नवगठित प्रदेश १ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको मन्त्रालय ९ वटा बनाउने निर्णय गरेको छ।
राजेन्द्र राई नेतृत्वको सरकारका पालामा मन्त्रालयको संख्या १३ पुर्याइएको थियो। जसलाई ९ वटाको संख्यामा झार्ने मन्त्री परिषदको पहिलो बैठकले निर्णय गरेको हो।
शपथग्रहण पछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले सरकारको खर्च कटौती गर्ने उदेश्यले मन्त्रालयको संख्या घटाउने निर्णय लिएको मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए।
यस्तै, बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरि मितव्ययिता कायम गर्ने, शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने, सेवा प्रवाह सुधार ल्याउनका लागि प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने, प्रदेशको मन्त्रालयको संरचना घटाउने र नौ वटा बनाउने लगायतको निर्णय गरेको हो।
पहिलो पाँच वर्षे प्रदेश सभाको पहिलो सरकारका मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार बन्दा प्रदेश १ मा सात वटा मन्त्रालय थिए।
एमालेको सरकार हटेसँगै राजेन्द्र राई नेतृत्वको सरकारमा मन्त्रालय फुटाएर १३ वटा बनाइएको थियो।
प्रतिक्रिया