कोरोना भाईरस संक्रमण विश्वब्यापी बन्दै गए पछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले अध्यागमन मार्फत मार्च १० (मंगलबार) बाट लागू हुने गरि हङकङका यात्रीहरुलाई अनअराईभल भिसा अनिश्चित कालका लागि रोक्का गरिदिएको छ।
यो नियम लागू भए पछि अब हङकङबाट नेपाल यात्रा गर्न चाहने चिनियाँ यात्रीहरुले नेपाली कुटनैतिक नियोग/महावाणिज्यदूत मार्फत उनीहरूलाई कोरोना भाइरस संक्रमित नभएको प्रमाणित गर्न स्वास्थ्य प्रमाणपत्र सहित भिसाको लागि आवेदन दिनुपर्ने भएको छ। यस्तै, नेपाली पासपोर्ट बाहक बाहेक सबै यात्रीहरुले नेपाल यात्राको लागि बोर्डिङ पास लिनु पूर्व अनिवार्य स्वस्थ्य प्रमाणपत्र समेत पेश गर्नुपर्ने भएको छ। उक्त प्रमाणपत्र ७ दिन नकाटेको हुनु पर्नेछ।
हङकङ बाहेक चीन, मकाउ, ईरान, ईटली, कोरिया र जापानका नागरिकहरुलाई पनि उक्त नियम लागू हुनेछ।
आगामी शुक्रबारबाट फ्रान्स, स्पेन र जर्मनीका नागरिकलाई पनि लागू हुनेछ। चीन, हङकङ र मकाउका नागरिकका लागि महाभुकम्पपछि निशुल्क भिसा प्रदान गरिँदै आएको थियो।
यो नियम लागू भए पछिको पहिलो उडान भरेको नेपाल वायु सेवा निगममा दुई हङकङ पासपोर्ट धारी तथा बृटिस र भारतीय पासपोर्ट धारी गरि कुल ६ विदेशीहरुले स्वस्थ प्रमाणपत्र पेश गरेका थिए। उनीहरु सबै नेपाली मूलका विदेशी रहेको निगमका कन्ट्री म्यानेजर नवराज उपाध्यायले नेपालखबरलाई जानकारी गराए।
भिसा बन्देज लगाए पछि यात्रीहरुको चापमा के कस्ता असर परेको छ? भनि नेपालखबरले सोधेको प्रश्नमा उनले भने ‘उक्त नियम लागू भए पनि निगमको सेवा र व्यावसायमा खासै असर परेको छैन, सबै जसो यात्रीहरु नेपाली नै हुने गर्दछन्। हङकङका नेपालीहरुले आफ्नै देशका चन्द्र सुर्य अंकित ध्वजाबाहक उडान प्रति विश्वास, सद्भाव र गौरव गर्दछन। त्यसैले हरेक उडानमा ९० प्रतिशत भन्दा बढी अकुपेन्सी हुने गरेको छ। जुन हाम्रो लागि खुशी को कुरो हो। हामी पनि यात्रीहरुको सेवाको खातिर लागि परेका छौँ।’
उनले थपे ‘धेरै यात्रीहरु कन्फ्युजनमा रहेका छन्, त्यसैले म स्पस्ट गराउन चाहन्छु कि नेपाल यात्रा गर्न चाहने नेपाली पासपोर्ट बाहक बाहेक सबैले कोरोना भाईरस नलागेको स्वस्थ प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्नेछ।’
हालसम्म हङकङका भाईरस सङ्क्रमित बिरामीहरुको सङ्ख्या १२७ पुगेको छ भने हङकङ बासी नेपालीहरुमा उक्त भाईरस सङ्क्रमण अहिलेसम्म नभएको समाचार छ।
प्रतिक्रिया