बिहीबार दिउँसाे १ बजेर ३८ मिनेट। पार्वती राईको पिठ्युँमा २ वर्षको छोरो निदाएको थियो।
सलले पिठ्युँमा छोरो बाँधेर उनी आगो फुक्दै थिइन्।
झरीले भिजेका बाँसका भाटा र झिक्रा केही गरे पनि बलेन। पत्पती धुवाँ मात्रै आइरह्याे।
ढुंगा गाडेर बनाएको चुल्होमा ठूलो कराही बसालेकी थिइन्। दाल पकाउन भनेर कराहीमा पानी हालेकी थिइन्।
धुँवा आइरहेको चुल्होवरिपरि ६ वर्षकी छोरी र ९ वर्षका छोरो घरिघरि आइरहन्थे।
तरकारी पकाउन भनेर उनले थालमा ठूल–ठूला चाना पारेर कुर्मी राखेकी थिइन्। तर आगो नबलेपछि दालको पानी उम्लने छाँट आएन।
भिजेको बाँस र झिक्रा नबलेपछि पार्वतीलाई सहयोग गर्न आइन रमिला पिठाकोठे मगर। उनले निक्कै बेर आगो फुकिन्।
बल्ल पिलपिल आगो बल्न थाल्यो। आगो सँगै झन् ठूलो धुवाँको मुस्लो पनि आयो।
आगो बल्न थालेपछि पार्वतीको ७ वर्षको छोरो र ९ वर्षकी छाेरी पनि छेउमै आए।
विक्रमले पार्वतीलाई सोधे, ‘आमा! अब भात कतिखेर पाक्छ?’
पार्वतीले आगो बलेपछि भात पाक्ने जवाफ फर्काइन्।
पार्वतीको छोरो विक्रम दगुर्दै रमिलाको छोरा भएतिर गए। रमिलाको छोरा अलि परि त्यसरी नै धुवाँ आइरहेको चुल्होनजिकै धुलो खेल्दै थिए।
सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटेबाट पश्चिमतर्फ धार परिवर्तन गरेपछि पार्वती र रमिलाको घरमा पानी पसेको थियो।
डुम्रिबोटेबाट झण्डै ४ किलोमिटर पश्चिम-दक्षिण बेलका नगरपालिका वडा नम्बर ३ बानडाँडामा रहेको घरको आँगनमा पानी कम्मरभन्दा माथि पुगेपछि रमिला र पार्वतीले घर छाडेका थिए। उनीहरु छिमेकी हुन्।
बुधबार दिउँसो घर छाडेका उनीहरु बिहीबार दिउँसो बल्ल भात पकाउने तरखरमा थिए। तर, पानीले भिजेका दाउरा नबलेकाले उनीहरुलाई समस्या भइरहेको थियो।
दाउरा नबल्नुको पीरभन्दा छोराछोरी भाेकाएकाे पीर बढी थियो।
बेलुका उनीहरुले भुजिया र भुजा-चिउरा खाए भने बिहान चाउचाउ र चिउरा। केटाकेटीले भने बिस्कुट पनि खाए।
बेलका नगरपालिका वडा नम्बर ३ को आर्दश आधारभूत प्राविमा आश्रय लिएर बसेकी पार्वतीले ५२ घण्टापछि तीन सन्तानका लागि खानाको जोहो गर्दै थिइन्।
उनले सुनाइन्, ‘घर छाड्दा नानीबाहेक अरु ल्याउन सकिनँ, भाँडावर्तन, अन्नपात उतै छुट्यो। पकाउने भाँडाे र अन्न नहुँदा अहिलेसम्म पकाउन पाइनँ।’
पार्वती र रमिलालाई खानेकुराको प्रबन्ध सोही विद्यालयका शिक्षक नवीन बस्नेतले गरेका थिए।
हामीले कुराकानी गरिरहँदा प्लास्टिकमा अलिकति आलु र नुन लिएर नवीन आइपुगे। उनले वडा कार्यलयले विस्थापित कोही आए विद्यालयमा राख्नु भनेकाले राखिएको बताए।
विद्यालयमा राखेपछि वडाध्यक्षले हेरविचार पनि गर्नू भनेका थिए। त्यसैले उनले राति चिउरा-भुजाको व्यवस्था गरेका थिए।
उनले भने, ‘केटाकेटी र बूढाबूढी साँझ आउनुभयो। कसैले खानेकुरा नल्याएपछि मैले आफ्नो हिसाबले बेलुका खुवाएँ।’
बिहान पनि कोही आएनन्। ‘मैले नै किनेर चाउचाउ-चिउरा खुवाएँ। दिउँसो पनि कोही नआएपछि भात खुवाउने प्रबन्धमा लागेको छु,’ उनले सुनाए।
बस्नेतका अनुसार खाना पकाउन गाउँलेसँग मागेर कराही र तपेस ल्याए। ‘दाउराको प्रबन्ध मिलाएँ, अब खाने थाल छैन खोज्न जाँदै छु,’ उनले भने।
उनले सरकारले सबै कुरा गर्छु भनेको स्थानीय रेडियोबाट सुनेका थिए तर सरकार कहाँ छ उनले आफ्नो विद्यालयमा बसेकाको हकमा देखेनन्।
‘अन्यत्र राम्रो भएको होला। तर यहाँ बुधबार म्याट लिएर आएका जनप्रतिनिधि र सरकारका मान्छेबाहेक अरु आएनन्,’ उनले सुनाए।
आदर्श आधारभूत विद्यालयमा सप्तकोसीपीडित २७ जना बसेका छन्। त्यहाँ आश्रय लिएकामध्ये धेरैजसो केटाकेटी र ज्येष्ठ नागरिक छन्।
विस्थापितका लागि भनेर म्याटको व्यवस्था पालिकाले गरेको थियो। त्यही म्याट ओच्छ्याएर उनीहरुले रात कटाएका छन्।
आदर्श आधारभूत विद्यालय हिँडेर बढीमा १५ मिनेटमा पुगिन्छ कोसी जनता मावि। त्यहाँ २३ जना सप्तकोसी प्रभावित आश्रय लिएर बसेका छन्।
त्यहीँ भेटिए- इन्द्रबहादुर बानियाँ क्षेत्री। २०१५ सालमा जन्मिएका बानियाँले भकारीको सबै धान र कुटाएर राखेको चामल छाडेर आए।
आफू बसेको घर आँगनबाट सप्तकोसी नदी नै कुद्न थालेपछि एक हल गोरु र दुहुना गाई डोहोर्याउँदै उनी र उनकी श्रीमती शुक्रबारे निस्किए।
साँझकाे ७ बज्न लाग्दा सप्तकोसीको भंगालो तरेर शुक्रबारे आएका बानियाँ दम्पतीले शुक्रबारेको चौरमा वस्तु बाँधे।
गाईवस्तु बाँधेपछि नजिकै रहेको घरमा बास मागे। उनीहरुलाई बास दिनेले खाना पनि दिए।
घरमा जान सक्ने अवस्था नभएपछि उनी बिहीबार बिहान भने गाँउलेहरु कहाँ छन् भन्दै खोज्न हिँडे। उनकी श्रीमती भने गाईगोरुसँगै शुक्रबारेमै छिन्। बानियाँले सुनाए, ‘मैले यहाँ छिमेकीकहाँ खाएँ, श्रीमतीले के के खाइन्?’
