ad ad

अन्तर्वार्ता


नबिललाई डिजिटल बैंक बनाउन आक्रामक रणनीति अपनाएका छौँ : नायब सीईओ शाक्य (अन्तर्वार्ता)

नबिललाई डिजिटल बैंक बनाउन आक्रामक रणनीति अपनाएका छौँ : नायब सीईओ शाक्य (अन्तर्वार्ता)

सन्तोष न्यौपाने
मंसिर २५, २०७७ बिहिबार ८:२६,

नबिल बैंक ३६ वर्षअघि स्थापना भएको वाणिज्य बैंक हो। तीन दशक लामो व्यावसायिक यात्रामा अहिले यो बैंक धेरै नाफा कमाउनेमध्ये पर्छ। स्वाभाविक रुपले धेरै नाफा आर्जन गरेपछि सरकारलाई कर पनि धेरै नै तिर्नुपर्छ, पाँच वर्षदेखि नबिल सबैभन्दा बढी आयकर तिर्ने बैंक रहँदै आएको छ। एउटा बैंकलाई राम्रो बनाउन वित्तीय सूचकदेखि व्यवस्थापनसम्मका धेरै कुरामा ध्यान दिनुपर्छ। सञ्चालक समिति, बैंकका पदाधिकारी र कर्मचारीको कडा परिश्रमकै कारण नबिलले यो सफलता पाएको हो। बैंकको पछिल्लो अवस्था, सफलताको कारण, वित्तीय सेवाको डिजिटल रुपान्तरणलगायत विषयमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यसँग नेपालखबरले गरेको वार्ता :

नबिल बैंकले ३६ वर्ष लामो व्यावसायिक इतिहास बनाइसकेको छ, देशकै धेरै नाफा कमाउने बैंकको छवि बनाएको बैंकको वित्तीय अवस्था कस्तो छ?
नबिल बैंक सन् १९८४ मा ज्वाइन्ट भेन्चरका रुपमा स्थापना भएको निजी क्षेत्रको मुलुककै पहिलोे कमर्सियल बैंक हो। नबिल बैंक सुरु हुँदा नेपाल बैंक र वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बैंक) मात्र थिए। अहिले जसरी ‘फाइनान्सियल लिट्रेसी’ तथा ‘एक्सेस टु फाइनान्स’ बढेको छ। यसमा नबिलको योगदान ठूलो छ।

पछिल्लो तथ्यांक हेर्ने हो भने नबिलको निक्षेप २ सय अर्ब रुपैयाँ हाराहारीमा छ। कर्जा प्रवाह १७० अर्ब रुपैयाँ पुगेको छ। यो वर्षको पहिलो त्रैमासिकको विवरण पनि आइसकेको छ। यो अवधिमा बैंकले १०३ करोड खुद नाफा गरेको छ। डिस्ट्रिब्युटेबल (वितरणयोग्य) नाफामा हामी पहिलो नम्बरमा छौँ। यस्तो नाफा १२० करोड रुपैयाँ हाराहारीमा छ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै १७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छौँ। जब कि गत वर्षको पहिलो त्रैमासिकमा कर्जा प्रवाह १५३ अर्ब मात्र थियो। यो त्रैमासिकमा १७ अर्बको ‘लेन्डिङ ग्रोथ’ गरिसकेका छौँ। लगानीकर्तालाई बैंकले पहिलेदेखि नै स्थिररुपमा प्रतिफल दिँदै आएको छ।

Sujit shakya Nabil Bank4

हाल पुँजीबजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। त्यसो हो भने दोस्रोे बजारका लगानीकर्ताले नबिल बैंकको सेयरमा ढुक्क भएर लगानी गर्दा हुन्छ?
नबिल बैंकको सेयर भनेको बैंकिङ क्षेत्रमा सबैभन्दा ‘ब्लु चिप’ सेयर भनिन्छ। लगानीकर्ताले यस बैंकको सेयरमा लगानी गरेर निराश हुनुपरेको छैन। लङटर्म होल्ड (लामो समय सेयर अडाउन सकिने) गरेर राख्न सकिने कम्पनी हो।

