हङकङको युनलङमा रहेको कार वास पसल तोडफोड गरी चोरी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई छिनसुइ वाइ, चुनमुन र युनलङबाट आइतबार राति र सोमबार बिहान पक्राउ गरिएको हो।
आठ जनाको समूहमा रहेको गिरोहले पसल तोडफोड गरी हङकङ डलर एक लाख ५० हजार चोरी गरेको आरोप लागेको छ।
उनीहरूलाई तोडफोड, चोरी र नक्कली कागजात प्रयोग गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीलाई उद्धृत साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
अभियुक्तहरू सोमबार दिउँसोसम्म प्रहरीकै नियन्त्रणमा छन्।
‘प्रारम्भिक अनुसन्धानका क्रममा काठको डण्डी बोकेर पसलभित्र छिरेका आठ जना व्यक्तिले दुई वटा कार, एउटा कम्प्युटर, टेलिभिजनका साथै सिसाको प्यानल तोडफोड गरेको देखिएको छ,’ प्रहरीले स्रोतले भन्यो, ‘उनीहरूले हङकङ डलर एक लाख ५० हजार नगद पनि चोरेका छन्।’
शनिबार राति पसलका कर्मचारीले क्षतिको रिपोर्ट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। अधिकारीहरू त्यहाँ पुग्नुअघि नै गिरोहका सदस्य तीन वटा कारमा भागेका थिए।
Shares
प्रतिक्रिया