दुब्लो, पातलो शरीर। सधैँ भन्दा फरक हुलियामा थिए, फिल्म निर्देशक मनोज पण्डित। झण्डै दुई महिनापछि शान्तिनगरको एउटा चिया अड्डामा भेट्दा उनी निराश र थकित देखिन्थे। र, त्यो निराशालाई उनले संवाद चलुञ्जेल अनौठोसँग पोखिरहे।
गत पुस पहिलो सातातिर कर्णाली र सुदूरपश्चिम यात्रामा निस्केका थिए, उनी। यात्राबाट फर्किएको केही हप्तासम्म उनलाई उनीभित्रकै ‘लघुताभास’ले थिचिरहेको रहेछ। ‘गाउँ अन्धकारमा छन्, हामीले के योगदान गर्न सक्यौं ?’ उनी अमूर्त कुरा गर्दै भुलिरहेका थिए। चमक हराएको उनको अनुहार हेरेर मैले अनुमान लगाउन सकें।
उनको कर्णाली यात्राबारे जान्ने उत्सुकता थियो। तर यात्राबारे कोट्याउँदै गर्दा पिरोल्दो रहेछ। ‘मैले त्यहाँबाट कथा होइन, व्यथा लिएर आएँ। र, मलाई त्यसैले पोलिरहेको छ,’ पन्छिन खोज्दै मनोजले भने।
उनमा एउटा ‘पागलपन’ छ। त्यही ‘पागलपन’का कारण जोखिम मोलेर ‘ग्रेटर नेपाल’ निर्माण गरे। ‘दासढुंगा’ र ‘वधशाला’ त्यसैका उपज हुन्। ‘उनी यसपालि पनि त्यही ‘पागलपन’ बोकेर हिँडेका हुन्,’ मैले यसरी लख काटेको थिएँ। प्रसंग कोट्याउँदै गर्दा उनले यति खुलाइहाले, ‘म ‘जीवनचक्र’ टेलिसिरियल बनाउन डोटी र मुगु पुगेको थिएँ। सुटिङ सकेर फर्किएँ।’
त्यही क्रममा उनले गोजीबाट मोबाइल झिके। र, आफ्नै फोटो देखाउँदै भने, ‘मैले हातमा लिइरहेको मान्छेको खप्पर हो। ऊ यो ओडार छ नि! यहाँ मान्छेका दुई सय जति खप्पर होलान्।’
अब्बुई ! आङ नै सिरिङ्ग भयो मेरो। ‘यस्तो ओडार पनि छ र?,’ अवाक् हुँदै सोधेँ, ‘छ, यस्तो गुफा मुगुमा छ। त्यहाँ निको नहुने भएपछि बिरामी मान्छेलाई छाडिने रहेछ। हामीले त्यहाँ पनि सुटिङ गर्यौं।’
तस्बिर हेरेपछि केहीबेर सन्नाटा छायो। सन्नाटाबीच चिया आइपुग्यो।
‘अनि दाइ, बिरामी उपचार गर्ने स्वास्थ्य चौकी थिएन ?’ चिया पिउँदै सन्नाटा चिरेँ। ‘त्यही त दुर्भाग्य भनौँ। कारमारङ भन्ने ठाउँमा एउटा स्वास्थ्य चौकी थियो, तर त्यहाँ भूत रहेको हल्लाले बन्द गरिएछ,’ उनले रहस्य पोको खोतल्दै भने।
लगत्तै त्यहाँको भिडियो पनि देखाए मलाई। त्यो भिडियो डोटीको बक्लेखमा खिचिएको रहेछ। स्वास्थ्य चौकी प्राङ्गणमा विमारले थलिएकी एक युवती थिइन्। उनलाई एक वृद्धले ‘झारफुक’ गरिरहेका थिए। ‘यो के गरेको ?’ मनोजको प्रश्नमा अर्का वृद्धले भने, ‘झाँक्री निकालेको।’
‘अहिले पनि धामी झाँक्रीकै भर परेर हुन्छ त ?’ प्रश्न सुनेपछि ती वृद्धले एकछिन घुरेर हेरे।