गत वर्षभन्दा चालू वर्षको पहिलो त्रैमासिकमा कर्जा प्रवाह १७ अर्बले बढेको भन्नुभयो। यसको अर्थ कोरोना संकटमा पनि लगानी बढेको हो?
तुलनात्मक रुपमा हेर्ने हो भने अरु बैंकले भन्दा नबिलले राम्रो प्रगति गरेको हो। यो समय भनेको हरेक ऋणीहरूले आफ्नो खर्च घटाउन खोजेको अवस्था हो।

नबिल बैंकले अहिले सबैभन्दा प्रतिस्पर्धात्मक ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ। त्यस हिसाबले ऋणीको अर्को बैंकमा धेरै ब्याजदर छ भने यताबाट अलि कममा लगेर आफ्नो व्यवस्थापन गरिरहेको हुनसक्छ। राष्ट्र बैंकले अहिले स्प्रेडदर ४.४ भन्दा बढी जान पाइँदैन भनेको छ। हामीले चाहेर पनि बढी लिन्छौँ भन्ने अवस्था छैन।

त्यसबाहेक नबिलले ३६औँ वार्षिकोत्सवमा पनि राम्रा योजनाहरू ल्याएको छ। त्यसो गर्दा जसले सुरक्षित अवतरण गरेर आफ्नो ब्याज खर्च घटाउन खोजिरहेका थिए, उहाँहरू आएर पनि हाम्रो कर्जा बढेको हुनुपर्छ।

कर्जा धेरै कतातिर गएको छ?
हाम्रो फोकस (लक्ष्य) सबैतिर हो। अलि बढी एसएमई (साना तथा मझौला व्यवसाय)हरूतिर गएको छ। राष्ट्र बैंकले पनि १ करोडसम्मको एसएमई ऋणमा बढाएर देऊ भन्ने सबै बैंकलाई दिर्नेशन दिएको छ। त्यसैगरी, होमलोन (घरकर्जा), औद्योगिक क्षेत्र, व्यापार क्षेत्रमा पनि गइरहेको छ।

Sujit shakya Nabil Bank9

आठ महिनादेखि कोरोना संकट छ। यसले बैंकको काम र प्रतिफलमा कति असर गरेको छ?
अघिल्लो वर्षको तेस्रो त्रैमासिकसम्म हामी नाफामा राम्रो गरिरहेका थियौँ। सालाखाला एक त्रैमासिकमा एक अर्ब नाफा भइरहेको थियो। तेस्रो त्रैमासिकको अन्तिमसम्म ३ अर्ब १५ करोडको नाफा थियो। त्यसपछि कोभिडको कारण सबै व्यवसाय ठप्प हुँदा चौथो त्रैमासिकको अन्तसम्म आउँदा सबैको जस्तै हाम्रो पनि नाफा खुम्चेको अवस्था छ। हाम्रो ३ अर्ब ५१ करोडको नाफा भयो। कोभिडको समस्या नभएको भए सजिलै ४ अर्ब माथि लाग्थ्यो।

व्यवस्थापनको हिसाबले त यो बेला धेरै नै चुनौती सामना गर्नुपर्यो। जस्तै, विभिन्न शाखाका हाम्रा कर्मचारीलाई कोरोना लाग्यो। कर्मचारी घरमै बस्नुपर्ने अवस्था, कति शाखा बन्दै गर्नुपर्ने अवस्था भयो। अहिले पनि धेरै कर्मचारी कोभिड लागेर आइसोलेसनमा वा क्वारेन्टिनमा रहेको अवस्था छ। आइसोलेसनमा जाने, सञ्चो भएर काममा आउने, फेरि अर्कोलाई लागेर आइसोलेसन जाने क्रम चलिरहेको छ। यसले गर्दा कामको उत्पादकत्वमा अलिकति असर आएको हो तर हाम्रा कर्मचारीहरूले धेरै मिहिनेत पनि गरिरहेका छन्।

केही वर्षदेखि बैंक तथा वित्तीय संस्थामा नबिल सबैभन्दा धेरै नाफा कमाउने बैंकमा पर्दै आएको छ। फलस्वरुप धेरै आयकर पनि सरकारलाई बुझाइरहेको छ। निरन्तर उच्च नाफा गर्नसक्ने तपाईंहरूको सूत्र के हो?
निजी क्षेत्रको अग्रणी स्थामा रहेको हाम्रो बैंक मुलुकको आर्थिक वृद्धिको एक पार्टनर हो। हाम्रो सबै स्टेक होल्डरहरू जस्तो कि नियामक निकायका रुपमा राष्ट्र बैंकबाट धेरै राम्रो सल्लाह पाइरहेका छौँ। उहाँहरूको निगरानीमा बसेर काम गर्दा ‘रिस्क म्यानेजमेन्ट’ हुन्छ। त्यसपछि हाम्रा सेयरहोल्डर, ग्राहक वर्ग, प्रोमोटरहरू, कर्मचारीहरूकै योगदानका कारण व्यापार बढ्न गएर प्रतिफल उच्च भएको हो। मुख्य त ग्राहक वर्गले आफ्नो ठानी व्यापार बढेर नै यो सम्भव भएको छ।

भिडियोः

नबिललाई डिजिटल बैंक बनाउने भनेर आक्रामक रुपममा आउनुभएको छ। अहिले डिजिटल प्लोटफर्ममा के–के काम गरिरहनुभएको छ?
क्यासलेस (नोटरहित) समाज बनाउन डिजिटल प्रणालीमा जानुपर्छ भन्ने हाम्रो अवधारणा पहिलेकै हो तर कोभिडको कारणले त्यसको प्रयोग बढाएको छ। नबिलले पनि कोभिडको ठीक अगाडि नबिल डिजीबैंक स्थापना गरेको थियो। नबिल डिजीबैंक भनेको बैंकभित्रको अर्को बैंक हो। त्यसैअनुसारको व्यवस्थापन र स्रोतहरू उपलब्ध गराइएको छ।

आगामी दिनमा हाम्रो दैनिक अफिसको काम पेपरलेस बनाउने, ‘कष्टुमर फ्रन्ट एन्ड’मा ग्राहकलाई सकेसम्म भौतिक रुपमा बैंकमा आउन नपर्ने कार्यहरू अगाडि बढाउने काम भइरहेका छन्। यो प्रणालीमा जाँदा अनलाइनबाट खाता खोल्न सकिन्छ। केवाईसी अपडेट पनि अनलाइनबाटै गराउने काम गरिरहेका छौँ। बैंकका धेरैजसो सेवाहरू मोबाइल सेवाका रुपमा उपलब्ध छन्। शुल्क तिर्न, कुनै साथीलाई पैसा तिर्नदेखि ईएमआई तिर्नुपरे सबै डिजिटल सेवाबाटै गर्न सकिन्छ।

डिजिटल सेवाको दौडानमा विभिन्न चुनौती पनि छन्। डिजिटल बैंकको पूर्वाधार तयारीमा कति खर्च गर्ने भन्ने सीमितता छैन। एकातिर कस्तो खालको सिस्टम र कस्तो उपकरण राख्ने भन्ने हुन्छ भने अर्कोतिर हाम्रो अहिलेको आवश्यकता के हो र ग्राहकले प्रयोग गर्नसक्ने प्रोडक्ट के–के हुन् भन्ने पनि विचार पुर्‍याउनुपर्ने हुन्छ। यी सबै कुरालाई ध्यान दिँदै एक वर्षको अवधिमा सबैले अनुभव गर्ने गरी निश्चित परिवर्तन आउनुपर्छ भन्ने योजना बैंकको छ। तर, डिजिटल यात्रा भनेको एक वर्षमा सकिने खालको होइन।

