हङकङका भन्सार अधिकारीहरुले १५ करोड हङकङ डलर बराबरको लागुऔषध बरामद गरेका छन्।
नरिवलको तेलको बट्टामा हालेर ल्याइएको १,९२० बोतल मेथामफेटामिन मेक्सिकोबाट विमानमा हङकङ आइपुगेको हो। दुई दशकको इतिहासमा यो हवाई मार्गबाट ल्याइएको र बरामद भएको सबैभन्दा ठूलो परिमाणको लागुऔषध भएको अधिकारीहरुले बताएका छन्।
भन्सार विभागका निरीक्षक ली मानलोकका अनुसार २३० किलो सो लागुऔषध अस्ट्रेलियालगायतका मुलुकतिर लगिँदै थियो।
यसअघि जुलाई २० पनि १४५ किलो तरल मेथ विमानस्थलमा पक्राउ परेको थियो।
सेप्टेम्बर १२ का दिन ७ हजार ६८० बोतल नरिवलको तेल ल्याउने अनुमति लिएर त्यसमा लागुऔषध लुकाएर ल्याइएको हो।
मेक्सिकोबाट नरिवलको तेल विरलै हङकङ ल्याइने हुनाले यसले शंका उब्जाएको अधिकारीहरुले बताए। हरेक बाक्सामा ४८ बोतलका दरले १६० वटा बाक्सा ल्याइएको थियो।
एक्स रेमा हेर्दा बोतलहरुमा भएका तरल पदार्थको रङ फरकफरक देखियो। त्यसपछि बाक्सा खोलेर हेरिएको थियो।
‘सतप्रतिशत शुद्ध नरिवलको तेल भनेर बोतलमा लेबल लगाइएको थियो। तर, केही बोतल खोल्दा नरिवलको तेलको बास्ना आएन,’ भन्सारका सहायक निरीक्षक चु काविङले भनिन्।
सबै खोलेर हेर्दा ७,६८० बोतलमध्ये १,९२० बोतल लागुऔषध फेला प¥यो। बाँकी रहेका ५७६० बोतल पनि नरिवलको होइन, मकैलगायत अन्य वनस्पतिको तेल भएको पाइएको छ।
अधिकारीहरुले यससँग सम्बन्धित एक ४५ वर्षीय पुरुषलाई पक्राउ गरेका छन्। जसले सेप्टेम्बर १४ का दिन कार्गोमा यो सामान बुझ्ने प्रयास गरेका थिए। एससीएमपी
Shares
प्रतिक्रिया