डीएनए परीक्षणबाट हङकङको एउटा पसलले बिरालोको मासु बेचेको पुष्टि भएको छ। गत बिहीबार सरकारी अधिकारीहरुले सो पसलमा छापा मारेका थिए।
पसल सञ्चालक र कामदारमाथि मुद्दा चलाइने भएको छ। कृषि मत्स्य र संरक्षण विभागले सो छापा मारेको थियो।
‘कुकुर वा बिरालाको मासु उपभोगलाई विभागले सहने छैन। र, यो घटनाको गम्भीर छानबिन गर्नेछ,’ विभागका एक प्रवक्ताले मंगलबार भनेका छन्।
यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी र निरीक्षण बढाइने पनि उनले बताए।
याउ मा तेइको रिक्लमेसन स्ट्रिटमा रहेको पसलमा अधिकारीहरुले छापा मारेपछि हङकङमा कुकुर र बिरालोको मासु बेचिने गरेको खुलासा भएको थियो।
यस्तो मासु आयातलाई रोक्न खाद्य विभाग र भन्सारसँग पनि मिलेर काम गरिने प्रवक्ताले जनाएका छन्।
यसअघि एक मिडिया अनुसन्धानले क्वाङतोङबाट हङकङ ल्याएर कुकुर वा बिरालोको मासु बेच्ने गरेको खुलासा गरेको थियो।
सो रिपोर्टमा ६ सय ग्राम मासु १०० हङकङ डलर मूल्यमा बेचिने पनि उल्लेख गरिएको थियो। भिडिओमा मासुसहित पसले समेत देखिएका थिए। एससीएमपी
Shares
प्रतिक्रिया