गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङको अधिवेशन आउन दुई हप्ता बाँकी रहँदा वर्तमान अध्यक्षमा राधिका गुरूङ (टीका)ले ६ बुँदे घोषणा पत्रसहित आफ्नो उम्मदेवारी घोषणा गरेकी छन्।
गुरूङले मंगलबार साझ जोर्डनस्थित बगैचा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेकी हुन।
आफूले दुई वर्षे कार्यकाल सफल रुपमा सम्पन्न गरेको दावी गर्दै उनले आफूले अगाडि सारेका योजनाहरुलाई निरन्तरता दिन पुनः उम्मेदवारी दिएको बताइन्। ‘मेरो दुई वर्षे कार्यकालमा थुप्रै राम्रा कामहरु भएका छन्। कतिपय कामहरु चाहँदा चाहँदै पनि समायाभावका कारण गर्न सकेकी छैन’, घोषणा कार्यक्रममा उनले भनिन्, ‘बाँकी रहेका काम र योजनालाई अगाडि बढाउँदै थप नयाँ कामका लागि मैले उम्मेदवारी घोषणा गरेकी हुँ।’
उनले आफूले बनाएका योजना सम्पन्न गर्नका लागि थप एक कार्यकालका भोट दिई जिताउन पनि हङकङ बासीहरुलाई अपिल गरेकी छन्।
उम्मेदवारी घोषणा कार्यक्रममा उनले अध्यक्षकी प्रत्यासी गुरुङले आफ्नो ६ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेकी छन्।
अर्का प्रत्यासी वर्तमान वरिष्ठ उपाध्यक्ष निरञ्जन गुरुङले आगामी शनिबारसम्ममा आफूले औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्ने बताए। ‘शनिबारसम्ममा मेरो पनि उम्मेदवारी घोषणा हुन्छ’, नेपालखबरसँग कुरा गर्दै उनले भने।
अध्यक्ष गुरुङ सकेसम्म वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने मनस्थितिमा छिन भने उपाध्यक्ष गुरुङ लामो समयदेखि संस्थामा गरेको लगानी र योगदानका कारण अब आफ्नो पालो आएको भन्दै अध्यक्षको उम्मेदवारी दिएरै छाड्ने बताएका छन्।
गुरुङले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको सो सभामा हङकङमा रहेका नेपालीहरुको उल्लेख्यमात्रामा उपस्थित रहेको थियो।
एनआरएनए हङकङको सातौं अधिवेशन आगामी जुलाई २८ गते आइतबार इन्डिया क्लबमा हुँदैछ।
प्रतिक्रिया