‘ती बिरामी बहिनी त्यही स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी थिइन्,’ भिडियो हेरिसकेपछि मनोजले सुनाए, ‘त्यो यस्तो ठाउँ रहेछ, जहाँको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी भन्दा धामी झाँक्री भेटिने। अनि स्वास्थ्यकर्मी पनि तिनैलाई विश्वास गर्ने रहेछन्।’
सुटिङका क्रममा उनले थुप्रै तीता यथार्थ झेले। यिनै यथार्थलाई स्क्रिप्टमा उतारेर सिरिज बनाए। ‘मैले त्यहाँको जीवन देखाउनु थियो। वास्तविकता देखाउनु थियो’, मनोजले सुनाए, ‘अनेक कठिनाइबीच सुटिङ सकेर फर्किएँ।’
तर, त्यहाँको कष्टदायी जीवनलाई टेलिसिरियलमा उतार्न कलाकार चाहिन्थ्यो। ‘यो कठिन अभिनय यात्रालाई सहज बनाउने कलाकार को थिए त?,’ कौतुहल लाग्यो। ‘जो यही तीतो यथार्थबाट गुज्रिरहेका छन्। जसले मैले बनाएको सिनेमा देख्न पनि नसक्लान्,’ मनोजले अर्को आश्चर्य सुनाए।
उनी बेलाबखत भन्ने गर्छन्, ‘सिनेमा निर्देशकको माध्यम हो।’ त्यसैले उनले खेत खनिरहेका, ढुंगा फोडिरहेका, घाँस काटिरहेका गाउँलेलाई कलाकार बनाए। ‘उनीहरूले जुन जीवन बाँचेका छन्। त्यसको कथा उनीहरूले नै भनून् भन्ने लाग्यो। र, उनैलाई कलाकार बनाएँ,’ मनोजले सुनाए।
(त्यो दिन संवाद यतिमै रोकियो। मलाई लाग्यो, मनोज किन निराश छन्? अँध्यारोका कारण! उपचार नपाइ मृत्युवरण गर्नेको पीडादायी यथार्थका कारण ! त्यति मात्रै होइन, उनले सपना नदेख्ने गाउँलेको आँखामा सपना भरिदिए। अभिनयको भोक जगाइदिए। अनि, अर्को भेटमा आफ्ना यात्रा र कठिनाइबारे लामै सुस्केरा पोखे।) ०००
बा'को सपना आमाको रहर
छोरालाई डाक्टर बनाउने हो,’ मनोजका बाले साँचेको सपना यही थियो। तर त्यो पूरा भएन। मनोज आफ्नै हुटहुटी र जिद्दीले फिल्म मेकर त बने। तर, आमाले मनोजका कुनै सिनेमा हेर्न पाइनन्। र, आमाको रहर जीवितै थियो।
नेपाल टेलिभिजनबाट गत मंसिरमा एउटा प्रस्ताव आयो, ‘स्वास्थ्यसम्बन्धी टेलिसिरियल बनाउने। बजेट हेरे, निराश भए। फाइदा छँदै थिएन। तर सोचे– बा'को सपना, आमाको रहर। ‘स्वास्थ्य क्षेत्रमा योगदान गर्न सके बा खुसी हुन्छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुँदा आमाले देख्न पाउनुहुन्छ,’ उनले मनन गरे। र, काम गर्ने मनस्थिति बनाए।
मेरै देश हो र ?
त्यसपछि कलाकार विशाल पोखरेलसँग सुदूरपश्चिम यात्रामा निस्किए, अवलोकनकर्ता बनेर। सुरुमा डोटीको बक्लेख पुगे, जुन पिछडिएको एउटा ठाउँ थियो। त्यहाँका पुरुष अधिकांश समय मातेका हुन्थे। तर महिला भने काममा जोतिएका जोतियै। त्यतिबेला एउटा ‘आउटसाइडर’ भएर जाँदा मनोजलाई लाग्यो, ‘यो मेरै देश हो र ?’
