हङकङलाई जुहाइ र मकाउसँग जोड्ने मेगा ब्रिजलाई हालसम्म १ करोड सवारी साधनले प्रयोग गरेको रिपोर्ट सार्वजनिक भएको छ।
अमेरिकी एक आउटलेटको ‘घोस्ट ब्रिज’ रिपोर्टमा यस पुललाई ‘घोस्ट क्रसिङ’को संज्ञा दिइएपछि चिनियाँ सञ्चारमाध्यमले उक्त तथ्यांक बाहिर ल्याएका हुन्।
मेगा ब्रिज पाँच वर्षअघि निर्माण भएको हो।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार गत वर्ष यो पुलमा सवारी चाप ३२ लाख ६० हजार रहेको छ। जसअनुसार यस पुलबाट दैनिक औसतमा आठ हजार नौ सय सवारी साधन गुडे।
यस्तै, यस वर्षको आँकडामा शनिबारसम्म १५ लाख ८० हजार सवारी साधन जुहाइ सीमा नाकाबाट भित्रिए तथा बाहिरिएको तथ्यांक बाहिर आएको छ।
अमेरिकाको सञ्चारमाध्यम भ्वाइस अफ अमेरिकाले मेगा ब्रिजलाई त्यहाँका बासिन्दाले कम प्रयोग गरेको भन्ने धारणासहित समाचार प्रकाशित गरेपछि चिनियाँ सञ्चारमाध्यमले यो तथ्यांक बाहिर ल्याएका हुन्।
भ्वाइस अफ अमेरिकामा उक्त समाचारमा आएपछि त्यहाँका अन्य मिडिया आउटलेटले यसलाई ‘भूत पुल (घोस्ट ब्रिज)’को संज्ञा दिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया