हङकङमा नेपालीको घनावस्ती भएको जोर्डन क्षेत्रमा सरकारले शनिबार बिहान ६ बजेबाट सोमबार ६ बजेसम्म ४८ घन्टाका लागि अप्रत्याशित रूपमा लकडाउन गरेको छ। उक्त क्षेत्रका ५० भवनमा १६० जनामा कोरोना संक्रमण तथा ढलमा समेत भाइरस फेला परेपछि हङकङ सरकारले लकडाउन घोषणा गरेको हो।
लकडाउन अवधिमा १० हजार जनाको अनिवार्य कोरोना परीक्षण गरिने स्वास्थ्यकर्मीले बताएका छन्। जोर्डन क्षेत्रको पूर्वी उसुङ स्ट्रिटदेखि दक्षिण नाङ्किङ स्ट्रिट तथा पश्चिम ब्याट्री स्ट्रिटदेखि उत्तर कान्सु स्ट्रिटसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो।
यो कार्यान्वयनका लागि सरकारले प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ३ हजारभन्दा बढी जनशक्ति परिचालन गरेको छ। लकडाउन अवधिभर आवतजावत निषेध गरिएको छ। हरेक भवनको प्रवेशद्वारमा प्रहरी परिचालन गरिएको छ भने हरेक फ्ल्याटमा सरकारले खटाएका कर्मचारीले पारिवारिक विवरण संकलन गर्दै तोकिएको बुथमा कोरोना परीक्षण गराउन निर्देशन दिइरहेका छन्।
पोजिटिभ हुनेलाई अस्पताल तथा उनीहरूसँग हेलमेल भएकाहरूलाई आइसोलेसन क्याम्पमा लगिनेछ। उक्त क्षेत्रमा १४ दिनभित्र २ घन्टा वा त्योभन्दा बढी बिताउनेहरूलाई समेत कोरोना परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ।
प्रभावित क्षेत्रमा सरकारले खानेकुरा तथा सरसफाइका सामग्री निःशुल्क वितरण गरिरहेको छ। लकडाउनका कारण काममा जान नसक्नेहरूका लागि सरकारले रोजगारदातालाई तलब कट्टा नगरिदिन भनेको छ भने स्थानीय व्यवसायीलाई सरकारसँग समन्वय गर्न अनुरोध गरेको छ।
लकडाउनप्रति रुष्ट
कतिपय बासिन्दा लकडाउनप्रति रुष्ट भएका छन्। निषेधित क्षेत्रमा प्रवेश गर्ने ४७ वर्षीय एक व्यक्तिलाई प्रहरीले कोरोना परीक्षण गर्न निर्देशन दिँदा उनी प्रहरी माथि नै जाइलागे। उनको रिपोर्ट नआउन्जेल बाहिर जान अनुमति दिइनेछैन। पत्रपत्रिका बिक्री गर्ने एक पसलेले समेत सरकारले समयमा सूचना नदिएको गुनासो गरे। नेगेटिभ हुँदाहुँदै फेरि परीक्षण गर्नु परेकामा उनी रुष्ट छन्।
सरकारले एक गोलीले दुई सिकार गरिरहेको आरोप
जोर्डन, जातीय अल्पसंख्यकको घनाबस्ती रहेको स्थान हो। उक्त क्षेत्रमा कतिपयले गैरकानुनी रूपमा बसोबास र काम गरिरहेको नेपाली सामाजिक अगुवा बताउँछन्। गत नोभेम्बरमा भएको आगलागी घटनालाई जोड्दै सरकारले अल्पसंख्यकको गैरकानुनी गतिविधिसमेत पत्ता लगाउन चाहेको अनुमान गरिएको छ।
निषेधित क्षेत्रमै पर्ने लिम्बूहरूको भवन चुम्लुङ हिममा खानतलासीसमेत गरिएको संयोजक शेरबहादुर लक्सम्बाले नेपालखबरलाई बताए। कतिपय जानकारका अनुसार गैरकानुनी रूपमा बसोबास गरिरहेका व्यक्ति कोरोना संक्रमण हुँदा पनि पक्राउ पर्ने डरले अस्पताल नजाँदा अन्यमा फैलिने जोखिम बढेको छ।
पछिल्लोपटक शनिबार हङकङमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Shares
प्रतिक्रिया