‘हामीले जस्तो यहाँ बाँचिरहेका छौं। हाम्रो जीवनशैलीको एक भाग पनि उनीहरूले बाँच्न पाएका छैनन्,’ उनले सुनाए।
सुरुमा मनोजको भाषा कसैले बुझेनन्। र, सहयोग पाउन पनि कठिन भयो। धन्न, एकजना शिक्षक सघाउन तयार भए। त्यही घटनाबाट उनीहरूले एउटा फर्मुला अपनाए, ‘कुनै पनि ठाउँमा जाँदा सुरुमा शिक्षक भेट्ने।’
डोटीबाट उनीहरूको यात्रा कर्णालीतिरको थियो। तर, डोटीकै यात्रामा गोजी रित्तियो। अब के गर्ने ? ‘हामीसँग टिकटको पैसा पनि थिएन। मुगु पुगेपछि तपाईंलाई कोहीसँग पैसा मागेर गरिदिन्छौँ। मुगुसम्म खुवाउने जिम्मा पनि तपाईंको,’ जुन बसमा चढे, त्यही बस ड्राइभरलाई आग्रह गरे।
खै कसरी, कसरी बस चालक र सह–चालक ‘कन्भिन्स’ भए।
‘मुगु पुगेपछि एकजना भाइसँग पैसा मागेर दियौँ,’ मनोजले सुनाए।
मुगुमा स्वास्थ्यकर्मीहरूले राम्रो सहयोग गरे उनीहरूलाई। तर, स्थानीयसँग बोल्न सहज थिएन। केही दिन बसेपछि मात्रै आफ्ना कुरा खोल्न थाले। यात्राका क्रममा मनोजले अनुभूति गरे, ‘त्यहाँका मान्छे स्वास्थ्य चौकी जाँदैनन्।’
विरामी देश
सुदूरपश्चिम र कर्णाली पुगेपछि उनीहरूको यात्रा रौतहटतर्फ मोडियो। त्यहाँको एक दुर्गम गाउँमा स्वास्थ्य चौकी थियो, तर स्वास्थ्यकर्मी जाँदै नजाने। उनीहरूले देखे, स्वास्थ्यचौकीको छाप्रो पानी चुहिएर लड्नै लागेको।
त्यहाँका कर्मचारीको निराश अवस्था उनलाई सबैभन्दा खतरनाक लाग्यो। उनले ठाने, ‘अब मैले यही निराशालाई तोड्नुपर्छ।’
त्यसपछि काठमाडौं फर्किए, पुस अन्तिममा। फर्किँदा मनोजसँग केही दृष्टिकोण थिए, आक्रोश पनि थपिए, पीडा र चिन्ता त छँदै थिए। एक महिनाको यात्राबाट उनको दृष्टिकोण नै बद्लियो, यो देश त बिरामी छ।’
०००
भूतको डर, नेताको अवरोध
मनोजले दोस्रो पटक सुरु गरे सुदूरपश्चिम यात्रा। सुटिङका लागि ‘मिनी टिम’ सहित मुगु र डोटी पुगे। यो यात्रा पहिलेभन्दा कठिन र चुनौतीपूर्ण थियो। अहिले सम्झिँदा उनी अचम्मित हुन्छन्। स्वास्थ्यसम्बन्धी टेलिसिरियल बनाउनु थियो। तर, ती ठाउँका हरेक घरमा झाँक्री थिए। ‘त्यहीकारण मेरो कथामा झाँक्री भर्सेस स्वास्थ्यकर्मी हुने भए’, मनोजले सुनाए, ‘झाँक्रीहरूको यथार्थ अगाडि ल्याउन थालेपछि मलाई एक समूहले अवरोध गरिहाले, विरोधमा उत्रिहाले।’
स्क्रिप्टमा झाँक्रीको भूमिका थियो। त्यसमा खेल्न एक स्थानीयलाई तयार पारेका थिए। तर, अभिनय गर्ने बेला ती स्थानीय आत्तिए। ‘नाइँ, मैले यो मन्त्र पढें भने मलाई भूत चढ्छ। गाउँलेले राम्रो भन्दैनन्,’ उनी भड्किन थाले।
मनोज उनलाई ‘कन्भिन्स’ गर्न खोज्थे। उनी माने जस्तो गर्थे, तर क्यामेरा अगाडि टेक लिने बेला फेरि त्यही कुरा दोहोर्याउँथे, ‘यो मैले गर्न हुन्न। झाँक्रीले बाहेक कसैले गर्नुहुन्न।’
अब पर्यो फसाद ! त्यहाँ कसैले झाँक्री बन्नै मानेनन्। ‘यसले समाजलाई भाँड्छ’ भनेर सहयोग पनि गरेनन्। मनोज आजित भए। संयोगवश, सडक नाटक गरेका एक पुरुष रहेछन् त्यहाँ। मनोजको थुप्रै प्रयासपछि राजी भए। तर सुटिङ
हुँदा उनी पनि डराइरहे, ‘यो ग¥यो भने त मलाई पनि पिशाच लाग्छ।’
मनोजलाई लाग्यो, ‘यहाँका मान्छेसँग यहीँको विश्वास प्रणाली छ। फिल्म मेकिङमा मैले उनीहरूको विश्वास भत्काउने होइन। कथा देखाएर भत्काउने हो।’ त्यसपछि उनले आफ्नो फर्मुलामा पुनर्विचार गरे।
सुटिङ दौरान झाँक्रीले नै उनलाई अवरोध गरिरहे। त्यो त सामना गर्नु थियो नै। तर, गाउँमा जाने बुझेका भनिने नेता नै सुटिङ भाँड्न लाग्दा भने मनोजलाई पिर पर्यो। ‘भेट्न गइनँ भनेर उनीहरूले मलाई असहयोग गर्न थाले’, मनोजले सुनाए, ‘सुटिङलाई अवैधानिक भनेर हल्ला फैल्याइरहे। मविरुद्ध अनेक रणनीति बनाए।’
त्यसपछि मनोज नेताका घर घर पुगेर भने, ‘के हो त यो नेताज्यू ? मैले के गर्नुपर्थ्यो?’
त्यसपछि उनीहरू हच्किए। र, अवरोध गर्न आएनन्। कथामा मनोजले जे भोगे, त्यसैलाई समेटे। ‘एकातर्फ छायाँकन हुँदै गर्दथ्यो। अर्कोतर्फ तिनै कथाको प्लट निर्माण हुँदै गर्दथ्यो,’ उनी सम्झिन्छन्। हरेक बिहान साथीहरू सुतिरहँदा मनोज भने ४ बजे उठेर पटकथा, संवाद लेखिरहेका हुन्थे।
०००
सुटिङ खेर जाने डर
सुरुका तीन दिन कलाकार नआउँदा सुटिङ रोकिएको थियो। मुख्य कलाकार छानेर गएका मनोज, फर्किँदा तिनै कलाकार कुरेर तीन दिनसम्म छट्पटाए। ‘ती पात्र भूत आउने अन्धविश्वासले बन्द स्वास्थ्य चौकीका कर्मचारी थिए। उनी नआएपछि अर्को पात्र छान्यौँ,’ उनी सुनाउँछन्।
डोटीमा एउटा संयोग जुर्यो। उनले एक महिला पात्र कल्पना गरेका थिए। जसलाई मानसिक रोग लागेको हुन्छ, तर गाउँमा उपचार सम्भव हुँदैन। नभन्दै उनले भूमिका दिएको स्कुल पढ्ने किशोरीको समस्या उही प्रकृतिको रहेछ।
‘तर उनको अभिनय कलाबाट म निकै प्रभावित थिएँ। उनी साँच्चै क्षमतावान थिइन्,’ मनोजले सम्झिए।
पाँचौँ दिनसम्म दिलचस्पीसाथ अभिनय गरेकी उनले छैठौं दिन सरप्राइज दिँदै भनिन्– ‘अब म गर्दिनँ।’ त्यसपछि उनी आइनन्। पाँच दिनसम्म कठोर मिहिनेतसाथ गरेको सुटिङ खेर जाने भयो। मनोजले धेरै प्रयास गरे, आग्रह गरे। तर, मनाउन सकेनन्। ‘त्यसपछि ठूलो तनाव आइलाग्यो। सबै सकियो सोचेँ। तर उनको के दोष थियो र ? उनी आफैँ मानसिक समस्या थिइन्। आफैंलाई बुझाएर अर्को कलाकार खोज्न थालेँ,’ मनोजले सम्झिए। त्यसपछि अर्की कलाकार मिलिन्। र, पाँच दिनको काम शून्यबाट नै थाले उनले।
एक पटक त मनोजले हात नै जोड्नुपर्यो। एउटी कलाकारले दुई दिन सुटिङ गरेपछि तेस्रो दिन नआउने भनिन्। ‘अघिल्लो दिन सुटिङमा बढी बोलिन् भनेर श्रीमान्ले घरमा राति पिटेछन्। अनि डराएर सुटिङमा आइनन्’, मनोजले सुनाए, ‘मैले श्रीमान्लाई सम्झाएपछि राजी भइन्। तर, सुटिङ अवधिभर ती बहिनीको आँखामा श्रीमान्कै डर देखिन्थ्यो।’
यस क्रममा कथाको पात्रभन्दा कलाकारको जीवनमा बढी समस्या देखे उनले। यस्तो चुनौती, जसको समाधान नै थिएन। ‘त्यतिबेला सहरमा जानेका फिल्म मेकिङका केही कुराले पनि काम नगर्ने रहेछन्। सहरमा सोचिएको पटकथाले काम नगर्ने रहेछ’, उनले थपे, ‘यस्तो किसिमको फिल्म मेकिङमा जीवनलाई नजिकबाट नियालेर मात्रै सम्भव हुने रहेछ।’
म पनि खेल्ने
यी अप्ठ्याराबीच पनि मनोजले गाउँका मानिसलाई सपना देखाए–अभिनयको अनि अर्थपूर्ण जीवनको। सुरुमा असहयोग गर्ने नै विस्तारै अभिनयमा चासो दिन थाले।
र, भन्न थाले– मलाई पनि खेलाउनुस् न फिल्म !