Sujit shakya Nabil Bank2

डिजीबैंकअन्तर्गत फोन लोन भनेर एक लाखसम्मको ऋण उपलब्ध गराइरहनुभएको छ। यो भनेको के हो?
यो फोन लोन हाम्रो पे–रोल ग्राहकको लागि उपलब्ध गराइएको हो। हाम्रो जुन ग्राहकले आफ्नो कम्पनीको तर्फबाट पे–रोल खोलेर उहाँको तलब हाम्रो बैंकमार्फत जान्छ। त्यो खाताको मोबाइल बैैंकिङ सुविधा लिनुभएको छ, त्यसलाई प्रयोग गरेर ऋण लिन सक्नुहुन्छ। यो भनेको डिजीबैंकको अवधारणा आइसकेपछि ग्राहकको लागि पहिलो खास डिजिटल प्रोडक्ट हो। यसका कुनै पनि किसिमको 'म्यानुअल इन्टरभेन्सन' छैन।

पे–रोलमा विगतका दिनदेखि आएको विवरणलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर खातामा कति जम्मा भएको छ, खर्च गर्ने प्याटर्न (ढाँचा) कस्तो छ, यी सबै मूल्यांकन गरेर ऋण उपलब्ध गराउने हो। यो भर्चुअल क्रेडिट कार्ड जस्तै हो। बढीमा एक लाख ऋण तत्कालै मोबाइलबाटै लिन सकिन्छ।

कोभिडको विषम परिस्थितिले ग्राहकलाई पनि डिजिटल कारोबारमा आकर्षित गरेको छ। तपाईंहरूको अनुभव कस्तो छ?
ग्राहकको रुचि एकदमै बढ्दो अवस्थामा पाएका छौँ। जसरी डिजिटललाई कार्यान्वयनमा ल्याउने भनेर जोडबल गरिएको छ, त्यसअनुसार प्रविधिलाई एकै पटक अपनाउन भने सजिलो छैन। यसबारेमा सिकाउन पनि जरुरी छ। कोभिडको कारण एक प्रकारको सजिलो भएको पक्कै हो। सामान्यतः मोबाइल एप कहिले पनि प्रयोग नगर्ने ग्राहकले पनि त्यो प्रयोग गर्न थाल्नुभएको छ। प्रयोग दर एकदमै बढेको छ। हामी त उत्साहित छौँ।

नेपाल राष्ट्र बैंकले तोकेअनुसार बैंकका शाखा विस्तार कति पूरा गर्नुभयो? अब कति बाँकी छ?
राष्ट्र बैंकले ७५३ स्थानीय तहमा कमर्सियल बैंकको एउटा शाखा खोल्न भनेको थियो। बैंकर संघमा सबै बैंक मिलेर भागबन्डाका आधारमा यति खोल्ने भन्ने तोकिएको थियो। जसअनुसार नबिलको भागमा १२ वटा परेको थियो। गत वर्ष यी सबै खोलिसकेका छौैैँ।

Nabil Bank 2

नेपालमा अरु बैंकमा नभएको ‘कम्प्लिट रिस्क बेस्ड अडिट’ नबिलमा छ भन्दै आउनुभएको छ। यो भनेको के हो?
‘कम्प्लिट रिस्क बेस्ड अडिट’को अवधारणा नेपालमा पनि आइसकेको छ। बैंकको रिस्क व्यवस्थापन फ्रेमवर्क कस्तो छ, त्यो फ्रेमवर्कभित्र बैंकले कस्तो किसिमको रिस्क (जोखिम) लिने वा नलिने नीति लिएको छ, हरेक ठाउँमा थ्रेसहोल्ड (सीमा निर्धारण) र टोलरेन्स (सहनशीलता)का कुराहरु राखेको हुनसक्छ। कुनै क्षेत्रमा कतिसम्म कर्जा दिने भन्ने हुन्छ।

यी सबै फ्रेमवर्क बनाइसकेपछि त्यसले काम गरिरहेको छ कि छैन भनेर आन्तरिक अडिटरले अडिट गर्छ। यो ‘रिस्क बेस्ड अडिट’ हो। पुरानो अडिट भनेको ट्रान्ज्याक्सन बेस्ड (कारोबारमा आधारित) अडिट थियो। ट्रान्ज्याक्सन बेस अडिटमा भौचर हेर्ने, भौचरको मिति मिलेको छ कि छैन भनेर हेर्ने हुन्छ भने रिस्क बेस अडिटमा त्यसको विधि (मटिरियालिटी) हेरिन्छ। सिस्टम हेर्ने, विधि नै ठीक छ कि छैन भनेर हेर्ने यो सबै रिस्क बेस अडिटका सिद्धान्त हुन्।

