कोरोना संक्रमण नियन्त्रणको भन्दै हङकङले ल्याएको नयाँ नियमको कारण क्याथे प्यासिफिक एयरलाइन्सले आफ्नो दुई तिहाइभन्दा धेरै उडान घटाउने भएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार क्याथे प्यासिफिकले आफ्नो कार्गो विमानको क्षमता दुई तिहाइभन्दा धेरैले घटाउनुपर्ने छ भने यात्रुवाहक उडान ८० प्रतिशतले घटाउनुपर्नेछ।
हङकङले केही मुलुकमाथि दुई साता लामो प्रतिबन्ध लगाउँदै एयर क्रुको क्वारेन्टिनको नियममा पनि कडाइ गरेसँगै क्याथे प्यासिफिक त्यसको मारमा पर्ने देखिएको हो।
क्याथे प्यासिफिकले आफ्ना कर्मचारीहरुलाई दिएको सूचना अनुसार अहिले नै एयरलाइन्स समस्या छ। कोरोना महामारीपूर्वको तुलनामा अहिले करिब ७० प्रतिशत कार्गो उडान भर्दै आएको र यात्रुवाहक उडान भने १० प्रतिशतमा सीमित रहेको एयरलाइन्सले बताएको छ।
शुक्रबारदेखि भने यो संख्या क्रमशः २० प्रतिशत र २ प्रतिशतमा घट्नेछ।
अहिले नै समस्यामा रहेको क्याथे प्यासिफिकको लागि हङकङको नयाँ नियम अर्को झड्का रहेको जानकारहरुले बताएका छन्। त्यस्तै यसले हङकङको हवाई उड्डयन केन्द्रको पहिचान पनि गुम्न सक्ने चेतावनी दिएका छन्।
क्याथे प्यासिफिकले आफ्ना कर्मचारीहरुलाई दिएको सूचनामा यसले आफ्ना ग्राहकहरु मारमा पर्ने उल्लेख गरिएको छ। क्याथे प्यासिफिकको हवाई उडानमा कटौती महिनाको अन्तिमसम्म जारी रहनेछ।
कोरोना संक्रमणको जोखिम निरन्तर बढ्दो क्रममा रहेकाले त्यसपछि पनि अवस्थामा सुधार हुने सम्भावना कमजोर रहेको जानकारहरुको भनाइ छ।
Shares
प्रतिक्रिया