पुँजीवाद त आएकै रहेछ कमरेड !
प्रेम बिक्रीमा छ, ठमेल बजारतिर
डाक्टर बिक्रीमा छ, निजी अस्पतालतिर
मास्टर बिक्रीमा छ, कोचिङ सेन्टरतिर
न्यायाधीश बिक्रीमा छ, ल फर्मतिर
कर्मचारी बिक्रीमा छ, दलाल कार्यालयतिर
ब्रेकिङ्ग न्युज बिक्रीमा छ, सम्पादक कक्षतिर
मतदाता बिक्रीमा छ, चुनावको पूर्वसन्ध्यातिर
आन्दोलनकारी बिक्रीमा छ, भट्टी पसलतिर
नेता बिक्रीमा छ, राजदूतावासतिर।
पुँजीवाद त आएकै रहेछ कमरेड !
पैसा चढाऊ र उचाइ बढाऊ
रकम निकाल र बोसो पगाल
दाम तिर अनि कपाल उमार
पैसा खर्च अनि गोल्ड मेडल खरिद गर
विज्ञापन खनाऊ अनि समाचार किन
ब्रिफकेस चढाउ अनि ठेक्का किन
बजेट मिलाउ अनि प्रमुख अतिथि बन
चन्दा देउ अनि समाजसेवी कहलाऊ
सम्पत्ति दानमा सक्काउ अनि पुण्य कमाऊ
भ्रष्टाचारको भागबण्डा गर अनि अख्तियार मिलाऊ
सबैको मुख टाल अनि अपराधीको ट्याग फाल।
पुँजीवाद त आएकै रहेछ कमरेड !
पैसा खोज अनि जीवनसाथी रोज
पैसा कमाऊ अनि मित्रता टिकाऊ
खल्ती छाम अनि महान् प्रेमी बन
बैंक ब्यालेन्स जाँच अनि बाको उमेर किन
हाड घोट अनि श्रीमतीको खुसी किन
कार्ड घोट अनि असल बाउ बन।
कमरेड मार्क्सले ठिकै भनेका रहेछन्
समाजवादी संविधान बनाए पनि,
समाजवादी दललाई सत्तामा पुर्याए पनि,
सामन्तवादको अन्त्यपछि
आउने त पुँजीवाद नै रहेछ !!
प्रतिक्रिया