नबिलले पनि रिस्क बेस्ड अडिट सुरु गरिसकेको छ। त्यसबाट बैंकलाई फाइदा नै भइरहेको छ। सिस्टमेटिक (प्रणालीगत) समस्या कहाँ–कहाँ देखिएका छन्, त्यहाँ ‘हिट’ गर्न सजिलो भएको छ।

सबै बैंकहरूको खराब कर्जा बढिरहेको देखिएको छ, नबिल बैंकको कस्तो छ?
समग्रमा केही बढेको हुनसक्छ। हाम्रो पहिलो त्रैमासिकको विवरण र गत वर्षको पहिलो त्रैमासिकको रिपोर्टमा ‘नन–परफमिङ’ क्षेत्र ०.६५ प्रतिशतमा छ। असारमा केही बढी थियो तर यो त्रैमासिकमा फेरि सुध्रिएको छ। यसको कारण के हो भने नबिल बैंकसँगका ग्राहक भनेका राम्रा छन्। ब्याज राम्रै उठेको छ।

सीसीडी रेसियो ८० प्रतिशत पुग्न सकेन भन्ने छ, यसको अर्थ बैंकहरूले कर्जा प्रवाह बढाउन नसकेको हो?
कोभिड सुरु हुँदा रेमिट्यान्स स्वात्तै घट्छ भन्ने अनुमान थियो। त्यसले गर्दा बजारमा तरलता अभाव हुन्छ भन्ने थियो। यता राष्ट्र बैंकले भनेजस्तै ग्राहक वर्गलाई सहयोग गर्दै जाँदा पैसा अभाव हुन्छ र त्यसैले गर्दा सीसीडी ८० को सट्टा ८५ गरे हुन्छ भन्ने नियम आयो। तर, विप्रेषणमा खासै नकारात्मक असर गरेन। त्यसैले बजारमा पैसाको कमी छैन। फेरि आयातमा कर्जा निर्यात बढेकोले गर्दा तथा कर्जाको माग धेरै नहुँदा बजारमा पैसाको कमी छैन। हाम्रो अर्थतन्त्र ट्रेडिङ बेस्ड (व्यापारमा आधारित) भएकोले आयातमा कमी आउनेबित्तिकै कर्जाको माग घट्नु स्वाभाविक हो। तर विस्तारै सुधारका लक्षणहरू देखिएका छन्।

Sujit shakya Nabil Bank6

राष्ट्र बैंकले अनिवार्य लगानीका क्षेत्रहरू भनेर कृषि, ऊर्जा र पर्यटनलाई तोकेको छ, त्यसको पालना कति भएको छ?
हामी ऊर्जा क्षेत्रमा राम्रो गरिरहेका छौँ। पहिलेदेखि नै सिमेन्ट, स्टिल उद्योग, जलविद्युतमा लगानी गरेका छौँ। कृषि क्षेत्रमा चुनौती छ। राष्ट्र बैंकले यस क्षेत्रको लगानीको हिस्सा बढाएर पनि लगेको छ। हामी त्यसलाई कसरी पूरा गर्न सक्छौँ भनेर रणनीतिहरू बनाइरहेका छौँ।

मौद्रिक नीतिबाट आएका नीतिहरू बैंकिङ तहमा कार्यान्वयनको अवस्था कस्तो छ? सरकारले भनेअनुसार सहुलियत कर्जा प्रवाह भएको छ कि छैन?
मौद्रिक नीतिमा कोरोना संकटलाई व्यवस्थापन गर्नमा फोकस (केन्द्रित) भएको छ। सुरुमा गत वर्षको अन्तिम त्रैमासिक सबै बैंकले २ प्रतिशत घटाएर देऊ भन्ने निर्देशन आएको थियो। जसले गर्दा १२ लाई १० प्रतिशत गर्‍यौँ। यसले पनि नाफामा असर गरेको थियो। अन्य छुटका कुरा पनि आएका थिए।अहिले अतिप्रभावित, कम प्रभावित र न्यून प्रभावित तीन वर्गमा वर्गीकरण गर्ने र त्यो वर्गमा पर्नेहरूलाई विभिन्न छुट दिएको अवस्था छ।