३ वर्षअघि तेह्रथुमबाट बेलका झरेका बानियाँले आश्रय लिएको स्थानमा विस्थापितहरुका लागि बिहीबार दिउँसो दाल-चामल व्यवस्था भएको छ।
दिउँसो ३ बजेतिर संवाददाता पुग्दा विस्थापितहरुले भर्खर खाना खाएको बताए। बुधबार राति भने चिउरा र भुजा खाएर रात कटाएको उनीहरुले बताए।
बिहान पनि चिउरा र भुजा खाएको प्रमिला विकले बताइन्। उनीहरुलाई विद्यालयको कक्षा कोठामा सुत्न म्याट दिइएको छ।
छैन विस्थापितको यकिन संख्या
सप्तकोसी नदीले पश्चिमतर्फ धार परिवर्तन गर्दा बेलका नगरपालिका वडा नम्बर ३,२, ९, ८ र सुनसरीको बराहक्षेत्र नगरपालिकाका वडा नम्बर ६ र ८ का ३२ सयभन्दा बढी घरपरिवार प्रभावित भएका छन्।
सप्तकाेसीका कारण बिहीबार बेलुकीसम्म १० हजारभन्दा बढी जनाले गाँउ छाडेका छन्। तर उनीहरू कहाँ-कहाँ छन् भन्ने तथ्यांक स्थानीय सरकारसँग छैन।
बेलका नगरपालिकाकी उपमेयर जीरा राईले विस्थापितहरुलाई विभिन्न विद्यालय र सामुदायिक भवनमा राखिएको बताइन्। धेरैजसो प्रभावित आफन्तको शरणमा गएकाले विस्थापितहरु कहाँ-कहाँ छन् भन्ने तथ्यांक नभएको उनले बताइन्।
मन्त्री र मेयरबाट आश्वासन मात्र
आदर्श आधारभूत विद्यालय र कोसी जनता माविमा विस्थापितहरु चिउरा र चाउचाउकै भरमा रहँदा बिहीबार बिहान परराष्ट्रमन्त्री नारायण खड्का सप्तकोसी प्रभावित क्षेत्रमै थिए।
श्रीलंका टापुबाट विस्थापित आउने गौँडा बेलका नगरपालिका वडा नम्बर ३ को भाटेपुलमै गएर मन्त्री खड्काले भने- राहतमा कुनै कमी हुन नदिनू। खड्का मन्त्री मात्रै होइनन्, त्यसै क्षेत्रका सांसद पनि हुन्।
उनले सप्तकोसी प्रभावित क्षेत्रको अवलोकनपछि विस्थापितलाई राहत दिन सरकार जाेडताेडका साथ लाग्ने बताए।
उनी मात्रै होइन, प्रदेश १ सरकारका आन्तरिक मामिलामन्त्री केदार कार्की बुधबार बिहानै बाढी प्रभावित क्षेत्रमा गए।
उनले पनि बाढीपीडितसामु सरकारले राहत र पुनर्स्थापनामा कमी हुन नदिने बताए। आन्तरिक मामिलामन्त्री कार्कीले बुधबारै बेलुका प्रदेश सरकारका तर्फबाट राहत पनि पठाए।
स्थानीय सरकार बेलका नगर पालिकाका प्रमुख अशोक कार्कीले पटकपटक विस्थापितका लागि खानेकुराको भरपूर प्रबन्ध मिलाएको दाबी गरिरहेका छन्। तर, सरकारका मन्त्री र मेयरका कुराले पार्वतीको परिवार र रमिलाका छोराछोरीको पेट भरिएन।
नवीनजस्ताहरूको साथको खाँचो देखियो।
याे पनि:
- ७० वर्षपछि सप्तकोसी पुरानै बाटोमा, ३ जिल्लाका ५ पालिका जोखिममा
- सप्तकोसी नदी बेलकाबाट पश्चिमतर्फ पस्यो, २० हजार प्रभावित, ५ हजारको उद्धार (तस्बिरहरू)
- सप्तकोसीको बाढीले विस्थापितलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन
- सप्तकोसी अपडेट : विस्थापित १५ सय परिवारलाई राहतको सकस, केही स्थानीयले घरै छाड्न मानेनन्
प्रतिक्रिया