ad ad

रोचक


पति दुई दिन लिफ्टमा अड्किए, पत्नीले बेपत्ता भएको उजुरी दिइन्

पति दुई दिन लिफ्टमा अड्किए, पत्नीले बेपत्ता भएको उजुरी दिइन्

नेपालखबर
साउन २, २०८१ बुधबार १९:२७,

दक्षिण भारतीय राज्य केरलामा एक व्यक्ति दुई दिनसम्म लिफ्टमा अड्किएका छन्। खाना, पानीबिनै अड्किएका उनको ४२ घण्टापछि मात्रै उद्धार भएको हो।

५९ वर्षीय रवीन्द्रन नायर डाक्टरलाई रिपोर्ट देखाउन शनिबार दिउँसो अस्पताल पुगेका थिए। लिफ्टमा प्रवेश गरेका उनलाई एकैपटक सोमबार बिहान अपरेटरले फेला पारेका थिए। हाल उनलाई अस्पतालमा राखेर जलवियोजन र ढाड दुखाइको उपचार भइरहेको छ।

उनको परिवारले भने पहिले उनी काममा गएको अड्कल काटेको थियो। तर, राति पनि उनी नफर्केपछि परिवारले बेपत्ता भएको उजुरी प्रहरीमा दिएको थियो।

यस विषयमा चर्चा बढेपछि सरकारी मेडिकल कलेजका तीनजना टेक्निसियनलाई निलम्बन गरेर छानबिन सुरु गरिएको छ। 

लिफ्टमा अड्केपछि नायरले त्यहाँ दिइएको आपतकालीन नम्बरमा फोन गरेका थिए। तर, उठेन। उनले सोही अस्पतालमा काम गर्ने पत्नी श्रीलेखा र चिनजानका अरु मानिसलाई पनि फोन गर्ने कोसिस गरे। तर, कसैको लागेन।

आत्तिएर लिफ्ट ढक्ढक्याउन थाल्दा फोन झरेर बिग्रेको उनको भनाइ छ।

उनले निरन्तर घण्टी बजाए पनि कसैले नसुनेको बताए।

‘भित्र निष्पट्ट अन्धकार थियो। दिन हो कि रात थाहा नहुने। थाकेपछि म त्यहीँ एउटा कुनामा सुतेँ।  अर्को कुनामा दिसापिसाब गरेँ,’ उनले भनेका छन्।

बाथरुममा लडेर ढाड दुख्न थालेपछि आफू नियमित अस्पताल धाउन थालेको उनको भनाइ छ।

‘भर्खर मध्य दिउँसो भएको थियो। लिफ्टमा कोही थिएन, बत्ती बलिरहेको थियो, त्यही भएर म चढेँ। तर, दोस्रो तला पुगेपछि लिफ्ट तल झर्न थाल्यो र दुई तलाबीचमा अड्कियो,’ उनले भनेका छन्।

आफूलाई मृत्युको डरले सताएको उनको भनाइ छ।

अन्ततः ४२ घण्टापछि सोमबार उनलाई निकालियो। त्यसपछि लिफ्टबाहिर मानिसहरुलाई नचढ्न सूचना टाँसिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .