तत्कालीन कर्णाली प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीसहित १६ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
उनीहरुविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुखसमेत रहेका भारीसहित १६ जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा भ्रष्टाचार भएको खुलेको प्रवक्ता भोला दाहालले बताए।
सचिवलगायतले कर्णाली कोल्डचेन लजिस्टिक प्रा।लि सुर्खेतलाई ९२ लाख ४३ हजार दुई सय ९८ रुपैया भुक्तानी गरेर भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको भनाइ छ।
अख्तियारले सचिव भारी, गणेश भण्डारी, हरिप्रसाद पण्डित, हरिबहादुर थापा, भक्तिराम शर्मा, गुरुप्रसाद अधिकारी, उत्तमकुमार बस्नेत, खिमलाल वली, सुरेशकुमार थापा, उषा ठाडा, प्रकाश अधिकारी, सुवर्णराज भारती, कलाधर उपाध्याय, लक्ष्मण कँडेल, प्रवल शाही र महेश शर्मासहित १६ जनालाई प्रतिवादी बनाएको छ।
उनीहरुले शीत भण्डार निर्माण गर्दा विषय विज्ञद्वारा प्रमाणित नगरिएको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरेको, त्यही खेस्रा नक्सासमेतको विपरीत हुने गरी शीत भण्डार निर्माण गराएको र गुणस्तरहीन कामलाई गुणस्तरको प्रमाणित गरी कम्पनीका नाममा भुक्तानी गरेको अख्तियारले आरोप–पत्रमा उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया