हङकङका जातीय अल्पसंख्यक समुदायले अल्पसंख्यकप्रति गरिएको दुर्व्यवहारको निन्दा गरेका छन्।
पटक पटक हुने गरेका यस किसिमका दुर्व्यवहारको उनीहरूले निन्दा गरेका हुन्। पछिल्लो पटक शुक्रबार क्वाइचुङस्थित अल्पसंख्यक समुदायको ढोकामा फोहोर फ्याँकिएको थियो।
जातीय अल्पसंख्यक समुदायलाई लक्षित गरी तोडफोड र उपद्रवमूलक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले शुक्रबार २३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।
अनलाइनमा राखिएका भिडिओहरूमा क्वाइचुङको अनयाम स्टेटमा रहेको फ्ल्याटको ढोकामा मानव फोहोर फालिनुका साथै पेन्ट स्प्रे गरिएको देखिन्छ।
साउथ चाइना मर्निङ पोस्टले यस घटनाका सम्बन्धमा हङकङका जातीय अल्पसंख्यक समुदायका प्रतिनिधिसँग प्रतिक्रिया लिएको छ।
कम्युनिटी ग्रुप मल्टिकल्चरल डाइभर्सिटी आवर होम सोसाइटी हङकङका निर्देशक इन्द्र गुरुङ जातीय अल्पसंख्यक पृष्ठभूमिका मानिसले शारीरिक चोटपटकदेखि तोडफोड लगायत केही भेदभाव सामना गर्नुपरेको सुनाए।
नेपाली समुदायका गुरुङ सन् २०२२ को कोभिड महामारीको समयको एक घटना सम्झन्छन्। जतिबेला मास ट्रान्जिट रेलवे (एमटीआर)मा एक व्यक्तिले नेपाली महिलालाई थुकेका थिए। उनलाई ‘फोहोर’ भनेका थिए भने ‘कोभिड हङकङमा ल्याएको’ आरोप लगाएका थिए।
यो केसमा महिलालाई आफूले समान अवसर आयोग (इक्वायल अपर्च्युनिटिज कम्युनिटी)मा रिपोर्ट गर्न सहयोग गरेको गुरुङ सम्झन्छन्।
यो आयोग हङकङको एक सार्वजनिक निकाय हो, जसले भेदभावविरोधी कानुनहरू लागू गर्छ र समानताको पक्षमा वकालत गर्छ।
गुरुङ वाचडग र शिक्षा ब्युरोलाई समावेशीताको आवश्यकताबारे चेतना जगाउन आग्रह गर्छन्।
यसका लागि सार्वजनिक शिक्षाको प्रयास बढाउन र जातीय अल्पसंख्यक समुदायले कसरी मद्दत लिन सक्छन् भन्नेबारे थप काम गर्न उनको सुझाव छ।
‘हामी बहुसांस्कृतिक सहरमा छौँ र हामी सबै हङकङका बासिन्दा हौँ,’ गुरुङ भन्छन्।
यसैगरी, सहरका प्रमुख इमाम, मुफ्ती मुहम्मद अरशदले पनि शुक्रबारको घटनाप्रति निन्दा गरेका छन्।
इमाम हङकङका मुस्लिम समुदायको प्रमुख पद हो।
‘यो अवैध र अवास्तविक हो। मलाई लाग्छ कि हङकङका जनताले यसलाई स्वीकार गर्दैनन्,’ अरशद भन्छन्, ‘यो व्यक्ति जसले यो काम गर्यो, उसको नियत वा उसले गरेको प्रयास सफल हुनेछैन।’
समुदायभित्र फाटो ल्याउने उसको नियत हो भने त्यो सफल नहुने उनी बताउँछन्। जातीय अल्पसंख्यकका मानिससँग व्यक्तिगत रूपमा गुनासो हुन सक्छ, तर त्यसलाई समग्र समुदायको दृष्टिले हेर्न नहुने अरशदको मत छ।
‘म हङकङमा २५ वर्षदेखि बस्दै आएको छु। मेरो परिवार पनि यहीँ छ। छोराछोरी, नातिनातिना यहीँ छन्,’ अरशद भन्छन्, ‘तर पनि हामीले स्थानीय समुदायबाट कुनै घृणा महसुस गरेका छैनौँ।’
शुक्रबार घटेका जस्ता एकाध घटनाले समुदायबीचको एकता भंग हुन नसक्ने उनको ठहर छ।
सन् २०२१ को जनगणना अनुसार हङकङमा ६ लाख १० हजारभनदा बढी जातीय अल्पसंख्यक छन्। जुन कुल जनसंख्याको ८.४ प्रतिशत हो।
Shares
प्रतिक्रिया