हङकङमा मापदण्डविपरीत ठूलो संख्यामा मानिसहरु भेला भएको आरोपमा १३ वरिष्ठ अधिकारी निलम्बनमा परेका छन्।
हङकङ प्रमुख क्यारी लामले उनीहरुलाई २१ दिनको क्वारेन्टिन अवधिभरका लागि निलम्बन गरेकी हुन्। साथै उनीहरुमाथि यो अवधिमा थप अनुसन्धान पनि हुने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। हङकङ प्रमुख लामले आफ्नै सरकारको मापदण्ड उल्लंघन गरेको भन्दै सांसदहरुसँग दुःख व्यक्त गरेकी छिन्।
यसअघि गत सोमबार भएको एक जन्मदिनको पार्टीमा सहभागी भएका वरिष्ठ अधिकारीहरु र सांसदहरुसहित १७० जनालाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको थियो।
उक्त पार्टीमा सहभागी दुई जनामा कोभिड–१९ को संक्रमण देखिएसँगै सहभागी सबैलाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको हो।
सोमबार हङकङका स्थानीय प्रतिनिधि विटम्यान हुङ वाइ–मानको ५३ औं जन्मदिन परेको थियो। सो क्रममा वरिष्ठ अधिकारी तथा सांसद सहभागी भएका थिए।
हङकङको सरकारले मानिसहरुलाई संक्रमण नियन्त्रणको लागि भन्दै ठूलो भेला नगर्न आग्रह गरिरहेको अवस्थामा वरिष्ठ अधिकारीहरुले नै यस्तो भेला आयोजना गरेको खुलेको हो।
सोमबार भएको पार्टीमा आप्रावासनका निर्देशक औ का वाङ, गृह मामिला प्रमुख कास्पर त्सुई यिङ वाइ र अन्य २० सांसदहरु पनि उपस्थित थिए। पार्टीमा सहभागी सबैलाई २१ दिन क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ।
स्वास्थ्य नियामकका अनुसार पार्टीमा सहभागी हुने मानिसहरुको परिवारलाई पनि ४ दिन क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ।
शुक्रबार आप्रवासनका निर्देशक औ का वाङले आफू उक्त पार्टीमा सहभागी भएको भन्दै माफी मागेका छन्। उनले आफू यस किसिमको पार्टीमा सहभागी हुन नहुने यसले हङकङका नागरिकमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी रहेको उनको भनाइ छ। उनले आगामी दिनमा यस्ता कुरामा सतर्क रहने प्रतिबद्धता पनि जनाएका छन्।
Shares
प्रतिक्रिया