ad ad

कर्णाली


पश्चिमी सुर्खेतमा बाढीले मच्चाएको विनाश

पश्चिमी सुर्खेतमा बाढीले मच्चाएको विनाश

नेपालखबर
असोज १, २०७९ शनिबार १३:२३, सुर्खेत

शुक्रबारदेखिको वर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा बिगार गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।

चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरुमा क्षति पुर्याएको छ भने एउटा भैँसी पुरिएको छ। चौकुनेकै वडा नम्बर ९ रागमा विद्यापुर खोलाको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए। 

उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरहरूमा क्षति पुगेको छ। साथै चौकुनेकै ४ नम्बर वडाका केही बस्तीहरूमा क्षति पुगेको छ।

‘चौकुने ४ मा २ वटा घर उच्च जोखिममा छन्। ३ नम्बर वडाको गोर्भामा आएको पहिरोले ७ वटा घर उच्च जोखिममा छन् भने बेतान खोलबाट आएको बाढीले ३ सय रोपनी खेत बगरमा परिणत भएको छ। यस्तै, चौकुने १० घाटगाउँमा आएको बाढीले धीरबहादुर शाही लगायतका केही घरहरु उच्च जोखिममा छन्।’

चौकुने अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति नभएको बताए। उनले बाढीबाट प्रभावित स्थानीयहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यवस्थापन गरिरहेको र पीडितहरूलाई थप राहत वितरण गर्ने तयारी रहेको जानकारी दिए। साथै बाढी र पहिरोले चैकुने गाउँपालिकाभित्रका सबै ठाउँमा सडक अवरुद्ध गरेको छ। 

यस्तै, पञ्चपुरी नगरपालिका–१० आएको बाढीले डिलबहादुर बुढा र गगने बुढा लगायतको घरमा बाढीले पूर्णरुपमा क्षति पुर्याएको छ। सोही स्थानका नगेन्द्र शाहीको फर्ममा पसेको बाढीले कुखुरा बगाएको छ। गल्फ खोलामा आएको बाढीले धार परिवर्तन गरेपछि फर्ममा क्षति पुगेको हो।

बराहताल गाउँपालिकामा पर्ने लेखगाउँमा आएको बाढीले लीलबहादुर सलामीको घरमा पनि क्षति गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .