हङकङ प्रहरीले यौन व्यवसायमा लागेको आरोपमा ५१ जनालाई पक्राउ गरेको छ।
प्रहरीले सोमबार जानकारी गराएअनुसार पछिल्लो दुई हप्तामा छापा मार्ने क्रममा तीन जना हङकङका स्थानीय, आठ थाइ महिला र ४० जना चिनियाँ बासिन्दा पक्राउ परेका हुन्।
चिनियाँहरू दुईतर्फी आवातजावत अनुमति प्राप्त हुन्।
याउमा तेइमा यौन व्यवसायी सक्रिय रहेको सूचना पाएपछि प्रहरीले ‘क्याननसट’ अपरेसन गरेको थियो।
प्रहरी र अध्यागमन विभागको संयुक्त पहलमा गरिएको अपरेसन अप्रिल ८ देखि २१ सम्म चलेको थियो, जहाँ टेम्पल स्ट्रिटलाई केन्द्रबिन्दु बनाइएको थियो।
अपरेसनका क्रममा ग्राहक बनी सडकमा निस्किएका प्रहरीसमक्ष यौनधन्दा सञ्चालक सम्पर्कमा आएपछि प्रहरीलाई गतिविधिको निगरानी गर्न सहज भएको थियो।
यस क्रममा अधिकारीहरूले यौनकर्मी महिलासँग सञ्चालकहरूले प्रतिसेवा ६० प्रतिशतसम्म कमिसन लिने गरेको पत्ता लगाएका छन्।
यसको बदला उनीहरूले यौनकर्मी महिलालाई ग्राहक खोज्न सघाउनुका साथै कन्डम, लुब्रिकेन्ट तथा डिस्पोजेबल तौलिया जस्ता सामग्री उपलब्ध गराउँथे।
प्रहरीले ठूलो मात्रामा कन्डम, माउथवास र लुब्रिकेन्ट पनि बरामद गरेको जनाएको छ।
यौन व्यवसायीहरूले प्रायजसो यौनस्थलको रूपमा छोङ लाउ भवनहरू छनोट गर्ने गरेको पनि प्रहरीले पत्ता लगाएको छ। किनकि, यहाँ सुरक्षा निगरानी कम र भवनका अगाडि तथा पछाडि प्रवेशद्वार भएकोले भाग्न सजिलो हुने उनीहरूको बुझाइ छ।
उनीहरूले आफ्नो कार्यक्षेत्र परिसरमा ठूलो संख्यामा सीसीटीभी क्यामेरा पनि जडान गरेको पत्ता लागेको छ।
हङकङमा यौनकार्य गैरकानुनी नै नभए पनि ग्राहक खोजिदिनु, दुई वा दुईभन्दा बढी व्यक्तिलाई यौनधन्दामा लगाउनु, यौनकर्मीको कमाइबाट कमिसन लिनु तथा महिलालाई दुर्व्यवहार गर्नु कानुन विपरीत मानिने साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।
Shares
प्रतिक्रिया