यी हुन् सिटी युनिभर्सिटी हङकङका सबैभन्दा कान्छो विद्यार्थी

यी हुन् सिटी युनिभर्सिटी हङकङका सबैभन्दा कान्छो विद्यार्थी

नेपालखबर
असोज १४, २०७८ बिहिबार १८:५०, काठमाडौँ

एक तेह्र वर्षीय किशोर हङकङको सिटी युनिभर्सिटीको इतिहासकै कम उमेरको विद्यार्थी बनेका छन्।

गणितमा विलक्षण सन कङ को–लुन स्कुलमा हुँदा आफ्ना सहपाठीभन्दा कान्छा थिए। किन्डरगार्टेनदेखि नै उनले अनेक पटक कक्षा फट्केका थिए।

‘सामान्यभन्दा कम उमेरमै म विश्वविद्यालयमा भर्ना भएँ। तैपनि मैले धेरै दबाब महसुस गरिनँ। किनभने म अरु विद्यार्थीहरुसँग मित्रवत् रुपमा कुराकानी गर्ने गर्छु,’ उनले भने, ‘त्यसैले आफूलाई सबैले स्वीकार गरेको महसुस भएको छ।’

सन इन्जिनियरिङ अध्ययन गर्दैछन्। भविष्यको प्रविधिलाई आकार दिने उनको सपना छ, खासगरी उत्पादनसँग सम्बन्धित क्षेत्रमा।

‘इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ इन्जिनियरिङ नामक कोर्स लिँदैछु। मेरो लागि यो विषय निकै रोचक छ। किनभने यसले कम्प्युटर साइन्ससँग सम्बन्धित आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटाजस्ता विषयलाई उद्योगको प्रक्रियासँग जोड्छ,’ बुधबार उनले पत्रकारहरुसँग भने, ‘त्यस्तै यो चौथो औद्योगिक क्रान्तिसँग पनि सम्बन्धित छ। त्यसैतर्फ अध्ययन जारी राख्नेछु।’

बाल्यकालमै उनी पढाइमा तेज थिए। पाँच वर्षको उमेरमै उनी दोहोरो अंकको गुणन गर्न सक्थे। त्यसैले उनले विद्यालय शिक्षामा तीन पटक फट्को हाने। 

माध्यामिक तहमा हुँदा उनले विश्वविद्यालयमा भर्नाका लागि तयार हुन मनोवैज्ञानिक सहयोग पनि लिएका थिए।

‘विश्वविद्यालय जीवनका लागि तयार हुन मलाई थेरापिस्टले सघाए,’ उनी भन्छन्।

खाली समयमा आफूलाई पढ्न, चेस खेल्न र पाइथन, जाभाजस्ता ‘प्रोग्रामिङ ल्यांग्वेज सिक्न मन पर्ने उनी बताउँछन्। 

हङकङ बाप्टिस्ट विश्वविद्यालयले सम्बन्धन दिएको वङ काम फाइ स्कुलका उनी दोस्रो त्यस्ता विद्यार्थी हुन्, जो कलिलैमा विश्वविद्यालय भर्ना भएका थिए। यसअघि १५ वर्षीय हो च चुन त्यहीँबाट अक्सफोर्ड विश्वविद्यालय पढ्न गएका थिए।

सो स्कुलमा शिक्षकहरुले ‘उच्च सम्भावना’ देखेका विद्यार्थीलाई द्रुत गतिमा कक्षा चढाउने ‘गिफ्टेड एजुकेसन सेन्टर’ छ।

उदाहरणका लागि गणितमा प्रतिभाशाली विद्यार्थीलाई माथिल्लो कक्षाको परीक्षा दिने र कक्षा चढ्ने सुविधा हुन्छ। 

सनजस्ता विलक्षण विद्यार्थीको स्वस्थ विकासलाई प्रबद्र्धन गर्न सो सेन्टर खोलिएको स्कुलकी सहायक प्रिन्सिपल क्लाउडिया लिउ विङ–की बताउँछन्।

‘सन अत्यन्त राम्रा विद्यार्थी हुन्। हामी अरु थुप्रै प्रतिभाशाली विद्यार्थी विकास गर्न चाहन्छौँ, उनीहरुको उपहारलाई निखार्न चाहन्छौँ,’ उनी भन्छिन्। एससीएमपी


 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .