कोसी अस्पतालको नाम बेचेर निजी क्लिनिक र अस्पतालले व्यापार गरेको भन्दै अस्पताल प्रशासनले कारबाही माग गरेको छ।
कोसी अस्पतालको नाम राखेर निजी क्लिनिक तथा अस्पतालमा बोर्ड राख्ने सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मी उपर कारबाही गरिदिन माग गर्दै कोसी अस्पतालले जिल्ला प्रशासन कार्यालय मोरङमा पत्र पठाएको छ। विराटनगरका अधिकांश क्लिनिक र अस्पतालहरुमा कोसी अस्पतालका चिकित्सकको नाम राख्ने गरिएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्ड डा. यज्ञ खरेलले अस्पताल सुधारका लागि अनुगमन गरि कारबाहीको प्रक्रिया अगाडि बढाउन प्रशासनलाई अनुरोध गरिएको बताए। उनले अनुगमन गरि कारबाही गर्ने अधिकार अस्पताललाई नभइ प्रशासनलाई भएकाले पत्राचार गरिएको बताए।
उनले भने, ‘अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काम गर्न गएका कारण बोर्ड झुण्ड्याइएको हो की नगएपनि बोर्ड झुण्ड्याएको हो? सत्य तथ्य पत्ता लगाउन अनुरोध गरिएको छ।’
उनले अस्पतालमा काम गर्ने डाक्टर, स्वास्थ्यकर्मी र प्राविधिकहरू क्लिनिक र निजी स्वास्थ्य संस्थामा गएको भए उनीहरुलाई पनि कारबाही गरिने बताए।
कोसी अस्पतालमा काम गर्ने चिकित्सक र स्वास्थकर्मीले निजी स्वास्थ्य संस्थामा काम गर्न पाउँदैनन्।
मेसु खरेलले भने, ‘निजीमा काम गर्न पाइँदैन भनेर जान्दा जान्दै काम गर्न गएका हुन् भने अस्पतालले कारबाही गर्छ। नगइ निजी क्लिनिक र स्वास्थ्य संस्थाका सञ्चालकले कोसीको नाम बेचेर बोर्ड झुण्ड्याइएको भए सञ्चालकलाई कारबाही हुनु पर्छ।’
कोसीमा कार्यरत चिकित्सक निजी क्लिनिकमा समेत बिरामीको स्वास्थ्य परीक्षण गर्न जाने गरेका छन्। यसले अस्पतालमा जाने बिरामी भने मारमा परेका छन्। अस्पतालमा आएका बिरामीलाई अस्पतालकै डाक्टरहरुले निजीमा आउन भन्ने र महंगो शुल्क लिने गरेको गुनासो सुनिँदै आएको छ।
कोसीमा कार्यरत डाक्टरहरुले कोसी अस्पतालमा समय नदिने, बिरामीलाई आवश्यक सल्लाह–सुझाव नदिने तर निजीमा भने बिरामीलाई फरक व्यवहार गर्ने गरेको भन्दै अस्पताल सुधारका लागि दबाब बढेको थियो।
विराटनगरमा रहेका निजी क्लिनिकका सञ्चालकले बिरामीलाई प्रभावमा पार्न सरकारी अस्पतालमा कार्यरत वरिष्ठ रोग विशेषज्ञ उल्लेख गरेर बोर्ड राख्दै आएका छन्। तर यसअघि कारबाहीको प्रक्रिया शुरु भएको थिएन।
यसरी बोर्ड राख्दा राम्रो र विशेषज्ञ चिकित्सक क्लिनिकमै आउने भनेर सेवाग्राहीलाई ठग्ने प्रवृत्ति बढ्दै आएको थियो।
कोसीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले सरकारी अस्पतालको अनाधिकृत रुपमा नाम प्रयोग गरेर सेवाग्राहीलाई झुक्याउने सबै निकायले तत्कालै त्यस्ता बोर्ड हटाउनु पर्ने नत्र कानुनी कारबाही गरिने बताएका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी कासीराज दाहालले पत्र आएको र यस बारेमा छलफल भइरहेको बताए। अस्पताल सुधारका लागि सबैको खाँचो रहेको उनले बताए।
प्रतिक्रिया