हङकङको सबैभन्दा ठूलो विपक्षी पार्टीले गरेको एक सर्वेक्षणले दुई तिहाइ मानिस आफ्नो हङकङको बसाइमा खुसी नरहेको देखाएको छ। सर्वेक्षणका अनुसार ५ मध्ये १ जना मानिस हङकङ छाड्ने सोचमा छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार डेमोक्रेटिक पार्टीले फोनबाट हङकङका ५३४ मानिसमा सर्वृेक्षण गरेको थियो।
डिसेम्बर १४ देखि २४ को बीचमा गरिएको सर्वेक्षणमा ५८ प्रतिशतले हङकङमा आफू खुसी नरहेको र यहाँ बस्न मन नलागेको बताएका थिए। ३४ प्रतिशत मानिसले मात्र हङकङमा आफूहरु खुसी रहेको बताएका थिए।
सर्वेक्षणको क्रममा २२ प्रतिशत मानिसले हङकङ छाड्ने योजनामा रहेको सुनाएका थिए। हङकङ छाड्ने योजना रहेकाहरुमध्ये ७५ प्रतिशतले युनिभर्सिटीको डिग्री पूरा गरेका छन्।
पार्टीको आर्थिक नीतिका प्रवक्ता चान पो–मिङले अहिलेको सरकारले सन् २०१९ मा उत्पन्न भएको सामाजिक अस्थिरतालाई पुर्न नसकेको सर्वेक्षणले देखाएको बताए।
‘सन् २०१९ पछि मानिसहरु सरकारसँग निराश छन् र सरकारलाई विश्वास पनि गरेका छैनन्। सरकारले मानिसहरुको चाहना र मागलाई गम्भीरतापूर्वक लिएको छैन’, उनले भने।
सर्वेक्षणमा मानिसहरुको सरकारप्रतिको असन्तुष्टि निरन्तर बढ्दो क्रममा देखिएको उनले बताए।
सन् २०२० मा हङकङमा राष्ट्रिय सुरक्षा कानुन ल्याइएसँगै क्यानडा र बेलायतलगायतका केही मुलुकले हङकङका नागरिकको लागि विशेष भिसाको योजना ल्याएका छन्।
बेलायतले हङकङका लागि ल्याएको नागरिकता दिने योजनामा गत नोभेम्बरसम्ममा ८८ हजारभन्दा धेरैले आवेदन दिइसकेका छन्।
जसमध्ये ७६ हजारभन्दा धेरैले अनुमति पनि पाइसकेका छन्।
अहिलेको सर्वेक्षणले भने हङकङका शिक्षित मानिसहरु अन्यत्र बसाइँ सर्ने योजनामा रहेको देखिएको चानको भनाइ छ।
Shares
प्रतिक्रिया