सचेत हुनु पर्ने अवस्था छ।
‘आन्दोलनकारी र गोर्खा सुरक्षाकर्मीबीच त्यस्तो प्रतिसोधको अवस्था सिर्जना भयो भने हङकङका नेपाली समुदायमा समेत त्यसले असर गर्न सक्छ’, सुब्बा भन्छन्, ‘जस्तो युनलोङ रेल स्टेसनमा भएको आक्रमणमा डिएबी पार्टीका बिधायक जुनियस हो संलग्न रहेको आरोपमा उनको कार्यालय तोडफोड गर्नेदेखि उनका बाबुआमाको चिहान समेत भत्काइदिने घटना भयो।’
नेपाली कम्पनीलाई लाभ
पछिल्ला केही महिनायता हङकङको आर्थिक संरचनाहरु ध्वस्त हुँदै गइरहेको अवस्थामा गोर्खा सुरक्षाकर्मी सप्लाई गर्ने केही नेपाली कम्पनीहरूले चाहिँ राम्रो कमाई गरिरहेका छन्।
तर गुणस्तरीय सेवा दिएर गोर्खा ब्राण्ड, नेपाली सुरक्षाकर्मीको सुरक्षा र हितमा ध्यान दिनेभन्दा पनि जति सक्दो चाँडो डलर कमाउन उद्यत हुँदा ती कम्पनीहरूको आलोचना पनि भइरहेको छ।
प्रतिक्रिया