नेपाल र ग्रेट ब्रिटेनबीच शान्ति तथा मैत्री सन्धि भएको सय वर्ष पुगेको अवसरमा हालै पाटनढोकामा आयोजित कार्यक्रमका एक वक्ताले भने, ‘चन्द्रशमशेरले देशको सार्वभौमिकता जोगाऔँ भनेर भन्दा पनि आफ्नो सत्ता जोगाउनका लागि अंग्रेजको चाकडी गर्नेक्रममा शान्ति तथा मैत्री सन्धि गरेका हुन्।’
त्यसक्रममा आफूले भारतीय राजनीतिका सन्दर्भमा ‘एक्सिडेन्टल प्राइम मिनिस्टर’ पुस्तक पढेको प्रसंग उल्लेख गर्दै उनले नेपालले सार्वभौमिकता जोगाउनु पनि त्यस्तै ‘एक्सिडेन्टल’ (दुर्घटनावश) भन्न समेत भ्याए।
दर्शकदीर्घामा बसेका मजस्तै अरु कतिलाई यो कुरा पचेन, थाहा भएन। तर इतिहासको यति निम्नस्तरको ज्ञान हुनेहरु मञ्चमा पुगेर ज्ञान बाँडिरहेको र आफू चाहिँ त्यसको स्रोता बन्नुपरेकोमा मलाई चाहिँ खिन्नता महसुस भयो।
मैले ठानेँ, कम्तीमा अरु पढ्न जाँगर नलागेको र फुर्सत नमिलेको भए पनि मोहन मैनालीले हालै सार्वजनिक गरेको ‘मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान’ पुस्तक मात्रै पढेको भए हाम्रा पुर्खाले कति दुःख गरेर मुलुक जोगाएका रहेछन् भन्ने यिनलाई जानकारी हुने थियो।
नेपालले आफ्ना छिमेकीसँग कम्तीमा पाँच ठूला लडाइँ लडेको छ। उत्तरतिरको तिब्बत र दक्षिणतिरको ब्रिटिस इन्डियासँग लड्दै, वार्ता गर्दै, सन्धि/सम्झौता गर्दै आजको भूगोल निर्धारण भएको हो। यी लडाइँमध्ये आजभन्दा २ सय ९ वर्षअघि ब्रिटिस इन्डियासँग लडेको लडाइँ हाम्रा लागि सर्वाधिक महत्वको छ। किनभने त्यही लडाइँबाट नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाएर (बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाहेक) आजको सरहद निर्धारण भएको थियो।
नेपालले हार्दै र अंग्रेजले जित्दै गएपछि आफूमाथि परेको दबाब थेग्न नसकेर नेपालले सन् १८१५ डिसेम्बर ३ मा हस्ताक्षर गरेको र १८१६ मार्च ४ बाट लागू भएको सन्धि हाम्रो इतिहासको एउटा पानीढलो घटना हो, जसलाई सुगौली सन्धिका नामबाट चिनिन्छ। त्यही युद्धको सजीव वर्णन मार्फत ‘मुकाम रणमैदान’ ले फेरि एकपटक नेपाली जनमानसमा सो युद्धको स्मरण ताजा बनाएको छ।
विसं १८७१ कात्तिक १० गते बिहान नालापानीबाट सुरु गरेर १८७२ फागुन २५ गते बिहान मकवानपुरमा पुगेर अंग्रेजसँगको युद्ध टुंगिएको थियो। यसबीचमा नेपालले कब्जा गरेका र कैयौँ वर्ष शासन गरेका भूभागहरु एकपछि अर्को गर्दै गुमाउनुपरेको थियो। कयौँ योद्धाहरु रणभूमिमा मारिए, कतिले फौज छाडेर भारततिरै बस्ती बसाए, कति पन्जाबसम्म पुगेर फौजमा भर्ती भए, कति चाहिँ काठमाडौँ फर्केर राजाका अगाडि मुख देखाउन योग्य छैन भन्दै कुनाकन्दरातिरै लुके, कतिले चाहिँ राजाबाट लालमोहर पाएर ससाना ठाउँमा काम गर्ने मौका पाए। यस युद्धको विद्रूप रुप आज सम्झँदा मात्र पनि आङ सिरिङ्ग हुन्छ।
७० वर्षमा लडाइँको नेतृत्व गर्ने भक्ति थापा होऊन् वा त्यतैबाट पन्जाब पुग्ने बलभद्र सिंह होऊन्, उनीहरुले आफ्ना लागि लडाइँ लडेका थिएनन्। गोरखाली राजाको नाम फैलाउन र राज्य विस्तार गर्न जे जति नागरिकलाई लामबद्ध बनाएर उनीहरुले लडाइँ लडे, पछि त्यसको कदर भएन। भक्ति थापाका नातिले हातमुख जोर्न बिन्तीपत्र हाल्नुप¥यो, बलभन्द्र नेपालतिरै फर्केनन्। भीमसेन थापा र उनको परिवारको बीभत्स मृत्यु हाम्रो राजनीतिको एउटा फोहोरी पाटो हो भन्नुपर्छ।
