हङकङले फेरि कोरोना संक्रमण रोक्न प्रतिबन्धका कदमहरु चालेको छ।
रेष्टुराँदेखि अन्तर्राष्ट्रिय यात्रासम्ममा हङकङले कडाइ गरेको हो।
यसअनुसार साँझ ६ बजेदेखि रेष्टुराँ बन्द हुनेछन् भने आठ देशबाट उडान गर्न पनि रोक लगाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बुधबार पत्रकार सम्मेलन गर्दै कोरोना फेरि फैलिने जोखिम बढेकाले कडाइ गर्नुपरेको बताइन्।
‘अहिले महामारीको अवस्था द्रुतगतिमा बदलिएको छ जुन चिन्ता गर्नुपर्ने खालको छ’, लामले भनिन्, ‘आज हामी द्रुत, निर्णायक र चुस्त कदम चालेर भाइरस फैलावटको ‘चेन कट’ गर्न चाहन्छौँ।’
योसँगै बार र पबहरु, फिटनेस सेन्टर, थिम पार्क, संग्रहालय, पार्टी रुम, ब्युटी पार्लर, स्विमिङ पुललगायतलाई शुक्रबारदेखि दुई हप्ता बन्द हुनेछन्। रेस्टुराँले पनि हरेक दिन छ बजेदखि बिहान ४ः५९ बजेसम्म ग्राहकलाई सेवा दिन रोक्नुपर्नेछ।
लामले अस्ट्रेलिया, बेलायत, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स र अमेरिकाबाट शनिबारदेखि लागू हुने गरी जनवरी ११ सम्म उडान प्रतिबन्ध लगाएको बताइन्।
रेष्टुराँमा टेबलमा बस्ने मानिसहरुको संख्या समेतघटाइएको छ। यसअनुसार टाइप बी प्रिमाइसेसमा दुई जना, टाइप सीमा चार जना, टाइप डीमा छ जना बस्न पाइने भएको छ। यसअघि क्रमशः ४, ६ र १२ जना बस्न पाउँथे।
बुधबार सल्लाहकारहरुले संक्रमणको पाँचौँ लहरको चेतावनी दिएका थिए। सरकारले तत्काल कदम चाल्न ढिला भइसकेको सल्लाह पाएसँगै हङकङमा कडाइ गरिएको बताइएको छ।
Shares
प्रतिक्रिया