हङकङमा औद्योगिक दुर्घटना बढ्न थालेपछि सरकारले सुधारका लागि विभिन्न उपाय अपनाइरहेको छ।
यद्यपि, सोमबार र मंगलबारको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक निर्माण मजदुर घाइते भएका छन्।
सोमबारको घटना ढल सरसफाइसँग सम्बन्धित छ। राति २६ र ३४ वर्षका दुई पुरुष चार मिटर गहिरो म्यानहोलको चेम्बरमा बेहोस अवस्थामा फेला परेका थिए।
सोमबार राति सातिनस्थित युनवो खेल मैदानमा अन्य दुई सहकर्मीसँग पीडित कामदारहरू ढल सफाइको काममा गएका थिए।
यसै क्रममा दुई जना बेहास भएपछि साथमा रहेका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए।
खबर पाएपछि घटनास्थल पुगेका अग्निनियन्त्रकले बेहोस दुवै जनाको उद्धार गरी प्रिन्स अफ वेल्स अस्पताल पुर्याएका थिए। तर, अस्पतालले उनीहरूलाई मृत घोषणा गर्यो।
प्रहरी प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार पोस्टमार्टमको रिपोर्टपछि मात्र उनीहरूको मृत्युको कारण खुल्नेछ।
यद्यपि, प्रारम्भिक अनुसन्धानले हाइड्रोजन सल्फाइड नामक विषाक्त ग्याँसका कारण उनीहरूको मृत्यु भएको हो।
ड्रेनेज सेवा विभाग, श्रम विभाग र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
उनीहरूसँगै चेम्बरमा फसेका अन्य दुई कामदार भने आफैँ बाहिर निस्कन सफल भएका थिए।
यसैगरी, मंगलबारको घटना काउलुनस्थित ट्याटहङ एभेन्युमा रहेको एक भवन निर्माणस्थलको हो।
बिहान करिब ११ बजे उक्त निर्माणस्थलमा काम गर्ने सिलसिलामा एक मजदुर मेसिनमा फसेर घाइते भएका छन्।
हङकङ पोलिटेक्निक विश्वविद्यालयको छात्रावास भवन बन्दै गरेको उक्त निर्माणस्थलमा घाइते भएका कामदारको खुट्टा भाँचिएको र उनको अस्पतालमा उपचार भइरहेको द स्ट्यान्डर्डले जनाएको छ।
कामदारको खुट्टा मेसिनमा फसेपछि सहकर्मीले प्रहरीलाई खबर गरेका थिए। उनलाई अग्निनियन्त्रकको टोलीले उद्धार गरेको थियो।
Shares
प्रतिक्रिया