हालैको एक अन्तर्वार्तामा अहिलेका प्रख्यात इतिहासकार तथा लेखक युवल नोह हरारीले भनेका छन्, ‘इतिहास भनेको विगतको अध्ययन होइन, इतिहास भनेको परिवर्तनको अध्ययन गर्नु हो। इतिहासको अध्ययन गर्नु विगतको सम्झना मात्र गर्नु होइन, यसबाट भएका गल्तीलाई नदोहो¥याउनका लागि त्यसबाट आफूलाई मुक्त गर्नु हो।’
अंग्रेजसँग पानी समेत खान नपाएर लडेको त्यस युद्धको हामी कति सम्झना गर्छौं, कति त्यसबाट मुक्त हुन्छौँ, आफ्नो ठाउँमा छ। तर, त्यतिबेलाका युद्धका विभीषिकाहरुलाई सबैले बुझ्ने सरल भाषामा उतारेर मोहन मैनालीले आजको पुस्तालाई इतिहास सम्झाउन खोज्नु पनि आफैँमा यसबीचमा आएका परिवर्तनलाई केलाउनु हो। कुनै एउटा लेखकको वर्णनमा आधारित भएर होइन, युद्ध लडिरहेका सिपाहीहरुले युद्ध मैदानबाट लेखेका पत्रहरुलाई उधिनेर पाठक स्वयम्लाई त्यही युद्धमा सामेल भएको अनुभूति दिलाउन सक्षम यस पुस्तकले हाम्रो इतिहासका कतिपय नखुलेका पाटाहरुलाई उधिनेको छ।
साहित्यमा वर्णन गरेभन्दा, इतिहासमा लेखेभन्दा, कुनै कमान्डरले कल्पना गरेभन्दा युद्ध कैयौँ गुणा बढी भयानक हुन्छ। युद्ध आरम्भ गर्नु शासकहरुको हातमा भए पनि युद्ध कसरी अन्त्य हुन्छ भन्ने कुरा चाहिँ उनीहरुको हातमा पनि हुन्न। एक सेकेन्डअगाडि ट्रिगर दबाउन सकेन भने ज्यानै जान्छ। यस दर्दनाक युद्धका घाउहरु हाम्रो राष्ट्रको शरीरमा अहिले पनि छन्। सुगौली सन्धि गरेर गल्ती भयो कि बुद्धिमानी भयो? इतिहासमा धेरै लेखिएको छ, आ–आफ्ना दृष्टिकोण छन्। तर, युद्धभूमिबाट योद्धाहरुले लेखेका पत्रहरु पढ्दा डेढ वर्षसम्म तिनले अंग्रेजहरुलाई कसरी थेगे होलान् भन्ने प्रश्न खडा हुन्छ।
नेपालसँग कुनै आधुनिक युद्ध सामग्री थिएनन्। अंग्रेजसँग तोपगोला थिए, नेपालीसँग खुकुरी, भाला, बाँसका सुइरा र आत्मबल मात्र थियो। नेपाली सैनिकका लागि तलबभत्ताको पनि व्यवस्था थिएन भन्दा पत्याउन मुस्किल पर्ला तर यथार्थ त्यही हो। अझ कति त पछि सैनिक हुन पाइला भनेर यत्तिकै पनि सघाउन जाने चलन रहेछ। कुनै एउटा कमान्डरलाई जिम्मा दियो, उसले जितेर तिरो उठाएर राज्यलाई पठाउँछ, बाँकी रहेकाले गुजारा चलाउँछ। त्यसैमा पनि अपचलन भएको भनेर दरबारमा कुरा उठेर भाइभारदारबीच खटपट भएको देखिन्छ।
नेपाल राज्य विस्तारका लागि लडाइँ लडेकामध्ये हतियारको अभाव र आर्थिक समस्याका कारण कतिपय चाहिँ अंग्रेजको फौजसँग मिल्न गएका उदाहरण पनि पुस्तकमा छन्। त्यस्तालाई जम्मा गरेर अंग्रेजले नसिरी पल्टन नै बनाएको रहेछ। बिरानो ठाउँमा बाध्य भएर ज्यान बचाउन वा परिवार पाल्नका लागि अंग्रेजसँग मिल्न जाने प्रवृत्तिले नेपाली पक्षलाई गाह्रो पारेको रहेछ भन्ने कुरा त्यतिबेलाका पत्रहरुमा व्यक्त चिन्ताले देखाउँछ। पाल्पाका राजा सुरवीर सेनका साथै कलानिधि तिवारीलगायतका राजा लडाइँ हारेपछि पलायन भएर भारततर्फ गएकाले उनीहरु नेपालका विरुद्ध लड्न संगठित भएका रहेछन्।
