हङकङमा फ्लुको संक्रमणका कारण ६ वर्षीया बालिका गम्भीर बिरामी भएकी छन्। गत हप्ता फ्लु (इन्फ्लुएन्जा ए) कै कारण ८ वर्षीया बालिकाको मृत्यु भएको थियो।
स्वास्थ्य संरक्षण केन्द्र (सेन्टर फर हेल्थ प्रोटेक्सन)ले सोमबार दिएको जानकारी अनुसार ६ वर्षीया बालिकामा शुक्रबारदेखि ज्वरो आउनुका साथै खोकी लागेको थियो। त्यसपछि उनलाई शनिबार ताइवाइको युनियन अस्पताल ल्याइएको थियो।
अवस्था अझै बिग्रँदै गएपछि उनलाई सातिनस्थित प्रिन्स अफ वेल्स अस्पताल रिफर गरिएको थियो, जहाँ उनलाई बाल चिकित्सा सघन हेरचाह इकाइमा भर्ना गरियो।
त्यसपछि सोही दिन साँझ काउलुन बेस्थित हङकङ बाल अस्पतालको सघन उपचार कक्षमा सारियो।
एक प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार इन्फ्लुएन्जा ए संक्रमणबाट पीडित उनको इन्सेफ्यालोप्याथीसँगै अवस्था गम्भीर छ। इन्सेफ्यालोप्याथीले मस्तिष्कको कार्यसम्बन्धी परिवर्तनलाई जनाउँछ।
प्रवक्ताका अनुसार ६ वर्षीया बालिकालाई सिजनेवल फ्लुको खोप लगाइएको थियो।
यता, गतहप्ता इन्फ्लुएन्जा एकै संक्रमणबाट मृत्यु भएकी ८ वर्षीया बालिकालाई खोप नलगाइएको बुझिएको छ। उनलाई सोही हप्ता बुधबारदेखि ज्वरो र खोकी देखिएको थियो। अर्को दिन अस्पताल लगिएको उनको त्यही निधन भएको थियो।
सरकारी तथ्यांकअनुसार हङकङमा अप्रिल ७ देखि १७ सम्म ३६ जना वयस्कको फ्लुबाट मृत्यु भएको छ।
गम्भीर रूपमा दर्ज भएका घटनामध्ये एक आठ महिनाको बच्चा र अर्को आठ वर्षीय बालक हुन्।
आठ महिनाको बच्चामा इन्सेफ्यालोप्याथी विकास भएको थियो भने आठ वर्षीय बालक मेनिन्गोएन्सेफलाइटिसबाट पीडित थिए। दुवैजनामा इन्फ्लुएन्जा एको संक्रमपछि उक्त घटनाक्रम विकास भएको थियो।
केन्द्रले आम सर्वसाधारणलाई मौसमी रुघाखोकीबाट बच्नको लागि खोप लगाउन आग्रह गरेको छ।
इन्फ्लुएन्जाले स्वास्थ्यको उच्च जोखिम भएका व्यक्तिलाई बढी असर गर्ने त छँदैछ, स्वस्थ व्यक्तिमा पनि गम्भीर रोग निम्त्याउन सक्ने चिकित्सकले चेतावनी दिएका छन्।
केन्द्रले फ्लु र कोभिड–१९ बीच अन्तरसम्बन्ध देखाएको छ। फ्लु र कोरोना भाइरसको एकै समयमा संक्रमणमा परेका बिरामीको मृत्युको जोखिम उच्च हुने औंल्याउँदै केन्द्रले कोभिड–१९ को खोप लगाउनु महत्त्वपूर्ण भनेको छ।
Shares
प्रतिक्रिया