हङकङका बासिन्दा मुख्यभूमि चीन र मकाउबाट बिना क्वारेन्टिन घर फर्किन पाउने भएका छन्।
बुधबारदेखि यो व्यवस्था लागू हुने र एक सातापछि गैर आवासीयका हकमा पनि लागू गरिने प्रमुख कार्यकारी क्यारी लामले बताएकी छन्।
‘रिटर्न टु एचके’ नामक यो कार्यक्रम मकाउ र गुआङदोङ प्रान्तका लागि गत नोभेम्बरमै लागू गरिएको थियो। अप्रिलदेखि चीनको अन्य भूभागमा पनि विस्तार गरिएको थियो। तर, गत महिनादेखि सो कार्यक्रम बन्द गरिएको थियो।
बुधबारदेखि यो कार्यक्रम पुन सुरु गरिएको हो। तर, चीनका उच्च जोखिमयुक्त ६ भूभागबाट भने मानिसहरु फर्किन पाउने छैनन्।
‘गत नोभेम्बरबाट यो कार्यक्रमअन्तर्गत करिब २ लाख बासिन्दा फर्केका छन्। तर, संक्रमणको एउटा पनि केस भेटिएन। त्यसैले बिनाकुनै चिन्ता यो कार्यक्रम हामी अघि बढाउन सक्छौँ,’ लामले पत्रकारहरुसँग भनिन्।
यसबाहेक, सेप्टेम्बर १५ देखि गैरआवासीयहरुलाई पनि बिना कुनै क्वारेन्टिन हङकङ आउन दिने कार्यक्रम लागू गर्ने उनले बताइन्।
सुरुवातमा दैनिक २ हजारलाई आउन दिइने उनको भनाइ छ। एससीएमपी
Shares
प्रतिक्रिया