भनिरहनै परेन, त्यतिबेला सञ्चारका लागि कुनै टेलिफोन थिएन, रेडियो थिएन। तर, नेपालीहरुको सञ्चार प्रणाली चाहिँ प्रभावकारी रहेछ भन्ने यी चिठीहरु पढ्दा थाहा हुन्छ। हरेक कुराको वर्णन गरेर युद्ध मैदानबाट काठमाडौँलाई जानकारी दिइँदोरहेछ। यसबाट केन्द्रले रणनीति तय गर्न मात्र मद्दत पुगेन, आफ्नो देश कहाँसम्म पुगेको छ र के भइरहेको छ भन्ने जानकारी पनि पाइने भयो। बेलाबेलामा के कसो गरौँ भनेर राय मागिँदा काठमाडौँबाट सही सल्लाह जाने पनि गर्दोरहेछ। चिठीपत्र आदान–प्रदानको तरिका अंग्रेजले थाहा पाएर बीचमै कतिपय पत्रहरु लुटिएका भए पनि जे जति प्राप्त भए, तिनको पनि यसरी संरक्षण हुनु ठूलो कुरा हो। कम्तीमा खोज्न, हेर्न, पढ्न र लेख्न चाहनेका लागि आधिकारिक स्रोत अझै छ।
सुगौली सन्धिमा हस्ताक्षर भएयता त्यसका बारेमा बहस जारी छ। त्यही सन्धिले नेपाललाई खुम्च्यायो भनेर त्यतिबेला पनि विरोध नभएको होइन। खासगरी, मुख्तियार भीमसेन थापा त्यस सन्धिका पक्षमा थिएनन्। राजा गीर्वाणयुद्धले पनि त्यस सन्धिलाई रोक्न, कार्यान्वयन नगर्न, लालमोहर नलगाउन कम्ती आलटाल गरेका होइनन्। वार्ताकार गजराज मिश्र र चन्द्रशेखर उपाध्याले सन्धिमा प्रारम्भिक सही भइसकेपछि पनि अंग्रेजलाई अल्मल्याउन निकै प्रयास गरेको देखिन्छ। अंग्रेज कमान्डर अक्टरलोनीको निवासमै पुगेर उपहारसमेत दिएर आज–आज, भोलि–भोलि भन्दै अल्मल्याउन सकिन्छ कि भन्ने उनीहरुले प्रयास गरेको तथ्यहरुले देखाउँछन्।
अंग्रेजले नेपालको स्थिति बुझिसकेको थियो। पश्चिमबाट नेपाललाई महाकालीवारि धपाइसकेको थियो भने पूर्वतिरबाट पनि कब्जा जमाउँदै हेटौँडा आइपुगेको थियो। बुटवलपारि गोरखपुरतिरबाट एउटा फौज तयारी अवस्थामा थियो भने बीचमा चितवनमा आउने बाटो पनि हेरेको थियो। पश्चिमतिरको भूगाग कब्जा गर्नका लागि अर्को टोली तयारी अवस्थामा राखेको थियो। खासमा नेपाल त्यतिबेला काठमाडौँ खाल्डोमा खुम्चिएको थियो।
बागमतीको किनारै किनार केही गरी अंग्रेज फौज काठमाडौँ पस्न सक्छ भन्ने पूर्वानुमान भएर राजा गीर्वाणयुद्धले सन्धि गर्ने आदेश दिएका थिए। तर, सन्धिमा प्रारम्भिक हस्ताक्षर भइसकेपछि दरबार वरपर रहेका भाइभारदार, युद्ध नलडेका अधिकारी र परस्पर विरोधमा रहेका शक्ति केन्द्रहरुले जति विरोध गरे पनि रोकिने स्थिति थिएन। वार्ताकारका रुपमा गजराज मिश्र र चन्द्रशेखर उपाध्यालाई दोष लगाए पनि उनीहरुले सन्धिमा रहेका एकएक अक्षर दरबारमा सोधेर मात्र अन्तिम रुप दिएको पाइन्छ। उनीहरुका पत्राचारहरुले सन्धिका बेला कति होसियारी अपनाइएको थियो भन्ने देखाउँछ।
इतिहास मरेका दिनहरुको अभिलेख होइन, तिथि–मितिको संकलन पनि होइन। नेपाल राष्ट्र यत्तिकै कसैको कृपा र दयाले स्थापना भएको राष्ट्र होइन। यसको जगमा नाम/बेनाम तमाम पुर्खाको योगदान छ। दक्षिण एसियामा एक मात्र स्वतन्त्र देशका रुपमा नेपालले आफूलाई बचाउन सक्नु हाम्रा पूर्खाको बहादुरी र चातुर्य दुवै हो भन्ने बुझ्नुपर्छ। त्यति विशाल साम्राज्यसँग मुढे बलका आधारमा लड्नु, उनीहरुलाई जित्नु, त्यस भूभागमा केही वर्ष शासन गर्नु र फेरि पनि लडेर टुंगोमा पुग्नु सामान्य कुरा थिएन। त्यही असामान्य अवस्थाको कठोर वर्णन सिपाहीका चिठीहरुमा अभिलिखित छ।
Shares
प्रतिक्रिया