चिलीको एक कम्पनीले झुक्किएर कर्मचारीको खातामा एकैपटक २८६ महिनाको तलब हालिदिएको छ।
यो घटना थाहा पाएपछि सुरुमा कम्पनीले बढी भएको पैसा फिर्ता दिन आग्रह गरेको थियो। कर्मचारीले उक्त रकम फिर्ता दिने वाचा पनि गरेका थिए।
यद्यपि पैसा फिर्ता दिनुको साटो उनी फरार भएका छन्। स्थानीय सञ्चारमाध्यमहरुका अनुसार कोन्सोर्किओ इन्डस्ट्रियल डे अलिमेन्टोसले भूलवश कर्मचारीको खातामा गत मे महिनामा करिब २ करोड २४ लाख रुपैयाँबराबरको रकम तलबबापत राखिदिएको थियो।
जबकी कर्मचारीको वास्तविक मासिक तलब करिब ६७ हजार ८ सय रुपैयाँ थियो।
कम्पनी व्यवस्थापनले आफ्नो रेकर्ड खोलेर हेर्दा आफ्नो गल्ती पत्ता लगाएको थियो। कर्मचारीसँग कम्पनीले यसबारेमा कुरा गर्दा उनले आफू बैंक गएर बढी भएको पैसा फिर्ता गरिदिने बताएका थिए।
यद्यपि कम्पनीको खातामा उक्त रकम फिर्ता आएन। कम्पनीले कर्मचारीलाई सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन पनि सकेन र उनको अवस्थाबारे जानकारी पनि पाएन।
एकपटक कर्मचारीले आफू छिटै नै बैंक गएर पैसा फिर्ता दिने बताएका थिए तर जुन २ मा उनले आफ्नो राजीनामा पठाए। त्यसपछि अहिले उनी बेपत्ता छन्।
आफ्नो पैसा फिर्ता पाउन कम्पनीले कर्मचारीविरुद्ध कानुनी कदम सुरु गरेको छ।
Shares
प्रतिक्रिया