मुख्यभूमिसँग हङकङको नाका खुल्न कम्तीमा चार महिना लाग्ने बताइएको छ।
दुवै पक्षबीच चारदेखि पाँच महिनाको कुराकानीपछि मात्रै सीमा खुल्ने हङकङ सरकारका कोभिड–१९ सल्लाहकार प्राध्यापक डेविड हुइ सु–चेङले बताए।
वार्तापछि दुवै पक्षका स्वास्थ्य अधिकारीहरुले हङकङले महामारी नियन्त्रणका लागि गर्नुपर्ने थप कामहरुको सूची तय गरिने हुइले बताए। त्यस्तै मुख्यभूमिबाट निरीक्षणका लागि विज्ञहरु हङकङ आउनसक्ने पनि उनको भनाइ छ।
आइतबार हङकङमा नयाँ संक्रमित फेला परेका छैनन्। हालसम्म सहरमा १२ हजार २२६ जना संक्रमित बनेका छन् भने २१३ जनाको ज्यान गएको छ।
‘हामीले विदेशबाट कोरोना छिर्न नदिए र सहरमा भाइरस फैलिन नदिन चीनकै तहमा सुरक्षा उपाय अपनाउन सके मुख्यभूमिसँगको सीमा खोल्न हामी सक्षम हुने विश्वास मलाई छ,’ हुइले भने।
गतसाता दुवै पक्षका अधिकारीहरुबीच सेन्झेनमा वार्ता भएको थियो। चाँडै अर्को चरणको वार्ता हुने विश्वास हुइले व्यक्त गरे।
पछिल्लो वार्तामा चीनले हङकङका परीक्षण र क्वारेन्टिनका मापदण्डमा सुधार गर्नुपर्ने बताएको थियो।
हुइले अस्पतालबाट संक्रमितहरुको डिस्चार्जका विषयमा पनि हङकङले कडाइ गर्नुपर्ने बताए,
हङकङमा सीटी भ्यालु ३३ भएका बिरामीलाई डिस्चार्ज गर्ने गरिन्छ। किनभने तिनले कोभिड सार्ने सम्भावना न्यून छ। तर, चीनमा दुई पटक नेगेटिभ नतिजा नआई बिरामी डिस्चार्ज गरिँदैन। एससीएमपी
Shares
प्रतिक्रिया