सातजना वृद्धलाई अहिले पनि सम्झिन्छन्, मनोज। निराशामा बाँचिरहेका उनीहरूमा मनोजले आशाको दियो बालिदिए, ‘अभिनय जीवनको आशा हो।’ त्यसपछि ती वृद्धहरू राजी भए। र, उनीहरूले जे काम गरे, त्यो मनोजका लागि अविस्मरणीय छ।
०००
केही दिनअघि मनोजसँग भेट भयो, बुद्धनगरमा। ‘जीवनचक्र’ आइतबारबाट प्रसारण हुँदैछ,’ भेट्नासाथ खुसी साटे। ‘त्यसो भए आमाले पनि हेर्न पाउनुहुन्छ अब,’ मैले हाँस्दै थपेँ।
उनले हल्का हाँसेर जवाफ फर्काउँदै भने, ‘तर मलाई डर छ, चिन्ता र छटपटी छ– ती निर्दोष अनुहार सम्झिएर।’
उनी केहीबेर रोकिए। अनि सन्देहपूर्ण मुद्रामा भने, ‘मैले ज–जसलाई कलाकार बनाएँ, उनीहरूको जीवनमा हस्तक्षेप भयो। कतै मैले अन्याय त गरिनँ।’
‘फर्किने बेलामा जब मैले डोटी छाडेँ। फेरि त्यहाँ जाने चाहना मरेर गयो। मलाई लागिरह्यो, त्यस्ता त गाउँ नै नहुन्। उनीहरूको पीडासँग साक्षात्कार गर्नै नपरोस्। पारी थुम्कोमा पुगेर गाउँ नियाल्दा लाग्यो– जससँग म छुट्टिएँ, अब यिनीहरुलाई फेरि भेट्नै नपरोस्।’
सुटिङका क्रममा मनोजलाई प्रश्न गरेका थिए, ‘हामीले अभिनय गरेपछि हामीलाई चाहिँ के मिल्छ, हाम्रो लागि के हुन्छ ?’
त्यतिबेला उनले झुटो आश्वासन दिँदै भनेका थिए, ‘यो फिल्म प्रसारण भएपछि देश विदेशमा सबैले हेर्छन्। अनि सरकारले सहयोग गर्नेछ।’
तर, यति भनिरहँदा उनी आफैं पनि ढुक्क थिएनन्।
सुटिङ सकेर काठमाडौँ आइसक्दा उनलाई केही पात्रले बारम्बार फोन गर्न थाले, ‘सर मैले सपना देख्न थालेँ। काठमाडौं आउन चाहन्छु। मलाई सहयोग गर्नुहुन्छ?’
तर मनोजसँग यी कुनै प्रश्नको जवाफ छैन। र, आफ्नै आश्वासन पूरा हुनेमा विश्वस्त छैनन् उनी। मनोजका अनुहारमा अझै निराशाका रेखा दौडिरहेका देखेँ। उनले मलिन हुँदै भने, ‘यदि भेटेर उनीहरूले मलाई सोधे के उत्तर दिनु? मलाई आँखामा भएका यी प्रश्नसँग धेरै डर लाग्छ !
०००
Shares
प्रतिक्रिया