बेइजिङले सिन्जियाङका पूर्व सुरक्षा प्रमुख मेजर जनरल पेङ जिङटाङलाई हङकङस्थित जनमुक्ति सेनाको कमाण्डर बनाएको छ।
पीएलएको कमाण्डर भएर हङकङ आएका मेजर जनरल पेङले सोमबार प्रमुख कार्यकारी क्यारी लामसँग भेटेर ‘राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्ने’ प्रतिवद्धता जनाएका छन्।
पश्चिम चीनको उइगुर मुस्लिम क्षेत्रमा अर्धसैनिक प्रहरी प्रमुख भएर काम गरेका मेजर जनरल पेङलाई हङकङमा खटाएर बेइजिङले चीन सरकार विरोधी भावनालाई सामाजिक अशान्ति वा आतंकवादमा रूपान्तरण हुनबाट रोक्ने थप प्रयास गरेको टिप्पणी विश्लेषकहरूले गरेका छन्।
सिन्ह्वाका अनुसार पेङ यसअघि चीनको जनसशस्त्र प्रहरीको उपप्रमुख पनि थिए।
पीएलए हङकङको नयाँ राजनीतिक कमिसर को हुनेछन् भन्ने खुलेको छैन।
चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको केही महिनाअघि मात्र यो नियुक्ति भएको छ, जुन महाधिवेशनबाट राष्ट्रपति सी चिनफिङले तेस्रो पटक नेतृत्वको जिम्मेवारी लिने अपेक्षा गरिएको छ। साथै हङकङमा पनि केही महिनाभित्रै नयाँ प्रमुख कार्यकारीका लागि निर्वाचन हुँदैछ।
सन् २०१९ मा हङकङमा बेइजिङविरुद्ध ठूलो प्रदर्शन भएको थियो। त्यसपछि बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा काुनन लागू गरेको छ, जस अन्तर्गत बेइजिङविरोधी दर्जनौँ प्रदर्शनकारी अहिले जेलमा छन्।
‘हङकङको अहिलेको सबैभन्दा ठूलो खतरा भनेको आतंकवाद हो। त्यस क्षेत्रमा पेङको अनुभवले हङकङको आवश्यकता पूरा गर्दछ, त्यसैले उनलाई छनोट गरिएको हो’, पीएलएका पूर्व प्रशिक्षक तथा सैन्य टिप्पणीकार सङ झोङ्पिङले साउन चाइना मर्निङ पोस्टसँग भने।
पीएलए दैनिकका अनुसार पेङले माउन्टेन ईगल कमाण्डोको नेतृत्वमा ख्याती कमाएका छन्, जो किर्गिजस्तानसँग मिलेर चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुम्चीमा २०१९ प्रतिआतंकवाद संयुक्त अभ्यासमा भाग लिएको टोली हो।
पेङलाई सन् २०१८ मा मेजर जनरलमा पदोन्नति गरिएको थियो जतिबेला उनी सिन्जियाङमा त्यो जिम्मेवारीमा थिए। त्यो भन्दा पहिले उनी जिनान मिलिटरी कमाण्डमा प्रशिक्षण विभाग प्रमुख थिए।
बेइजिङस्थित थिंक ट्याङ्क चाइनिज एसोसिएसन अफ हङकङ र मकाउ स्टडीजका उपाध्यक्ष लाउ सिउ–काईले सशस्त्र प्रहरी बलमा पेङको पृष्ठभूमिको हङकङको २०१९ सामाजिक अशान्तिसँग कुनै सरोकार नभएको बताएका छन्।
Shares
प्रतिक्रिया