सबैभन्दा धेरै प्रभावित भनेको पर्यटन र सेवा क्षेत्र हुन्। उनीहरूलाई एक वर्षसम्मको छुट र स्टलमेन्टको सुविधा दिइएको छ। त्यसले गर्दा राष्ट्र बैैंकले नेपालको अर्थतन्त्रलाई बचाउनलाई सक्रिय रुपमा लागेको छ। रिफाइनान्सिङका नीति लागू भइरहेको अवस्था छ। ग्राहकहरू पनि लाभान्वित भइरहेका छन्।

राष्ट्र बैंकले सोचेअनुसार पुनर्कर्जा र पुनर्तालिकीकरणले व्यवसायको उत्थानमा कत्तिको सहयोग भएको पाउनुभएको छ?
धेरै नै सहयोग भएको छ। जस्तै, राष्ट्र बैंकले यी सुविधाहरू नदिएको भए हामीले ग्राहकलाई पैसा तिर्नुस् भन्नुपर्थ्याे। तिर्नसक्ने अवस्था थिएन। तिर्न नसक्ने भएपछि केही समयको अन्तरालमा सूचना निकाल्नुपर्ने अवस्था हुन्थ्यो। रिकभरीमा जानुपर्ने अवस्था आउँथ्यो।

पुनर्कर्जा तथा पुनर्तालिकीकरणले गर्दा व्यवसायहरूले राहत महसुस गरेका छन्। अब त्यस राहतले गर्दा विस्तारै व्यवसायलाई कसरी उत्थान गर्ने भन्नेतर्फ सोच्नथालेका छन्।

Sujit shakya Nabil Bank10

अन्तमा, बैंकका आगामी योजनाहरू के–के छन्?
सर्वप्रथम त नबिल बैंकको डिजिटल जर्नी (यात्रा)मा आक्रामक जाने निर्णय गरेको छ। डिजिटल सेवाका दुई क्षेत्र छन्। एउटा आन्तरिक अप्रेसनलाई डिजिटाइज्ड (डिजिटल रुपान्तरण) गर्ने। अर्को, ग्राहक वर्गलाई वेबसाइट, मोबाइल बैंकिङ वा फोनबाट कुरा गरे पनि भौतिक रुपमा आउन नपर्ने गरी कसरी सेवा दिने भन्ने मेकानिज्म (संयन्त्र) बनाइरहेका छौँ।

'नबिल डिजीबैंक' ल्याएको कारण पनि त्यही हो। यो छुट्टै बैंक हो, जुन डिजी बैंक हेर्ने टिम छ, अनेक किसिमका इन्नोभेसन ल्याउने, विभिन्न नयाँ आइडिया ल्याउने अधिकार छ।

अर्को, एसएमई क्षेत्रको आवश्यकता पूरा गर्ने हो। यस क्षेत्रमा धेरै नै गर्नसक्ने अवस्था पनि छ। जुन हामीले गाविसको शाखा खोल्यौैँ १२ वटा, त्यहाँबाट दीगो रुपमा गतिविधि कसरी गराउने, स्थानीयस्तरमा सीप तालिम कसरी दिने, उहाँहरूलाई आफैँ रोजगारी सृजना गर्नसक्ने तालिम दिन सकिन्छ कि, त्यसमा बैंक कसरी सरिक हुनसक्छ भनेर हेरिहेका छौँ। यसमा लघु ऋण, सीप तालिम, कृषि, स्टार्टअप इकोसिस्टम लगायतका कुरा आउँछन्।

यो पनि :
नबिल बैंक : पाँच वर्षदेखि उच्च नाफा बनाउँदै सबैभन्दा धेरै आयकर बुझाउँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .