ad ad

खेल


विश्व कीर्तिमान बनाउन ‘हिमालयन १००’ चेस प्रतियोगिता हुने

विश्व कीर्तिमान बनाउन ‘हिमालयन १००’ चेस प्रतियोगिता हुने

नेपालखबर
साउन २, २०८१ बुधबार १९:३४, काठमाडौँ

हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) को अवसरमा ‘हिमालयन १००’ ब्लिज चेस प्रतियोगिता हुने भएको छ।

युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै हिमालयन चेस एकेडेमीले शनिबार किङ्स कलेज, बबरमहलमा प्रतियोगिता आयोजना गर्ने भएको हो।

विश्व बुद्धिचाल महासंघ (फिडे) ले आफ्नो स्थापनाको १ सयौं वर्ष पनि मनाइरहेको छ। यही अवसरमा फिडे यसपालि २० जुलाईमा २४ घन्टाभित्र विश्वमै सबभन्दा बढी चेस खेल्दै ‘गिनिज वल्र्ड रेकर्डस्’ कायम गर्ने अभियानमा छ। जसलाई फिडे १०० गिनिज वल्र्ड रेकर्ड्स अटेम्प्ट’ नाम दिइएको छ।

फिडेको यही अभियानअन्तर्गत नेपालमा ‘हिमालयन १००’ आयोजना गर्न लागिएको हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिशा खम्बूले बताइन्।

नेपालको पहिलो महिला राष्ट्रिय चेस च्याम्पियनसमेत रहेकी खम्बूले भनिन्, ‘फिडेले १ सय वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान बनाउँदै गर्दा त्यो अभियानलाई नेपालबाट पनि साथ दिनको लागि हामीले हिमालयन १०० आयोजना गर्न लागेका छौं। स्वीस प्रणलीको आधारमा १० राउन्डमा सञ्चालन गरिने प्रतियोगितामा १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’

पहिला नाम दर्ता गर्ने खेलाडीलाई प्रतियोगितामा अवसर दिइने पनि उनले बताएकी छन् ।

युक्ति फाउन्डेसनकी प्रतिनिधि युक्ति लामा श्रेष्ठले भन्छिन्, ‘चेस खेलेरै गिनिज वर्ल्ड रेकर्ड्स बनाउने विश्वव्यापी अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको छ। मानिसको बौद्धिक विकाससँग प्रत्यक्ष जोडिएको खेल चेसमा सानै उमेरदेखि नै आकर्षित गर्न चाहन्छौं।’

कुल ५१ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ७ हजार, तेस्रो हुनेले ४ हजार, चौथोले ३ हजार तथा पाँचौं हुनेले २ हजार पाउनेछन्। त्यस्तै, छैटौंदेखि शीर्ष १० मा अटाउने खेलाडीले जनही १ हजार प्राप्त गर्नेछन्।

महिलाको विजेताले ३ हजार, उपविजेताले २ हजार र तेस्रो हुनेले १ हजार हात पार्नेछन्। त्यस्तै, अनरेटेड, यू–९, यू–११, यू–१३, यू–१५, बेस्ट एचसीए, उत्कृष्ट विद्यार्थी (१० कक्षासम्म र १० कक्षामाथि), रेटिङ (७०) मुनि, (९०) मुनि र भेट्रान (५५ वर्षमाथि) गरी ११ विधालाई पनि समावेश गरिएको छ ।

सबै स्पर्धाका विजेताले १ हजारदेखि १ हजार ५ सय रुपियासम्म नगद पुरस्कार पाउनेछन्। तर, कुनैपनि खेलाडीलाई दोहोर्‍याएर पुरस्कार प्रदान गरिने छैन। खेलाडीले प्रतियोगिताको निम्ति नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार तोकिएको एकेडेमीले जनाएको छ।

हिमालयन १०० को भेन्यू पार्टनर किङ्स कलेज, स्टाइलिङ पार्टनर ले लर्ड, फुटवेयर पार्टनर खडाउ रहेका छन्। क्लोथिङ ब्रान्ड कोक्रोमाले पनि साथ दिएको छ।

हिमालयन चेस एकेडेमीले दोस्रो प्रतियोगिताको रुपमा हिमालयन १०० आयोजना गर्न लागेको हो। उसले यसअघि एसईई कप (असार ८–९ गते) आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .