घरभाडासम्बन्धी नयाँ कानुन उल्लंघन गरेर डेरावालबाट अत्यधिक भाडा उठाउने हङकङका एक घरबेटीलाई जरिवाना गरिएको छ। हङकङमा यस्तो खालको जरिवाना गरिएको यो पहिलो पटक हो।
गत जनवरीमा सो कानुन लागू गरिएको थियो।
शुक्रबार इस्टर्न कोर्टमा ती घरबेटीले दोष स्वीकार गरेका थिए। त्यसपछि उनलाई ६ हजार ६ सय हङकङ डलर जरिवाना लगाइएको थियो। उनले पानी, विद्युतलगायतको शुल्कसहित मनपरी भाडा उठाएका थिए।
अधिकारीहरुका अनुसार ती घरबेटीले उठाएको शुल्कअनुसारको बिल पेस गर्न सकेनन्। त्यस्तै भाडा उठाएको रसिद पनि उनले दिन सकेनन्।
गत मे महिनामा उजुरी परेपछि रेटिङ एन्ड भ्यालुएसन डिपार्टमेन्टले यससम्बन्धी अनुसन्धान गरेको थियो।
जनवरी २२ देखि लागू भएको घरबेटी डेरावाल कानुनअनुसार डेरावालले बिजुली, पानीजस्ता सेवाहरुको शुल्क भाडाबाहेक नै तिर्नुपर्छ। तर, घरबेटीले सबै शुल्कको बिल तथा लिखित हिसाब दिनुपर्ने हुन्छ।
यो कानुन उल्लंघन गर्नेलाई पहिलो पटकका लागि अधिकतम १० हजार डलर र पटकेलाई २५ हजार डलरसम्म जरिवाना गर्न सकिनेछ।
त्यस्तै, भाडा उठाएको सात दिनभित्र रसिद नदिने घरबेटीलाई २ हजार जरिवाना हुन्छ। एससीएमपी
Shares
प्रतिक्रिया