दैलेखको आठबीस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एकजनाको मृत्यु भएको छ। आगलागीमा परी गम्भीर घाइते दैलेखको आठबीस–६ का ५५ वर्षीय भैरव विकको उपचारका क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको हो।
भेरी अस्पतालमा उपचाररत विकको गएराति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए। उनका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चारजनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो। बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ।
भेरी अस्पतालमा आठबीस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ। अन्य चार घाइतेको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको डा. चापागाईंले बताए। रासस
Shares
प्रतिक्रिया