बिहीबार एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। जहाँ एउटा ट्याक्सी अन्य सवारीसाधनलाई उछिन्दै अगाडि बढिरहेको हुन्छ।
अन्तिममा एउटा यस्तो बिन्दु आइपुग्छ जहाँ ट्याक्सीभन्दा अगाडि र पछाडि रहेका सवारीको दुरी एकदम कम हुन पुग्छ। उक्त अवस्थामा बीचबाट छिर्न खोजेको ट्याक्सी सडकको बीचमा रहेको पुलको पर्खालमा ठोकिन्छ। (हेर्नुस् भिडिओ)
यो भिडिओ डेढ हप्ता अगाडि रेकर्ड गरिएको बुझिएको छ। तर सामाजिक सञ्जालमा भने बिहीबार भाइरल भएको हो।
हङकङको एक सञ्चारमाध्यममा उल्लेख भएअनुसार फ्यानलिङ हाइवेबाट सेङसुइतर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको हो।
भिडिओमा देखिएअनुसार एउटा गुडिरहेको गाडीबाट भिडिओ खिचिएको हुन्छ। त्यसको बायाँतर्फ एउटा सेतो रङको गाडी गुडिरहेको देखिन्छ। एकैछिनमा सेतो रङको गाडीलाई पछाडि पार्दै उक्त ट्याक्सी भिडिओ खिचिइरहेको गाडी छेउ आइपुग्छ र अगाडि बढ्छ।
त्यो भन्दा अगाडि अर्को ट्रक गुडिरहेको देखिन्छ। अब तीव्र गतिको उक्त ट्याक्सीलाई समस्या आइ पर्छ– अगाडि ट्रक हुन्छ भने पछाडि पनि गाडी, बीचको दुरी एकदमै कम।
यसै मेसोमा ट्याक्सी दायाँ मोडिन्छ र अनियन्त्रित भई भित्तामा ठोकिन्छ। यसपछि भिडिओ खिच्दै आइरहेको गाडी पनि ट्याक्सीमा ठोकिन्छ र भिडिओको अन्त्य हुन्छ।
सञ्जालमा भाइरल भएको भिडिओमा मानिसहरूको ट्याक्सीप्रति आक्रोशजन्य प्रतिक्रिया देखिन्छ। ट्याक्सी लापरवाह तरिकाले चलाएकोले दुर्घटना भएको धारणा उनीहरूले व्यक्त गरेका छन्।
मानिसहरूको प्रतिक्रिया अनुसार घटना २३ डिसेम्बर दिउँसो १२ः४० भएको अखबारमा उल्लेख छ। दुर्घटनामा ७२ वर्षीय ट्याक्सी चालकको टाउको र घाँटीमा चोट लागेको र उनलाई अस्पताल पठाइएको थियो। अन्य दुई सवारी साधनका चालकलाई भने कुनै चोटपटक लागेन।
Shares
प्रतिक्रिया